Comments Add Comment

सञ्चिता भन्छिन्ः छोराछोरीले धेरै कुरा सिकाए

नायिका सञ्चिता लुईंटेल हिजोबाट  ३…. वर्ष लागिन् । यो खाली ठाउँको अंक आफैं अनुमान गर्नुस । किनकी उमेर सोध्दा उनले हाँस्दै भनिन्, ‘३० वर्षपछि गन्नै छोडिदिएँ ।’

सञ्चिताको जन्मदिन तारिखले मंगलबार र गतेले बुधबार । दुवै दिन मनाइन् । अघिल्लो दिन परिवारसँग र भोलीपल्ट साथीभाईसँग । श्रीमान निखिल भने महोत्सवका लागि राजधानीबाहिर भएकाले जन्मदिनमा सहभागी हुन पाएनन् ।

एक समयकी व्यस्त नायिका सञ्चिता पछिल्ला वर्षहरुमा पारिवारिक जीवनमै बढि रमाइरहेकी छिन् । उनले एक वर्षको अन्तरालमा दुई छोराछोरी जन्माइन् । दुवै अहिले हुर्किसकेका छन् । छोरा अथर्व ६ वर्षका भए । उनी २ कक्षामा पढ्छन् । ५ वर्षकी छोरी सान्भी कक्षा १मा ।

एकसाथ दुई छोराछोरी हुर्काउन कति दुख भयो ?

‘अहँ’ सञ्चिताले जवाफ दिइन्, ‘दुख होइन, मैले त भरपुर इन्जोई गरेँ ।’

सञ्चिताको अनुभवमा उनले बच्चाहरुबाट धेरै कुरा सिकिरहेकी छिन् ।

‘मैले बच्चाहरुलाई सिकाउनेभन्दा उनीहरुबाट पो सिकिरहेकी छु,’ उनले भनिन् ।

कसरी ?

‘बच्चाहरुले हरेक विषयमा एकपछि अर्को प्रश्न सोध्छन् । उनीहरुको प्रश्नको जवाफ दिन मैले बारम्बार गुगल सर्च गर्नुपर्छ । यसरी सर्च गर्दा गर्दा मेरो पनि ज्ञान बढेको छ ।’

आफ्ना बच्चाहरु खासगरी प्रविधिका कुराहरुमा जिज्ञासु रहेको उनले बताइन् ।

सञ्चिताले छोराछोरी हुर्काउने क्रममा पुरा ४ वर्ष फिल्मबाट पूर्णरुपमा ब्रेक लिएकी थिइन् । उनीहरु स्कुल जान थालेपछि उनी अलिक फुसर्दिली बनेकी छिन् । बिहानै साढे ६ बजे छोराछोरीलाई झोला भिराएर स्कुल पठाउँछिन् । त्यसपछि उनीहरु दिउसो तीन वजे मात्रै फर्किन्छन् । यत्तिञ्जेलमा सञ्चिताले घरको काम भ्याएर जिममा पनि समय व्यतित गरिसकेकी हुन्छिन् ।

आजकाल उनी विभिन्न इभेन्टहरुमा पनि देखिन थालेकी छिन् । अघिल्लो वर्ष उनले उनले फिल्म ‘राधा’ मा अभिनय गरिन् । उनले अभिनय गरेको अर्को फिल्म ‘गुनगुन’ रिलिज हुन बाँकी छ ।

अहिले सञ्चिताँग फिल्म छैन । उनी राम्रो ब्यानर र उपयुक्त रोलको पर्खाइमा छिन् । त्यसो त उनी श्रीमान् निखिलले निर्माण गरेका चलचित्रमा पनि देखिएकी छैनन् । यसको कारणबारे प्रश्न गर्दा उनले भनिन्, ‘खेलेको भए आफ्नै श्रीमतीलाई हिरोइन बनाएको भनेर आलोचना हुन्थ्यो होला । नखेल्दा किन नखेलेको भन्ने प्रश्न आउँछ । जे गर्दा पनि सुख छैन ।’

उनले आफूलाई उपयुक्त हुने रोल नभएकाले नखेलेको बताइन् ।

सञ्चिताले डा. भोला रिजालले निर्माण गरेको फिल्म ‘अप्सरा’ बाट डेब्यू गरेकी थिइन् । अहिलेसम्म ७८ वटा नेपाली फिल्ममा उनले अभिनय गरिसकेकी छिन् । आफूले खेलेकामध्ये सम्झनलायक पाँच फिल्मको नाम लिन आग्रह गर्दा उनले पहिलो नम्बरमा डेब्यू फिल्म अप्सराको नाम लिइन् । त्यसपछि क्रमस दासढुंगा, छोडिगए पाप लाग्ला, माया नमार र राधा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment