Comments Add Comment

एक क्रिकेटरको प्रकृतिप्रेम

'त्यो तीन घण्टा जसबाट जीवन फेरियो'

उनीहरु भन्छन् तिमी अफ्रिकाका जन्मिएको होइन, अफ्रिका तिमीभित्र जन्मिएको हो ।

यो सत्य हो ।

तपाइँ मेरो आँखामा पट्टी बाँधेर प्लेनमा चढाइदिनुस्, विश्वको जुनसुकै ठाउँमा लैजानुस् । प्लेनको ढोका खोलेर कहाँ आइपुग्यो भनेर सोध्नुस् । यदि म अफ्रिकामा छु भने मलाई थाहा हुन्छ ।

म त्यो अनुभव गर्न सक्छु । वास्ना लिन सक्छु । त्यहाँको हावा मेरो रगतमा छ । त्यो मेरो घर हो । मेरै अभिन्न अंग हो । म त्योसँग जोडिएको छु, भावनात्मक र आध्यात्मिक रुपमा ।

केही समयका लागि त्यसबाट म टाढा धकेलिएँ । त्यो चाहेर होइन । मेरो क्रिकेटरको एक्लो सोचले त्यस्तो भयो । इंग्ल्याण्डमा क्रिकेटर बनेर मेरो १७ वर्षभन्दा बढी समय बित्यो ।

तर, अफ्रिकासँगको सम्बन्ध पूर्णरुपमा कहिल्यै टुटेन । म दक्षिण अफ्रिकाको पिटरमार्टिजवर्गमा हुर्किएको हुँ । त्यहाँ जनावर र प्रकृतिसँग मेरो बलियो सम्बन्ध जोडिएको थियो । बिदामा हामी क्रुगर नेशनल पार्क, समुद्री तट वा प्रकृतिसँग नजिक हुने त्यस्तै कुनै स्थानमा समय बिताउँथ्यौं ।

अनि हाम्रो घरमा कुखुरा, कुकुर र अरु जनावर पनि थिए । मलाई जनावर मन पर्ने ।

तर, अफ्रिकामा सबै जीवजन्तुसँगको सम्बन्ध उस्तै रहन्थ्यो भन्ने होइन । मैले धेरै थरी सर्प मारेको छु ।

एकपटक म आइतबार बिहान चर्चबाट घर फर्किरहेको थिएँ । सुन्तलाको रुखनेर एउटा सर्प बेरिएर बसेको थियो ।

सुन्तला टिप्नका लागि हामीले त्यो सर्प मार्नैपर्ने भयो । वास्तवमा त्यसरी मारिहाल्नु हुँदैन । तर, अफ्रिकामा चल्छ ।

बिर्सनै नसक्ने क्षण

इंग्ल्याण्ड आएपछि मेरो पहिलो चार वर्ष त नियम बुझ्दै गयो । त्यसपछिको समय इंग्ल्याण्डका लागि क्रिकेट खेलेर बित्यो ।

जीन्दगी रोटेपिङ जस्तो भएको थियो । यात्रा, हवाइजहाज, होटल, क्रिकेट मैदान त्यही घुमिरहने । मेरो २० को दशकको धेरै समय र ३० को दशक त्यसरी नै बित्यो ।

त्यसपछि म इंग्ल्याण्डबाट बर्खास्त भएँ । त्यसले मलाई थप समय अफ्रिकामा आउनका लागि मद्दत मिल्यो ।

त्यो समयमा अफ्रिका आउने पहिलो मौका च्यारिटी क्रिकेट टुर्नामेन्टले जुराएको थियो । मार्क बाउचर, ग्राम स्मिथ, ज्याक कालिस र अरु धेरै जनासँगै खेलें । त्यो समयपछि उनीहरु झनै राम्रा साथी बने ।

त्यो समय बाउचर र स्मिथसँगै म क्रुगर नेशनल पार्कसँगैको उनीहरुको घरमा गएको थिएँ । त्यहाँ हामीले गैंडा र हात्तीसँग निकै समय बिताएका थियौँ । त्यो मेरो जीवनको सबैभन्दा भावनात्मक समय हो । निकै खुशी मिलेको थियो । मलाइ बच्चा बेलाको याद आएको थियो । इंग्ल्याण्डबाट क्रिकेट खेल्दा केही वर्ष त्यसबाट टाढिए पनि स्मिथ र बाउचरसँगै त्यहाँ बिताएको समय निकै याद आइरहन्छ ।

त्यसपछि नै मैले त्यो जनावरहरुको सुरक्षा र संरक्षणको लागि काम गर्छु भन्ने संकल्प गरेको थिएँ । मलाई जस्तो महसुश भएको थियो, सबै मान्छेलाई त्यस्तै अनुभव होस् भन्ने मेरो इच्छा थियो । मैले जे देखें त्यो देखुन्, जे अनुभव भयो त्यो अनुभव होस् जसले सबैजनाले ती जनावरको महत्व बुझुन् र तिनीहरुको संरक्षणमा लागुन् भन्ने लागेको थियो ।

गैंडा र हात्तीको डर

बाउचर र स्मिथसँगै त्यहाँ समय बिताएपछि म फर्किएँ । त्यसपछि पनि बेला–बेला म त्यहाँ घुम्न जान्थें । एकपटक श्रीमती जेसिका र बच्चाहरु डेलन र रोजीलाई लिएर गएको थिएँ ।

त्यो बेला म निकै खुशी भएको थिएँ । म सानो छँदा मेरो बुवाले जसरी मलाई अफ्रिकासँग परिचित गराउनुभएको थियो । अहिले मैले मेरा बच्चालाई उस्तै वातावरण बुझाउन पाएको थिएँ ।

परिवारसँगै बसेर प्रकृति बुझ्न पाउनु सानो कुरा होइन । त्यही बेलाको केही क्षण भने झसङ्ग झस्काइदिने छ ।

जेसिका र डेलन मसँगै थिए । हामी झण्डै २५ वटाजति हात्तीको बिचमा घेरिएका थियौँ । हाम्रो गाडीको वरिपरी हात्ती नै हात्ती थिए । आफ्नो सुडले उनीहरु हामीलाई छोइरहेका थिए । उनीहरुको त्यो व्यवहारमा कुनै आक्रोशता थिएन । तर पनि जेसिका एकदमै डराएर मसँग टाँसिएकी थिइन् । उनले निकै जोडले मलाई समाएकी थिइन् ।

अर्को एकपटक गैंडासँग पनि त्यस्तै भएको छ । हामी चुपचाप हिँडिरहेका थियौँ । म एउटा पातमा चिप्लिएँ र जोडले आवाज आयो । त्यहाँ गैंडा थिए । हामी धेरै आत्तियौँ । हामी हाम्रो गाडीभन्दा झण्डै दुई किलोमिटर टाढा थियौँ ।

त्यस्तो बेला आफू अगाडि आएको गैंडासँग लड्न सकिने कुरा भएन । जंगल गाइडले मलाई शान्त भएर सुत्न सिकाएका थिए । म पनि त्यसैगरी स्वास नै रोकेर भुँइमा शान्त भएर सुतें । त्यो बेला कुदेको भए म मर्ने थिएँ । गैंडा आफूतिर कुदेर आएको त्यो आवाज म कहिल्यै भुल्न सक्दिन ।

गैंडाको सुन्ने क्षमता एकदमै राम्रो हुन्छ । सुन्ने जस्तो देख्ने क्षमता हुँदैन । म शान्त सुतेको थिएँ । यसैले मेरो नजिकै आइपुग्नु अघि नै उनीहरु अर्कोतिर लागे ।

यस्तैमा एकदिन हामीले सानो चितुवा भेटेका थियौँ । रेन्जरले हामीलाई त्यहाँ नजिकै हाइना पनि छ भनेका थिए । यस्तो बेला जिवजन्तुको आमनेसामने हुने र जे पनि हुनसक्ने उनले बताएका थिए ।

केही दिनपछि त्यो हाइनाले सानो चितुवा मारेको उनले हामीलाई बताए । जंगलमा हुने भनेको शक्तिको संघर्ष नै हो । जो शक्तिशाली हुन्छ उही जीवित रहन्छ ।

त्यो बेला कारमा मसँगै रहेको छोरालाई मैले भनें, डेलन तिमीले फोटो लिएको त्यो सानो चितुवा थियो नि त्यसलाई हाइनाले मारेछ ।

उसले मन पराएर फोटो लिएको सानो चितुवा म¥यो भनेर छोरालाई बताउन मलाई डर लागेन । उसले प्रकृतिको नियम बुझेको थियो ।

आफ्नो हिस्साको काम

हरेक १५ मिनेटमा शिकारीबाट एउटा हात्ती मर्छ । यस्तै हरेक आठ घण्टामा एउटा गैंडा ।

यो एकदमै दुःखद सत्य हो । यो परिवर्तन हुनुपर्छ ।

यसमा सकारात्मक सन्देश दिन र राम्रो प्रभाव पार्न मसँग भएको एउटै माध्यम क्रिकेट नै हो ।

कहिलेकाहीँ यसो बसेर सोच्दा त्यो अविश्वसनीय लाग्छ । म कहाँबाट कहाँ पुगेर क्रिकेट खेलें । त्यो दुवै ध्रुवबाट टाढा अस्ट्रेलियामा आफ्नो अन्तिम क्रिकेट म्याच खेल्दा त्यो सोचेर दंग पर्छु । अस्ट्रेलियाका मान्छेले त्यो प्राकृतिक सम्पत्ति बचावटका लागि सोचेका छन् । मेलवर्न स्टार टिमबाट अन्तिम क्रिकेट खेल्दा ‘प्लेइङ फर राइनोज’ को नारा नै बनेको थियो । त्यसबाट धेरै सचेतना फैलियो ।

त्यसपछि हामी अस्ट्रेलियामा डुबुमा रहेको तारोन्गा चिडियाखानामा पनि गयौँ । मलाई त्यहाँ कोही भेट्न आउँछन् भन्ने मलाई थाहा थिएन । त्यही ५ सय जना जति बच्चाबच्ची र उनीहरुको अभिभावक भेटिए । उनीहरुसँग पनि गैंडा संरक्षणका विषयमा कुराकानी भयो ।

हामीले सिड्नीमा गैंडासँग सम्बन्धित रहेर फोटो प्रदर्शनी पनि ग¥यौँ । त्यहाँ धेरै वाइल्ड लाइफ फोटोग्राफरले खिचेका फोटोसँगै मैले खिचेका केही फोटो पनि थिए ।

यसले मेरो ‘सेभ आवर राइनोज अफ्रिका एण्ड इन्डिया’ (सोराई) प्रोजेक्टको राम्रो सुरुवात पनि भयो । गैंडाको चोरी शिकारी रोक्न र संरक्षण गर्न औपचारिक रुपमा नै काम सुरु गरियो ।

म चाहन्छु मेरो बच्चाहरुको बच्चा, तिनीहरुको बच्चा, पछिसम्मका मान्छेले गैंडा, हात्ती, चितुवा, सिंह देख्न पाइरहुन् । यसका लागि हरेक मान्छेले आफ्नो ठाउँबाट सक्ने काम गरुन् भन्ने लाग्छ ।

एउटा शानदार बिदाइ

मैले क्रिकेट जीवनको अन्तिम खेल खेलेको भोलिपल्ट मेरो आमाले भन्नुभएको थियो, तिमीलाई आफ्नो करिअरकै अन्तिम खेल अस्ट्रेलियामा हुँदा दुःख लाग्यो होला ।

मैले आमालाई भनेको थिएँ– आमा, सम्झनुस् त सानोमा म यति नराम्रो थिएँ, कस्तो कस्तो अफ स्पिनर थिएँ । एउटा टेष्ट क्रिकेट मात्र खेल्न पाएँ भने भन्ने थियो । तर १०० भन्दा धेरै टेष्ट क्रिकेट खेलें । अन्तिम खेल विश्वकै ठूलो एउटा मैदान मेलबर्न क्रिकेट मैदानमा खेल्नु पनि सानो कुरा कहाँ हो र ? अनि त्यही अन्तिम खेल गैंडा संरक्षणका लागि हुनु पनि कति राम्रो भयो नि होइन र ?

मेरो मतलब, एक क्रिकेटरबाट संरक्षणवादी हुँदाको रोमाञ्चक समय सम्झिरहेको थिएँ । कोही मानिस मेरो अघि आउँछ र क्रिकेटभन्दा पहिले गैंडाको विषयमा सोध्छ भने त्यसले मलाई निकै खुशी मिल्छ । साह्रै अविश्वसनीय ।

म हरेक राति ओछ्यानमा निदाउनु पहिले सोच्छु, यो प्रकृतिका लागि मैले अरु के गर्न सक्छु होला । अब अगाडि म के गर्छु ? अनि यही कुरा बिहान उठ्दा पनि मेरो दिमागमा रहिरहन्छ । यो मेरो मनस्थितिबाट टाढा कहिल्यै जाँदैन ।

(पिटरसनले प्लेयर्स टि्रब्युनमा लेखेको लेखमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment