Comments Add Comment

कर्मचारीलाई प्रधानमन्त्रीले भने : घर जान नखोज्नुस्, राष्ट्र निर्माणका लागि सघाउनुस्

एकैपटक ठूलो संख्यामा कर्मचारीलाई अवकाश दिन अनिच्छुक

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकैपटक ठूलो संख्यामा निजामति कर्मचारीलाई स्वेच्छिक अवकाश दिन अनिच्छुक देखिएका छन् ।

आधिकारिक ट्रेड युनियनका पदाधिकारी सहित कर्मचारी संगठनका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले घर जान होइन देश बनाउने अभियानमा सघाउन आग्रह गरेका हुन् ।

आइतबार साँझ आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकालको नेतृत्वमा गएका कर्मचारी संगठनका नेताहरुसँग प्रधानमन्त्रीले एकैपटक दश हजार भन्दा बढी कर्मचारीलाई घर पठाउँदा सरकारको काम अवरुद्ध हुने बताए । लोकसेवा आयोगले त्यति ठूलो संख्यामा कर्मचारी पूर्ति गर्न धेरै समय लाग्ने भन्दै ओलीले स्वेच्छिक अवकाशप्रति अरुची प्रकट गरेका हुन् ।

कर्मचारीहरुसँगको छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि थिए । अर्थमन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीले भने-यति ठूलो संख्यामा कर्मचारीलाई घर अवकाश दिँदा राज्यले धान्न गाह्रो छ । ढुकुटी कमजोर भएको बेला यो सुबिधा दिएर पठाउँदा धान्न सकिन्छ कि सकिन्न भन्ने छलफल गर्नुपर्छ ।

प्रधानमन्त्रीले सरकारलाई सफल बनाउन कर्मचारीहरुलाई आग्रह समेत गरेका छन् । उनले संघीय निजामति ऐन लगायतका सबै काममा आधिकारिक ट्रेड युनियनसँग सहकार्य गरिने आश्वासन समेत दिएका छन् । कर्मचारी नेताहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई अपमानजनक शब्द प्रयोग गरेकोमा असन्तुष्टि जनाएका थिए ।

जवाफमा ओलीले भने ‘व्यक्तिका आ आफ्ना स्वभाव हुन्छन् । आधिकारिक ट्रेड युनियनलाई बाइपास गरिन्न । मन्त्री र तपाईहरु मिलेर काम गर्ने हो । त्यसैले कर्मचारीलाई मेरो आग्रह छ घर जानकाका लागि जोडयबल नगर्नुस्, राष्ट्र निर्माणमा सघाउनुस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment