+
+

महाभारतमा भीष्म भन्छन्ः मित्रहरू ४ प्रकारका हुन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १६ गते १४:३०

मित्रता संसारको सबैभन्दा विशेष सम्बन्धमध्ये एक हो, किनभने यो सम्बन्ध जन्मजात् प्राप्त हुँदैन बरु हामी आफ्नो साथी आफैं छान्दछौँ ।

मित्रता संसारको सबैभन्दा विशेष सम्बन्धमध्ये एक हो । साथीको सम्बन्ध जन्मजात् प्राप्त हुँदैन बरु हामी आफ्नो साथी आफैं छान्न सक्छौँ । सुख होस् वा दुःख, एक असल मित्र आफ्नो मित्रका साथ खडा हुन्छ । महाभारत शान्ति पर्वमा युधिष्ठिरको जिज्ञासा मेटाउँदै जाने क्रममा भीष्मले ४ प्रकारका मित्र हुन्छन् भनी बताएका छन् । कस्ता हुन्छन् त ती मित्रहरूः

१.सहार्थ मित्र

कुनै शर्तका साथ एकअर्कालाई सहयोग गर्न तयार हुने वा मित्रता गाँस्ने मित्र सहार्थ मित्र हुन् । जस्तो कुनै दुईजना मिलेर व्यवसाय सुरु गर्छन् र सम्झौता अनुसार नाफा आधी आधी बाँड्छन् भने ती सहार्थ मित्र हुन्छन् ।

महाभारतकै प्रसंग हेर्ने हो भने विराट राजामाथि आक्रमण गर्नुअघि त्रिगर्त नरेश सुशर्माले दुर्योधनसँग सम्झौता गर्दै भनेको थियो- जति पनि रत्न, भूमि, गाई, धन आदि हाम्रो हात लाग्छ त्यसलाई आधा आधा बाँडौँला । दुर्योधनले पनि सुशर्माको यो प्रस्तव मानेको थियो । यसरी कुनै शर्त राखेर बनाइने मित्र सहार्थ मित्र हुन् ।

२.भजमान मित्र

जसका बीच पुस्तैनी मित्रता छ तिनीहरू भजमान भनिन्छन् । जस्तो कसैसँग हाम्रो बुबा, हजुरबा, बूढो हजुरबा आदिको पुस्तौंदेखि मित्रतापूर्ण सम्बन्ध छ, उनका परिवारसँग पनि हाम्रो राम्रो सम्बन्ध छ भने त्यस्ता मित्रलाई भजमान मित्र भनिन्छ ।

भहाभारतको प्रसंग हेर्ने हो भने पाण्डवहरूले स्वर्ग यात्रामा जानुअघि श्रीकृष्णका नाति वज्रलाई इन्द्रप्रस्थको तथा अर्जुनको नाति परीक्षितलाई हस्तिनापुरको राजा बनाएका थिए । वज्र र परीक्षितबीच राम्रो मित्रता थियो । उनीहरू बुबा र हजुरबुबाका बीच पनि निकै राम्रो मित्रता थियो । यस्तो प्रकारको मित्रलाई भजमान मित्र भनिन्छ ।

३.सहज मित्र

हाम्रा नजिकका नातेदार सहज मित्र हुन्छन् । यिनलाई सहज मित्र किन भनिन्छ भने यिनीहरूसँग हामी कुनै शर्त वा पुस्तैनी मित्रताका आधारमा सम्बन्ध गाँस्दैनौँ । नजिकको नातेदार भएका कारण स्वाभाविक रूपले हाम्रो मित्र बन्छन् ।

महाभारतकै प्रसंग अनुसार अर्जुन श्रीकृष्णको फुपूका छोरा थिए त्यसकारण कृष्ण अर्जुनप्रति स्वाभाविक प्रेम गर्थे । कृष्णले थुप्रै पटक अर्जुनको सहायता गरेका छन्, विपत्बाट मुक्त गराएका छन् र उचित मार्गदर्शन गरेका छन् । यस्तो प्रकारको नजिकको सम्बन्ध हुनेहरू सहज मित्र हुन्छन् ।

४. कृत्रिम मित्र

धन वा कुनै बहुमूल्य वस्तु दिएर बनाइएको मित्रलाई कृत्रिम मित्र भनिन्छ । जब कुनै शत्रुले अचानक आफूमाथि आक्रमण गर्छ भने धनसम्पत्ति दिएर ऊसँग मित्रता गाँसी आफ्नो स्वार्थरक्षा गरिन्छ भने त्यस्ता मित्र कृत्रिम मित्र हुन् ।

महाभारतकै प्रसंगमा हेर्ने हो भने युधिष्ठिरको राजसूय यज्ञका क्रममा अर्जुनले जब प्राग्ज्योतिषपुरमाथि आग्रमण गरे, त्यहाँका राजा भगदत्तले अर्जुनसँग आठ दिनसम्म लडाइँ गरे र अन्तमा आफूले हारिन्छ भन्ने भएपछि पर्याप्त धन दिएर अर्जुनसँग मित्रता गाँसे । त्यसरी बनेका मित्र कृत्रिम मित्र हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?