Comments Add Comment

रोनाल्डिन्होको आफैंलाई पत्रः त्यसरी खेल, जसरी बुवाले भन्नुहुन्थ्यो


भोलि तिमी फुटबल खेलेर फर्कंदा घरमा धेरै जना मान्छे हुने छन् । तिम्रा साथी, काका, परिवार अनि तिमीले नचिन्ने अरु धेरै जना तिम्रो घरको भान्छामा हुनेछन् । तिमीलाई लाग्छ, पार्टीका लागि म ढिला भएँ, सबै जना तिम्रो दाइ रोबेर्टोको १८ औं जन्मदिन मनाउन तयार भएर बसेका होलान् ।

प्राय तिमी फुटबल खेलेर घर फर्कंदा आमा रमाइलो कुराकानी गर्दै हाँसिरहेको हुनुहुन्थ्यो ।

तर, यसपटक उहाँ रोइरहनु भएको हुनेछ ।

त्यसपछि तिमी रोबेर्टोलाई देख्नेछौ । उसले तिमीलाई पाखुरामा समातेर भित्र बाथरुममा लैजानेछ । किनभने त्यहाँ तिमीहरु मात्रै हुनेछौ । त्यसपछि तिमीलाई उसले केही कुरा भन्ने छ जुन तिमी बुझ्दैनौ ।

‘दुर्घटना भएर हाम्रो बुवा जानुभयो … उहाँ बित्नुभयो ।’

तिमीलाई त्यसको ठीक मतलब थाहा हुँदैन । कहाँ जानुभयो ? उहाँ कहिले फर्कनुहुन्छ ? बुवा कसरी बित्न सक्नुहुन्छ ?

बुवा मात्रै एक्लो हुनुहुन्थ्यो, जसले तिमीलाई फुटबल मैदानमा रचनात्मक रुपमा खेल्न भन्नुहुन्थ्यो । जसले तिमीलाई स्वतन्त्र रुपमा आफ्नै तरिकाले खेल भन्नुहुन्थ्यो, मात्र बलसँग खेल भन्नुहुन्थ्यो ।

तिमीमा उहाँको विश्वास ठूलो थियो । जब रोबेर्टोले व्यावसायिक रुपमै ग्रेमियो क्लबाट खेल्न थालेको थियो, उहाँले भन्नुभएको थियो, रोबेर्टो ठीकै खेल्छ तर उसको सानो भाइले खेलेको हेर त । गजब छ ।

मेरो बुवा ‘सुपरहिरो’ हुनुहुन्थ्यो । उहाँ फुटबल निकै मन पराउनुहुन्थ्यो । हप्ताभर बिग्रेको पानीजहाज बनाउने काम गरेर पनि उहाँ बिदाको दिन ग्रेमियो स्टेडियममा सुरक्षा गार्डको काम गर्नुहुन्थ्यो ।

अब तिमीले कसरी उहाँलाई कहिल्यै देख्न पाउँदैनौ ? रोबेर्टोले जे भनिरहेको थियो त्यो तिमीले बुझेनौ ।

तुरुन्त तिमीले कुनै दुःख या उदास महसुश गर्ने छैनौ । त्यो पछि हुनेछ । केही वर्षपछि तिमीलाई पक्का हुनेछ, बुवा अब कहिल्यै पृथ्वीमा फर्कनुहुने छैन । तर तिमी के बुझ भन्ने म चाहन्छु कि, जब तिम्रो खुट्टामा फुटबल हुनेछ, बुवा तिमीसँगै हुनुहुन्छ भन्ने सम्झ ।

जब तिम्रो खुट्टामा बल हुनेछ, तिमी स्वतन्त्र हुनेछौ । खुशी हुनेछौ । तिमीले कुनै गीत सुनिरहे जस्तै । त्यही खुशी तिमी अरुसँग पनि बाँड्न चाहन्छौ ।

तिमी धेरै भाग्यमानी छौ, तिमीसँगै रोर्बेटो हुनेछ । तिमीहरुको उमेरमा १० वर्षको फरक भए पनि चाहिएको बेला ऊ सधैँ तिमीसँगै हुन्छ । ऊ ग्रेमियोबाट फुटबल खेल्छ । ऊ तिम्रा लागि दाजु मात्र होइन, बुवा जस्तो पनि हो ।

अनि त्यो भन्दा बढी तिम्रा लागि हिरो हो ऊ ।

तिमी उसले जस्तै खेल्न चाहन्छौ । तिमी ऊ जस्तै हुन चाहन्छौ । हरेक बिहान तिमी ग्रेमियोमा जाँदा दाइसँगै हुन्छौ । तिमी त्यहाँ जुनियर टिममा खेल्छौ । दाइ सिनियर टिममा । त्यहाँ सधैं तिमी तिम्रो ‘फुटबल स्टार’ सँगै हुन्छौ । अनि हरेक रात सुत्नुअघि सम्झिन्छौ, म मेरो आइडलसँग एउटै कोठामा बसिरहेको छु ।

तिमीहरु बस्ने कोठामा त्यस्तो कुनै पोस्टर छैन । एउटा सानो टीभी सेट छ । तर त्यसमा पनि खेल हेर्न तिमीहरुसँग समय कहिल्यै हुँदैन । दाइ कतै खेल्न नगएको बेला तिमीलाई बाहिर लगेर धेरैबेर फुटबल खेलाइरहन्छ ।

जब तिमी पोर्टो एलेग्रेमा बस्ने छौ, त्यहाँ लागुऔषध कारोबारी र गुण्डाहरु हुने छन् । त्यहाँ निकै कठिन हुनेछ । तर, तिमी जति समय फुटबल खेल्नेछौ, सडकमा पार्कमा आफ्नो कुकुर लिएर जानेछौ, त्यसबेला सुरक्षित महसुश गर्नेछौ ।

तिमी रोबेर्टोसँग खेल्नेछौ । साथीहरुसँग खेल्नेछौ । अरु ठूला केटाहरुसँग पार्कमा खेल्नेछौ । खेल्दा खेल्दा सबै थाक्नेछन् । तर, तिमीलाई अझै खेलिरहन मन हुनेछ । यसैले तिमी आफ्नो कुकुर लिएर जानेछौ । त्यसको नाम बमबम हो । त्यसले निकै राम्ररी तिमीलाई खेलिरहन सघाउँछ । ब्राजिलमा कुकुर पनि फुटबल मन पराउँछन् ।

धेरै वर्षपछि तिमी युरोपमा व्यवसायिक फुटबल खेल्दा पनि केही डिफेन्डर तिमीलाई बमबम जस्तै लाग्नेछन् ।

बालापन तिम्रा लागि निकै भिन्न हुनेछ । तिमी १३ वर्षको पुगेपछि मानिसहरु तिम्राबारे कुरा गर्न थाल्नेछन् । उनीहरु तिम्रो खेल शैलीबारे कुरा गर्ने छन् । तिमी बलसँग राम्रो स्किल देखाउने हुनेछौ । त्यसबेला पनि तिम्रा लागि फुटबल एउटा खेल मात्रै हुनेछ । त्यसपछि जब तिमी १४ वर्षको हुनेछौ, सन् १९९४ मा विश्वकप फुटबल हेर्नेछौ । तिमीले फुटबल एउटा खेल मात्रै होइन भनेर त्यसबेला थाहा पाउँछौ ।

१७ जुलाई १९९४, त्यो दिन हो जुन हरेक ब्राजिलियनलाई याद रहनेछ । त्यो दिन तिमी बेलो होरिजोन्टेमा फुटबल म्याच खेल्न ग्रेमियो युथ टिमबाट जानेछौ । त्यही दिन टीभीमा विश्वकप फाइनल आइरहेको हुनेछ । त्यो खेल ब्राजिल भर्सेस इटाली हुनेछ ।

त्यहाँ भएका सबै जनाले ब्राजिलको झण्डा बोकेका हुनेछन् । त्यो दिन हरियो र पहेंलोबाहेक अरु कुनै रंग देखिने छैन । शहरमा हरेक सानो सानो स्थानमा मानिसहरु भरिएका हुने छन् । खेल हेरिरहेका हुनेछन् ।

तिमी आफ्नो टिमका साथीहरुसँगै खेल हेर्नेछौ । अन्तिम समयसम्म दुवै टिमबाट गोल नभएर खेल टाइब्रेकरमा पुग्नेछ । इटालीले पहिलो पेनाल्टी मिस गर्नेछ । ब्राजिलले पनि पहिलो पेनाल्टी मिस गर्नेछ । त्यसपछि इटालीले गोल गर्ने छ । दोस्रो पेनाल्टी हान्न ब्राजिलका रोमारियो जानेछन् । उनले हानेको बल देब्रेतिर घुम्दै पोस्टमा ठोक्किएर गोल हुनेछ । सबै साथीहरु खुशीले कराउने छन् ।

इटालीले गोल गर्नेछ अनि फेरि स्टेडियम शान्त ।

ब्राजिलका लागि ब्रान्कोले गोल गर्नेछन् । टाफेरेलले एक गोल बचाउने छन् । डुंगाले गोल गर्ने छन् ।

बागियोले इटालीका लागि हानेको पेनाल्टी मिस हुनेछ र सबै ब्राजिलियनको सपना पूरा हुनेछ ।

त्यही विश्वकप उपाधि जितेसँगै देखिने खुशीले तिमीलाई जीवनमा के गर्ने भन्ने एकीन हुनेछ । त्यसबेला ब्राजिलियनका लागि फुटबल के हो भनेर तिमीले बुझ्नेछौ । त्यसबेला फुटबलको शक्ति तिमीलाई थाहा हुनेछ । सामान्य मान्छे कसरी विश्व विजेता बन्छ त्यो तिमीले बुझ्नेछौ ।

‘म ब्राजिलका लागि फुटबल खेल्नेछु’ तिमीले त्यो दिन मनमनै सोच बनाउने छौ ।

तिम्रो खेल्ने शैली जस्तो छ, त्यसमा धेरैले तिम्रो सपनामा विश्वास गर्ने छैनन् ।

केही प्रशिक्षकहरु हुने छन्, जसले तिम्रो खेल शैली परिवर्तन हुनुपर्ने बताउँछन् । तिमीले बल त्यति धेरै ड्रिबलिङ गर्न नहुने उनीहरुले भन्नेछन् । तिमी अलि गम्भीर हुनुपर्ने उनीहरुको तर्क हुनेछ । ‘यसरी त तिमी आफ्नो जीवनभर कहिल्यै फुटबलर बन्ने छैनौ’ उनीहरुले तिमीलाई भन्नेछन् ।

तिमी ती शब्दहरुलाई एउटा प्रेरणाको रुपमा लिऊ । त्यही शब्दहरुबाट तिमी आफ्नो ध्यान फुटबलमा एकाग्र बनाऊ । अनि फुटबल निकै राम्रोसँग खेल्ने म्याराडोना, डेनर, रोनाल्डोबारे सोच ।

आफ्नो बुवाबारे सोच । उहाँले भन्नुहुन्थ्यो, बलसँग खेल र आरामले आफ्नै तरीकामा खेल । रमाइलो गरेर खेल । त्यो त्यस्तो कुरा हो जुन धेरै प्रशिक्षकले बुझ्ने छैनन् । तिमी जहिले मैदानमा हुनेछौ, तब नापजाँच गर्दै नखेल । आरामले खेल । तिमीले सोच्नुअघि नै तिम्रो खुट्टाले के गर्ने भन्ने निर्णय लिनेछ ।

के गर्ने भनेर सोचिरहनु पहिले नै सिर्जनशीलताको निर्णयले तिमी अघि पुगिसकेका हुनेछौ ।

रोमारियोले विश्वकप उचालेको केही महिना मात्र भएको हुनेछ । एकदिन, ग्रेमियोमा खेलपछि तिम्रो प्रशिक्षकले अफिसमा बोलाउनेछन् । उनले तिमीलाई यू–१७ को ब्राजिलियन टिम छनोटका लागि परेको बताउने छन् । तिमी अभ्यासका लागि टेरेसपोलिसमा जानेछौ । त्यहाँ क्याफेनेर भित्तामा तिमीले एउटा फोटो देख्नेछौ । त्यसमा पेले, जिको र बेबेटो छन् ।

तिमी सधै त्यही हलमा ती लिजेण्डहरुलाई हेर्दै हिँड्नेछौ । पहिले उनीहरु पनि त्यहीं हिँडेका थिए । तिमी बस्ने ठाउँमै बसेका थिए । उनीहरुले जे खान्थे, तिमी त्यही खानेछौ । उनीहरु जहाँ सुतेका थिए, त्यहीँ सुत्नेछौ ।

आउँदो चार वर्ष तिमी फुटबल खेल्नेबाहेक अरु केही गर्ने छैनौ । तिमी आफ्नो जीवन बस र अभ्यास मैदानमा बिताउने छौ । वास्तवमा सन् १९९५ देखि २००३ सम्म तिमीले कहिल्यै छुट्टी पाउने छैनौ । त्यो एकदमै तीव्र रुपमा बित्नेछ ।

अनि जब तिमी १८ वर्षको हुनेछौ, तिम्रो बुवालाई गर्व लाग्ने उपलब्धि हासिल गर्नेछौ । तिमीले ग्रेमियो सिनियर टिममा डेब्यू गर्नेछौ । त्यसमा एउटै दुःखद कुरा रोबेर्टो हुने छैन । घुँडामा लागेको चोटका कारण ऊ ग्रेमियोमा धेरै समय बाहिर रहन्छ र पछि व्यवसायिक रुपमा खेल्नका लागि स्वीट्जरल्याण्ड जानेछ ।

खेलको दिन तिमी कार पार्क भएको ठाउँबाट हिँड्दै जानेछौ । जहाँ तिम्रो बुवा पहिले सुरक्षा गार्डको काम गर्नुहुन्थ्यो । तिमि त्यही डे«सिङ रुममा लुगा फेर्नेछौ, जहाँ तिम्रो दाइले पहिले लिएर जाने गर्थे । तिमी क्लबको निलो र कालो जर्सीमा सजिने छौ । तिमीलाई लाग्नेछ, यो भन्दा ठूलो कुरा त के होला र ? आफ्नै घरेलु क्लबबाट खेल्न पाइयो ।

तर, त्यो ठाउँमा तिम्रो कथा सकिँदैन ।

अर्को वर्ष तिमी ब्राजिलको सिनियर टिमबाट पहिलो खेल खेल्नेछौ । एकदमै रमाइलो घटना घट्नेछ । अभ्यासमा तिमी टिमका अन्य साथीहरु भन्दा एक दिन ढिलो पुग्नेछौ । किनभने ग्रेमियो क्लबबाट इन्टरन्यासिनलविरुद्ध तिमीले क्याम्पेन्याटो गुचो टुर्नामेन्टको फाइनल खेल्नु पर्नेछ ।

तिमीले त्यो खेलमा निकै राम्रो खेल्नेछौ । जब तिमी ब्राजिलको राष्ट्रिय टिमको अभ्यासका लागि जानेछौ, त्यहाँ तिम्रा नयाँ साथीहरु तिमीले विश्वकपको खेलमा टीभीमा हेरेका खेलाडीहरु हुने छन् ।

उनीहरु तिम्रो बारेमा कुरा गर्ने छन् । तिमीले ग्रेमियोलाई कप जिताउँदा खेलेको खेलबारे कुरा गर्नेछन् । तर, तिमी धेरै विश्वस्त नहौ । किनभने उनीहरु तिमीसँग उस्तो सजिलै रहने छैनन् । यही तिम्रो जीवनको सबैभन्दा महत्वपूर्ण समय हुनेछ । जब तिमी त्यो स्तरमा हुनेछौ मानिसहरुले तिमीबाट धेरै अपेक्षा गर्ने छन् ।

के तिमी अझै आफ्नै तरीकाले खेल्ने छौ ?

कि तिमी नापजाँच गरेर सोचबुझ राखेर खेल्नेछौ ?

तिमीलाई मेरो एउटै सुझाव छ, तिमी आफ्नै तरीकाले खेल । ढुक्क भएर खेल । त्यो खेलको संगीत सुन । तिम्रो जीवन बाँच्ने त्यही एउटा राम्रो माध्यम हो ।

ब्राजिलका लागि खेलेपछि तिम्रो जीवन परिवर्तन हुनेछ । तिमीलाई कहिल्यै थाहा नभएका नयाँ ढोकाहरु तिम्रा लागि खुल्नेछन् ।

तिमी युरोपमा फुटबल खेल्ने बारे सोच्न थाल्नेछौ । जहाँ तिम्रा धेरै हिरोहरु आफूलाई प्रमाणित गर्न त्यहाँ गइसकेका छन् । रोनाल्डोले तिमीलाई बार्सिलोनामा जीवन कस्तो हुनेछ भनेर बुझाउने छ । तिमी उसको अवार्ड देख्नेछौ, उसको बालोन डि’ओर, क्लब उपाधि ।

एक्कासी, तिमीलाई पनि त्यस्तै इतिहास बनाउन मन लाग्नेछ । तिमी ग्रेमियो क्लबभन्दा बाहिर पनि सपनाहरु देख्न थाल्नेछौ । २००१ मा तिमी पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध हुने छौ ।

एउटा काठको घरमा फाभेलामा जन्मिएर हुर्किएको बच्चोलाई म कसरी बुझाउँ कि युरोपमा जीवन कस्तो हुन्छ भनेर ? यो असम्भव छ । तिमी त्यो बुझ्ने छैनौ । जब तिमी पेरिस आयौ, त्यसपछि बार्सिलोना, त्यसपछि मिलान । हरेक कुरा एकदमै छिटोछिटो हुनेछ । युरोपका केही मिडियाले तिम्रो खेल्ने शैली बुझ्ने छैनन् । तिनीहरुले तिमी सधैँ किन हाँसिरहन्छौ, त्यो बुझ्ने छैनन् ।

ठीकै छ, फुटबल खेल नै त्यस्तो रमाइलो छ, यसैले तिमी सधैँ हाँस्छौ । तिमी किन धुम्म परेर बस्नु त ? तिम्रो गोल भनेकै खुशी फैलाउने माध्यम हो । म फेरि पनि भन्छु, गणना होइन सिर्जनशीलता ।

स्वतन्त्र होऊ, अनि तिमी ब्राजिलका लागि विश्वकप जित्नेछौ ।

स्वतन्त्र होऊ, अनि तिमी च्याम्पियन्स लिग, ला लिगा र सिरी ए जित्नेछौ ।

स्वतन्त्र होऊ, अनि तिमी बालोन डि’ओर जित्नेछौ ।

तिमीलाई सबैभन्दा गर्व लाग्ने कुरा के हुनेछ थाहा छ ? तिमीले आफ्नो खेल शैलीको प्रभाव बार्सिलोनामा पार्ने छौ । जब तिमी त्यहाँ पुगेका हुनेछौ, रियल मड्रिड स्पेनिस फुटबलको एक्लो पावरहाउसको रुपमा रहेको हुनेछ । जब तिमी बार्सिलोना छाड्ने बेलामा पुग्नेछौ, बच्चाहरुले सपना देखिरहेका हुनेछन्, ‘बार्सिलोनाको स्टाइलमा फुटबल खेल्ने ।’

मलाई राम्ररी सुन । फेरि पनि त्यसमा तिम्रो भूमिका मैदानमा तिमीले देखाएको खेलभन्दा धेरै महत्त्वपूर्ण छ ।

बार्सिलोनामा तिमीले एउटा फुच्चे केटोको बारेमा सुन्ने छौ । ऊ तिमीले जस्तै १० नम्बरको जर्सी लगाउँछ । ऊ तिमी जस्तै सानो छ । ऊ तिमीले जस्तै गरी बल खेल्छ । तिमी र तिम्रा साथीहरु उसले बार्सिलोना युथ टिममा खेलेको हेर्न जान्छौ । त्यसबेला नै तिमीलाई लाग्नेछ, यो केटा एउटा महान फुटबलर बन्नेछ । त्यो केटो भिन्न हुनेछ । त्यसका नाम हो, लियोनल मेस्सी ।

तिमी प्रशिक्षकलाई भन्नेछौ, त्यो केटोलाई सिनियर टिममा ल्याउनु प¥यो ।

जब त्यो केटो टिममा आउँछ, सबैले त्यसकै बारेमा कुराकानी गर्न थाल्नेछन् । जसरी तिमी ग्रेमियोमा जाँदा अरुले कुरा गरेका थिए ।

म तिमीलाई एउटा सानो सुझाव दिन्छु । त्यो केटोलाई पनि भनिदेऊ, फुटबल खुशी भएर खेल । आरामले खेल । बलसँगै रहेर खेल ।

जब तिमी जाने छौ, तब पनि तिम्रो खेल्ने तरिका मेस्सीसँगै बार्सिलोनामै रहनेछ ।

तिम्रो जीवनमा धेरै कुरा हुनेछ । राम्रा र नराम्रा दुवै । जेजे हुनेछन्, सबै फुटबलकै कारण हुनेछन् । जब मानिसहरुले तिम्रो खेल्ने शैलीमा प्रश्न गर्नेछन् अथवा तिमी मैदानमा खेल्दा पनि किन हाँसिरहन्छौ भनेर सोध्ने छन् । त्यो बेला एउटा कुरा सम्झ ।

जहिले तिम्रो बुवाले यो धर्ती छाड्नुभयो, उहाँको सम्झना दिलाउने कुनै त्यस्तो भिडियो तिमीसँग छैन । तिम्रो परिवारसँग त्यति धेरै पैसा थिएन । यसैले उनीहरुले भिडियो क्यामरा किन्न सकेनन् । तिमी मन लाग्दा आफ्नो बुवाको आवाज सुन्न सक्दैनौ, उहाँ हाँसेको सुन्न सक्दैनौ ।

यो सबै कुराहरुमा तिमीसँग केही छ, जसले खुशी दिनेछ । तिमी र तिम्रा बुवाले सँगै फुटबल खेलिरहेको तस्वीर । यही कुराले पनि सधैँ तिमीलाई आफ्नो बुवाको सम्झना दिन्छ । बुवासँग बल खेल्दा तिमी हाँसिरहेका छौ । अनि तिम्रो खुट्टामा भएको बल देखेर बुवा खुशी हुनुभएको छ ।

जब तिमीसँग पैसा आयो, सँगै दबाव र आलोचनाहरु पनि । यसैले आरामले बस ।

त्यसरी खेल जसरी बुवाले तिमीलाई खेल्न भन्नुहुन्थ्यो ।

बलसँगै रहेर खेल ।

(उही रोनाल्डिन्हो)

(आफू आठ वर्षको हुँदाको बेला सम्झिएर रोनाल्डिन्होले आफैंलाई लेखेको पत्र प्लेयर्स ट्रिब्युनबाट नेपाली भावानुवाद गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment