Comments Add Comment

भगवद्गीताः कहिले, कहाँ, कसरी ? 

गीताका विषयमा भनिएको छ-

गीताधीता च येनापि भक्तिभावेन चेतसा ।

         नानाशास्त्रपुराणानि तेनाधीतानि सर्वशः ।।

अर्थात् कसैले पूर्ण मनोयोगका साथ गीता  पढेको छ भने बुभ\mनू, उसले सम्पूर्ण वेद, पुराणादि शास्त्र पढेको छ । यो भनाइबाटै गीताको महत्व प्रकाशित हुन्छ ।

भगवान् श्रीकृष्णको जन्म ईसा पूर्व ३११२ मा भएको मानिन्छ । कलियुगको प्रारम्भ शक संवतको सुरुआत हुनुभन्दा ३१७६ वर्ष पहिले चैत्र शुक्ल प्रतिपदाका दिन भएको थियो । अहिले शक संवत १९३९ चलिरहेको छ । यस हिसाबले कलियुग सुरु भएको ५११५ वर्ष भएको छ । आर्यभट्टका अनुसार महाभारतको युद्ध ईसापूर्व ३१३७ मा भएको थियो ।

महाभारत युद्ध सकिएको ३५ वर्षपछि भगवान् श्रीकृष्णले देह त्याग गरेका थिए । कृष्णले देहत्याग गरेपछि कलियुग सुरु भएको मानिन्छ । कृष्णको मृत्यु व्याधाले हानेको वाण लागेका कारण भएको थियो । त्यतिबेला उनको उमेर ११९ वर्ष थियो भनिन्छ । यस आधारले आर्यभट्टकै गणनालाई हेर्दा कृष्णले अर्जुनलाई गीताको ज्ञान आजभन्दा ५१५४ वर्षपहिले प्रदान गरेका थिए ।

वर्तमान समयमा हरियाणाको कुरुक्षेत्रमा जब गीता ज्ञान दिइएको थियो त्यतिबेला एकादशी तिथि थियो भने बार थियो आइतबार । यो ज्ञान करि ४५ मिनेटको अवधिमा दिइएको मानिन्छ । गीता ज्ञानको परम्परा हेर्दा सबैभन्दा पहिले यो ज्ञान विवस्वान् अर्थात् सूर्यलाई प्राप्त भएको थियो । सूर्यबाट यो ज्ञान सूर्यपुत्र वैवस्वत मनुले प्राप्त गरे । गीताको गणना उपनिषदहरूकै हाराहारीमा हुन्छ तसर्थ यसलाई गीतोपनिषद् पनि भनिन्छ । यसका विषयमा भनाइ पनि छः

   सर्वोपनिषदो गावो दोग्धा गोपाल नन्दन ।

            पार्थो वत्स सुधीर्भोक्ता गीता ज्ञानामृतं महत् ।।

अर्थात् सवै उपनिषद्हरू गाई हुन् भने तिनलाई दुहुने गोठालो नन्दकुमार कृष्ण हुन् । गाईलाई पघारेर दुहुनयोग्य बनाउने बाच्छो अर्जुन हुन् । यसरी दूध वा अमृतरूपी महत्वपूर्ण ज्ञान पृथ्वीका मानिसका लागि प्राप्त भएको छ ।

खासमा गीता महाभारतको भीष्मपर्वमा पर्ने एउटा सानो अंश हो । महाभारतमै पनि कतिपय स्थानमा यसलाई हरिगीताका नामले चिनाइएको छ ।

श्रीकृष्णले अर्जुन कर्तव्य मार्गबाट विचलित भएर सन्यासी एवं वैरागीजस्तो आचरण देखाई युद्ध क्षेत्रबाट पलायन हुनखोज्दा त्यसो हुन नदिन गीताको उपदेश दिएका हुन् । कौरव र पाण्डव दुवैतर्फका सेना युद्धका लागि आमनेसामने भएको अवस्थामा यो ज्ञान दिइएको हो ।

अर्जुनलाई कर्तव्यअकर्तव्यको ज्ञान दिएर सही बाटोमा लगाउने उद्देश्यका साथ श्रीकृष्णद्वारा दिइएको यो उपदेश अर्जुनबाहेक सञ्जयले पनि सुनेका थिए । व्यासको कृपाबाट दिव्यदृष्टि पाएका सञ्जयले यो ज्ञान धृतराष्ट्रलाई पनि सुनाए ।

गीतामा जम्मा ७०० श्लोक छन् । तीमध्ये श्रीकृष्णले ५७४, अर्जुनले ८५, सञ्जयले ४० र धृतराष्ट्रले १ श्लोक भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment