Comments Add Comment

बारपाकको दलित बस्तीमा जीवित संग्रहालय नबन्ने पक्का

स्थानीयले मानेनन् जोखिमपूर्ण बस्ती छाड्न

२० वैशाख, गोरखा । पहिरोको जोखिममा रहेको वारपाकको दलित बस्तीमा भूकम्पको जीवित संग्राहालय नबन्ने भएको छ ।

बस्ती स्थानान्तरणमा स्थानीय वासिन्दा एकमत हुन नसकेपछि पुरानो गाउँलाई जीवित संग्रहालय नबन्ने भएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइमार्फत बारपाकमा निर्माण हुन लागेको भूकम्प स्मृति पार्कसँगै हालको दलित बस्तीलाई जीवित संग्राहालय बनाउने निर्णय गरिएको थियो ।

दलित बस्तीका वासिन्दालाई नयाँ ठाउँमा पुनर्बास गराउने र पुरानो बस्तीलाई जस्ताको तस्तै राखेर जीवित संग्रहालयको रुप दिने सरकारी योजना थियो । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण दलित बस्तीका सबैजसो घर भत्केका छन् भने जमिन पनि चर्किएर पहिरोको जोखिममा छ ।

आठ रोपनी ५ आना जग्गामा रहेको उक्त दलित बस्ती भूकम्पपछि पहिरोको जोखिममा रहेकाले भुगर्भविदहरुले यस ठाउँबाट बस्ती स्थानान्तरण गर्न सुझाव दिइसकेका छन् । तर ३२ घरधुरी रहेको उक्त बस्तीमा २७ घरधुरी पुरानो ठाउँ छाडेर जान सहमत भए भने ५ घर सहमत भएनन् ।

बस्ती स्थानान्तरणमा सबै वासिन्दा सहमत नभएपछि प्राधिकरणले संग्रहालय नबनाउन निर्देशन दिएको शहरी आवास तथा भवन डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले बताए ।

‘भूकम्प स्मृति पार्कको मास्टर प्लानमा दलित बस्तीलाई जिवित संग्राहालय बनाउने निर्णय भएर डिजाइन पनि भइसकेको थियो, जग्गा प्राप्ती र ठेक्का सम्झौताका लागि फाइल पनि पठाइसकेका थियौ,’ उनले भने, ‘तर केही घरधुरी बस्ती छाडेर अन्यत्र जान मानेनन्, अहिले प्राधिकरणले संग्रहालय नबनाउन भनेर मौखिक जानकारी गराएको छ ।’

दलित बस्तीमा जिवित संग्राहालय नबन्ने भए पनि भूकम्प स्मृति पार्क निर्माणको काम भने शुरु भइसकेको छ । १३ करोड सात लाख लागतमा बन्न लागेको पार्कको तारजाली र रिटेनिङ वाल लगाउने काम सकिएको शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

२ सय १६ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुन लागेको हो । पार्कको २०७३ साल बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । पार्क निर्माणका लागि गत आर्थिक बर्षमा एक करोड रुपैयाँ आएको थियो भने चालु आर्थिक वर्षमा चार करोड १५ लाख रुपैयाँका अख्तियारी आएको कार्यालयकी इन्जिनियर सुनिता श्रेष्ठले जानकारी दिइन् ।

स्वच्छन्द होम निर्माण जेभी गोरखाले ठेक्का पारेको उक्त पार्क निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । पर्यटन प्रवर्द्धर्न गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त पार्कमा भूकम्पमा परी ज्यान गुमाएका भूकम्प प्रभावित १४ जिल्लाका व्यक्तिहरुको नामसहितको शिलालेख, बगैचा, पार्क लगायतका पूर्वाधारहरु निर्माण हुने श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment