+
+
Shares

विश्राम त हरेकलाई चाहिन्छः गृहिणीहरूचाहिँ मेसिन हुन् र ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २३ गते १४:०५

गृहिणीहरू परिवारका केन्द्र हुन् । आफूलाई भन्दा आफ्ना परिवारका सदस्यहरू बालबच्चा, श्रीमान् तथा सासूससुराको हेरचाहमा तल्लीन भएर लाग्ने गृहिणीहरू गृहस्थीको जाँतोमा झिसमिसेदेखि राति अबेरसम्म  पिसिइरहेका हुन्छन् । अरूका लागि समय दिँदैमा आफ्नो समय, आफ्नो मन तथा आफ्ना चाहनाहरूलाई दबाउन विवश गृहिणीहरू मेसिन झैं दिनरात घोटिइरहन्छन् ।

गृहिणीको सम्पूर्ण जीवन परिवारको अपेक्षा पूरा गर्ने दौडधूपमै बित्छ । हेर्दा देखिने तथा कमाइ हुने काम कुनै हुँदैन, फलतः अरूले देख्दा यसले के नै पो गरेकी छ र ? घर बसेकी छ, खाएकी छ, कम्ती सुख छ र ! भन्ने हुन्छ । यसउसले गर्दा अलिकति मात्रै पनि आफ्नो हिसाबले चल्न खोजिन् भने त्यो कसैलाई रुचिकर हुँदेन । घरले विरोध गर्छ, समाजले कुरा काट्छ । यसो भनौं, गृहिणीलाई मरिमरी काम गरे पनि सुख छैन, अलिकति आराम लिऊँ, कहिलेकाहीँ यसो रामरमाइलो पनि गरौं न भन्दा पनि बसिसक्नु हुँदैन । के गृहिणीको कुनै स्वतन्त्र अस्तित्व छैन ? उसले सदैव अरूकै लागि बाँच्नुपर्ने हो, आफ्नो तरिकाले एक चुस्की जिन्दगी बाँच्ने अधिकार छैन ? यस्ता अनन्त प्रश्न छन् ।

श्रीमान्को बन्धन

हरेक श्रीमान्मा आफू घर पुगेपछि श्रीमतीको खातिरदारी पाउने चाहना हुन्छ । श्रीमती कामकाजी नभएर गृहिणी छिन् भने त झन् त्यस्तो अपेक्षा बढी नै हुने गर्छ । श्रीमतीहरूले पनि सकेसम्म श्रीमान्को अपेक्षा पूरा गर्ने प्रयास पनि गरेकै हुन्छन् । तापनि श्रीमान्हरू सन्तुष्ट हुँदेनन् । कतिपय श्रीमान्मा त श्रीमती भनेकी गुलाम नै हुन् भन्ने भावना पाइन्छ । आफू घरमा भएका बेला श्रीमतीलाई पढ्नलेख्न, गीत सुन्न अनि टेलिफिल्म हेर्न बन्देज लगाउँछन् कतिपय श्रीमान् ।

श्रीमान्को यस्तो व्यवहारले श्रीमतीहरू आजित हुन्छन् । अलिकति खुल्ला बाँच्ने, आफ्ना लागि पनि समय दिने चाहना अहिलेका युवतीहरूमा हुन्छ । उनीहरू श्रीमान्को बन्धनमा खुम्चिएर रहन चाहँदैनन् । तसर्थ आफ्नी श्रीमती गृहिणी छिन् भने श्रीमान्ले उनको मनोभाव बुझेर सोहीअनुसार गरी खुसी राख्ने प्रयास गर्नुपर्छ । श्रीमतीको अस्तित्वलाई पूर्ण रूपले स्वीकार गर्नुपर्छ ।

कतिपय श्रीमान् त यस्ता पनि हुन्छन्ः

(कामबाट घर फर्केका श्रीमान् श्रीमतीसँग)

श्रीमान्ः ए काली ! भोक लाग्यो । छिटो अन्डा बनाएर ले त ।

श्रीमतीले अन्डा उसिनेर ल्याउँछिन् ।

श्रीमान्ः हेर, हेर, आफूलाई अमलेट खान मन छ । ऊ उसिनेर ल्याउँछे । लौ भैगो ले ।

भोलिपल्ट पनि उही क्रम दोहोरिन्छ ।

श्रीमान्ः ओइ, आज पनि अन्डा बना त ।

श्रीमतीले अमलेट बनाएर ल्याइदिन्छे ।

श्रीमान्ः ल हेर यसको बुद्धि, आज त उसिनेको अन्डा खान मन छ नि । अमलेट पो ल्याउँछे ए !

पर्सिपल्ट पनि श्रीमान्ले अन्डा बनाएर ल्याउन अर्‍हाउँछ ।

श्रीमतीले एउटा अन्डा उसिनेर, अर्को अन्डा अमलेट बनाएर ल्याइदिन्छे ।

श्रीमान्ः हेर, हेर ! यसको बुद्धि पनि कहिल्यै नआउने भो । उसिन्नुपर्ने अन्डाको अमलेट बनाइछे । अमलेट बनाउनेपर्ने चाहिँ उसिनिछे !

बच्चाबच्चीको झ्याउँझ्याउँ

हिजोआजका बच्चाबच्चीहरू जिद्दी तथा आफूले भनेको कुरा हुनैपर्छ भन्ने स्वभावका हुन्छन् । उनीहरूले गृहिणीलाई शान्तिपूर्वक बस्न दिँदैनन् । अरू त अरू बालबच्चा घरमा भएपछि आफूले चाहेको गीत सुन्न, टिभीका कार्यक्रम हेर्न समेत पाउँदिनन् । बच्चाहरूले यस्तो गरेपछि आफ्नो इच्छा भित्रभित्रै दबाएर बस्न विवश हुन्छन् उनीहरू ।

श्रीमान् तथा बालबच्चा घरमा नभएका समयमा मात्र गृहिणीहरू आफ्नो मनमाफिक जिउन पाउँछन् । आफूले चाहेजस्तो गरी समय बिताउन सक्छन् । उनीहरूलाई आफू स्वतन्त्र भएको महसुस हुन्छ । उनीहरू भन्छन्- यो क्षणिक एक्लोपनको विशेष आनन्द छ, दिनभरिमा केही घन्टा भए पनि आफ्नै तरिकाले स्वच्छन्छ पक्षी झैँ बाँच्न त पाइन्छ ।

बालबालिकाको पढाइ

बालबालिकाको पढाइ हेर्ने जिम्मा अघोषित रूपमा गृहिणीहरूलाई नै हुन्छ । फेरि हिजोआज जुनसकै क्षेत्रमा पनि तीव्र प्रतिस्पर्धा छ । हरेक अभिभावक आफ्नो बालबालिका अरूभन्दा श्रेष्ठ होऊन् भन्ने चाहन्छन् । यसले गर्दा पनि गृहिणीको जिम्मेवारी वृद्धि हुन्छ । यसलाई सबैभन्दा महत्वपूर्ण जिम्मेवारी मान्दा पनि फरक पर्दैन । बालबालिकालाई तह लगाएर पढाउने तथा अघि बढाउने जिम्मा उनीहरूमाथि नै लादिन्छ । अर्को कुरा गृहिणीहरू आफैं पनि यस विषयमा अलि बढी नै चिन्तित हुन्छन् । यसरी बालबालिको पढाएको दबाबका कारण पनि गृहिणीहरू बढी बाँधिन्छन् ।

पारिवारिक स्वास्थ्य

कतिपय परिवारमा त केही गरी बालबालिका बिरामी भए भने पनि गृहिणीको लापरवाहीका कारण हो भनेर दोष लगाइन्छ । बालबच्चाको स्वास्थ्य बिग्रनुमा उनैलाई दोष दिइन्छ । जब कि उनले सादा खाना बनाएर खुवाइन् भने त्यो कसैलाई रुच्दैन, पिरो, अमिलो चटाकचुटुक परेको खाना बनाइन् भने पनि अपजस नै मिल्छ । गर्ने के ? मरिमरी काम गर्दा पनि जस नपाएपछि र एकछिन पनि फुर्सद नलिई गरेको काम गर्दाको परिणाम अबगाल आएपछि गृहिणीहरू तनावले सकिन्छन् ।

श्रीमान्लाई साथीभाइसँग घुमफिर गर्ने, मोजमस्ती गर्ने अधिकार छ भने त्यो अधिकार श्रीमतीलाई पनि हुनुपर्छ । बालबच्चालाई मनोरञ्जनको समय मिल्छ भने त्यस्तो समय उनका आमालाई पनि मिल्नुपर्छ । गृहिणीहरूलाई पनि रमाइलो जीवन बिताउने अधिकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?