Comments Add Comment

बोल्ड अदिती, तेलेगु फिल्म गर्दै

'अनमोलकी नायिका भन्दा रिस उठ्छ'

चलचित्र ‘कृ’ रिलिज पश्चात नायिका अदिती वुढाथोकी मुम्बई हानिइन् । उनी मुम्बई पुगेपछि उनले नेपाली चलचित्रमा काम नपाएको चर्चा पनि चल्यो । तर, मुम्बइबाट एक कार्यक्रमका लागि नेपाल आएकी अदितीले अनलाइनखबरसँग ‘ओके सेलिब्रिटी शो’मा कुरा गर्दै आफ्नो योजना र करिअरको बारेमा बताएकी छिन् ।

अर्को चलचित्र कहिले खेल्ने भन्ने प्रश्नमा अदितीले भनिन्- ‘नखेल्ने भन्ने त होइन । तर, राम्रो कथा, राम्रो ब्यानर सबै हुनुपर्छ । म चलचित्र खेल्न हतार गर्दिनँ ।’

अदितीसँग गरिएको ‘ओके सेलिब्रिटी शो’को भिडियो यहाँ हेर्नुहोस्ः


इन्स्टाग्राममा भने बोल्ड शैलीमा प्रस्तुत हुने अदिती ‘कृ’मा सफ्ट भूमिकामा देखिइन् । यसबाट उनले आफ्ना फ्यानहरुलाई निराश बनाएको कतिपयको टिप्पणी रह्यो । तर, अदिती स्वयम् भने कृमा आफूलाई दर्शकहरुले रुचाएको ठान्छिन् ।

उनी भन्छिन्-‘कृ’को भूमिकाले मेरो फ्यान फ्लोइङ झन् बढेको छ । धेरैले माया गर्नुभएको छ ।’ त्यसो त ‘कृ’ रिलिज अगाडि आफूले निकै ठूलो हाइप पाउने अपेक्षा उनको रहेनछ । अदिती भन्छिन्-‘म एउटा नायिकाको रुपमा चिनिन चाहन्थेँ । यो चलचित्र रिलिज भएपछि मलाई धेरैले माया गर्नुभयो ।’

अदितीलाई नेपाली चलचित्रमा भावि स्टारको रुपमा पनि हेरिएको थियो । तर ,उनी स्वयम् भने नेपाली चलचित्रको करिअरलाई कस्तो रुपमा अगाडि बढाउने भन्नेमै दोधारमा छिन् ।

अदितीले मुम्बईमा बसेर अहिले तेलुगु चलचित्रको तयारी गरिरहेकी छिन् । उनले, चाडै नै तेलुगु चलचित्र गर्ने जानकारी दिइन् । उनले भनिन्-‘म अहिले तेलुगु र हिन्दी भाषा सिक्दैछु । यस्तै, म डान्स पनि सिक्दैछु ।’

अदितीका अनुसार उनलाई बलिउड चलचित्र उनलाई ‘हेट स्टोरी ४’ बाट अफर पनि आएको थियो । तर, उनले त्यो चलचित्र गरिनन् । क्यारेक्टर मन नपरेकाले नगरेको उनले सुनाइन् । यस्तै, सलमान खानले निर्माण गर्न लागेको चलचित्र ‘लभ रात्री’मा पनि आफू अडिसनका लागि छनोट भएको तर, ‘कृ’को छायांकन भएकाले अडिसन दिन नपाएको अदितीको भनाई छ ।

उनले बलिउड चलचित्रमा आफू सामान्य भूमिकामा नदेखिने समेत बताइन् । उनले भनिन्-‘साना साना भूमिकामा काम गर्ने हो भने, मैले कति धेरै गरिसक्थेँ । तर, म लिड भूमिका बाहेक अरु केही गर्दिन ।’

बलिउडमा कास्टिङ काउचको चर्चा पनि खुबै चल्छ । अदिती बलिउडको कास्टिङ काउचको बिषयमा भन्छिन्-‘कास्टिङ काउचको लागि कसैले पनि फोर्स गर्ने होइन । आफू सहि छ भने कसैले पनि यस्तो कुरामा औला ठड्याउन सक्दैन ।’

अदितीलाई मिडियामा आउने गसिपले पनि कहिलेकाही हाँसो लाग्छ । उनले अगाडि थपिन्-‘म मुम्बई पुगेपछि अदितीले चलचित्र नै पाइनन् भनेर आएका खबरहरु देखेर मलाई हाँसो लाग्यो । चलचित्र रिलिज भएको एक महिना पनि भएको छैन, चलचित्र पाइनँ भनेर खबर आउँदो रहेछ ।’

अदितीले आफूलाई मिडियाले बारम्बार ‘अनमोलकी नायिका’ भनिरहेकोमा पनि दुखेसो गरिन् । उनले भनिन्-‘मलाई मात्र होइन, कोही पनि नायिकाको आफ्नै परिचय हुन्छ । यसैले, अरुको नाम जोडेर भन्दा रिस पनि उठ्छ ।’

अदितीले आफूलाई खासै सुन्दर मान्दिनन् । बरु आफ्नो मन सुन्दर भएको उनको भनाई छ । अदितीलाई आफ्नो नाक खुबै मनपर्छ भने ओठ खासै मनपर्दैन ।

अदितीले आफू चाडै नै नेपाली चलचित्रमा आउने बताइन् । दर्शकलाई प्रतिक्षा गर्न उनले आग्रह गरेकी छिन् ।

तस्बिर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment