Comments Add Comment

डा. उपेन्द्र देवकोटा भेटेपछि भट्टराईले लेखे -चाँडै ठीक हुनू मेरो साथी

२० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीआर न्यूरो अस्पतालमा उपचार गराइरहेका डा. उपेन्द्र देवकोटासँग भेट गरेका छन् । बिहीबार भट्टराई आफ्ना बाल्यकालका साथी तथा सहपाठी देवकोटाको स्वास्थ्य अवस्था बुझ्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए ।

भेटबारे भट्टराईले फेसबुकमा लेखेका छन् ‘वहाँको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत् देख्दा वहाँ सोचे जति गम्भीर विरामी भएको अनुभूत भएन र वहाँ आफैले आफ्नो जीवनको सीमाको फरक आँकलन गरेपनि प्रकृतिमा हुने आकस्मिकता र सम्भावनाका नियमहरूले वहाँ स्वस्थ हुनुहुनेछ भन्ने आशा पलाइरह्यो ।’

भट्टराईले बाल्यकालमा देवकोटासँग खिचेको सामूहिक तस्वीरहरु पनि फेसबुकमा पोस्ट गरेका छन् । उनले देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लेखेका छन् ‘चाँडै ठीक हुनू मेरो साथी, तिम्रा सबै क्लासमेटहरु तिमीप्रति गर्व गर्छौं।’

भट्टराईले देवकोटालाई भेट्दाको अनुभव अस्पतालको भिजिटर बुकमा पनि लेखेका छन् । त्यहाँ पनि उनले देवकोटाको दृढ इच्छाशक्ति देख्दा अहिलेको असाध्य रोग पनि जित्न सक्ने विश्वास आफूलाई भएको उल्लेख गरेका छन् ।

भेटबारे भट्टराईले लेखेका छन् ‘संक्षिप्त भेटमा आज हामीले स्कुले जीवनको सुखद स्मरण गर्‍यौं, एक अर्काप्रति अन्तरहृदयदेखि सम्मान व्यक्त गर्‍यौं. सामान्य मान्छेको जीवनमा देश र जनता/समाजको निम्ति गर्न सक्ने जति काम सम्पन्न गरेकोमा सन्तोष व्यक्त गर्‍यौं र एक अर्काप्रतिको हाम्रो सोच र सम्बन्धबारे अरुले अनुमान गर्ने कुराहरुलाई खारेज गर्दै असल मित्रको रुपमा संसारबाट विदा हुने प्रण गर्‍यौं ।’

नेता भट्टराईले आफू र देवकोटाले एक अर्कासँगको स्वस्थ प्रतिस्पर्धाले अहिलेको ठाउँमा पुर्‍याएको दुबैले स्वीकार गरेको बताएका छन् । उनले अन्त्यमा लेखेका छन् ‘म मेरा अनन्य मित्र देवकोटाप्रति सँधै गर्व गर्दछु, गरिरहनेछु ।’

देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको हो । उनको बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई चार दिनअघि नेपाल ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment