Comments Add Comment

सुत्केरीले अनुहारको छालालाई कसरी स्वस्थ राख्ने ?

गर्भावस्था पश्चात सुत्केरी आमाहरूले आफ्नो अनुहारमा विशेष ध्यान दिनु आवश्यक छ । गर्भावस्था पश्चात सुत्केरी अवस्थामा महिलाहरूको अनुहार तथा छालामा विभिन्न किसिमको परिवर्तन देखा पर्छ । सुत्केरी अवस्थामा महिलाको छाला अति संवेदनशील हुने गर्छ । जसमा घाउ, खटिरा, संक्रमणजस्ता समस्याहरू देखिन्छन् । हर्मोनको स्तरमा समेत उतारचढाव देखा पर्छ । जसले गर्दा यो समयमा नवजात शिशुको स्याहारसुसार गर्न जति जरुरी छ, भर्खर आमा बनेका महिलाहरूले आˆनो अनुहार तथा छालामा विशेष ध्यान दिनु पनि उत्तिकै जरुरी छ ।

यतिबेला महिलाले शिशुलाई स्तनपान गराउने हुँदा यस्तो समयमा आमाले अनुहार तथा छालामा जुनसुकै कम्पनीको उत्पादन प्रयोग गरे पनि वा जेसुकै खाए पनि त्यसको सीधा असर शिशुमा समेत पर्ने गर्छ । तसर्थ स्तनपानका क्रममा आमाहरूले सकेसम्म केमिकल्स रहित हर्वल कस्मेटिक्सको प्रयोग गर्न जरुरी छ । त्यसैगरी, व्युटिसियन, डाक्टर वा छालारोग विशेषज्ञको सुझाव अनुसार घरमै फेश प्याक बनाएर वा मोइस्चराइजर क्रिमको प्रयोग गर्न सकिन्छ ।

यो समयमा महिलाको प्रोजेस्टेरोन तथा एस्ट्रोजेन हर्मोन अत्यधिक हुने गर्छ । प्रोजेस्टेरोन तथा एस्ट्रोजेन हर्मोन उच्च भएमा मुखमा डण्डीफोर आउने, चाया तथा पोतो आउँछ । त्यसैले यस्तो अवस्थामा जतिसुकै व्यस्त भए पनि अनुहारमा क्लिन्जर, टोनिङ्ग तथा मोइस्चराइजिङ्ग क्रिम प्रयोग गर्न छोड्नु हुँदैन ।

रातको समयमा बच्चाको मालिश गर्दा आफ्नो अनुहारको पनि मालिश गर्ने बानी बसालौ । जैतुनको तेलद्वारा छालाको मालिश गर्नाले पेटको स्ट्रेच मार्क कम हुनुका साथै आखा सुन्निएको कम हुन्छ । छालामा छालामा घाउ खटिरा , र्‍यासेज भएमा एन्टीर्‍यासेस क्रिमको पनि प्रयोग गर्न सकिन्छ ।
सुत्केरी अवस्थामा छाला संवेदनशील हुने र तातो पानीले नुहाउदा छालाका छिद्र खुला हुने भएकाले यस्तो समयमा सकेसम्म तातो पानीले नुहाउनु हुँदैन । तातो पानीले नुहाउनै मन लागेको छ भने मनतातो पानीले नुहाउन सकिन्छ ।

स्तनपान गराउने क्रममा स्तन कडा तथा रुखो हुन सक्दछ । भर्जिन कोकोनट आयल (नरिवलको तेल)को प्रयोगले मसाज गर्नाले यो समस्या तुरुन्तै कम हुने गर्छ ।

सुत्केरी अवस्थामा रक्तप्रवाह सुचारु रूपले सञ्चालन गर्न जडिबुटी सहितको तेलको प्रयोग गर्न सकिन्छ । तेलको मालिस जुनसुकै मौसममा पनि गर्न सकिन्छ । तेल मालिस गर्नाले मांसपेशी तथा शरीरको तनाव कम हुने गर्छ ।

सुत्केरी अवस्थामा छालाको मोइस्चराइजर कम हुन्छ । यसले गर्दा छाला सुख्खा तथा रुखो हुनुका साथै चिलाउने गर्दछ । यसबाट बच्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।

सुत्केरी अवस्थामा शरीरलाई पर्याप्त मात्रामा पोषणतत्व आवश्यक पर्छ । त्यसैले सुत्केरी अवस्थामा क्याफिनयुक्त पेय पदार्थको सेवन गर्नुको सट्टा आइरन तथा प्रोटिनयुक्त खानेकुराको सेवन गर्नुपर्छ । यसको पर्याप्त मात्रामा सेवन गर्नाले शरीर पहिलेकै अवस्थामा फर्किन्छ । त्यसबाहेक, सुत्केरीहरूले चिकित्सकको सल्लाह अनुसार मल्टीभिटामिन्सको पनि सेवन गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment