
काठमाडौं । राष्ट्रिय गौरवको रूपमा जेठ १५ देखि २१ गतेसम्म नेपाल स्काउटको तेस्रो ज्याम्बोरी नुवाकोटको ककनीमा हुँदैछ छ । उक्त ज्याम्बोरीमा स्वदेशी तथा विदेशी गरी पाँच हजारभन्दा वढी स्काउट्स सहभागी हुने बताइएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा तथा युवा मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले ज्याम्बोरी स्थलको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणपछि मन्त्री विश्वकर्माले भने- सही र राष्ट्रहितको कुनै गृहयोजना आएमा ज्याम्बोरी स्थलमा थप लगानी गर्न मन्त्रालय इच्छुक छ ।’ साथै उनले स्काउट आफ्नो विशुद्ध उद्देश्य एवं मर्मअनुरूप चल्न जरुरी रहेको कुरामा जोड दिए ।
युवाशक्ति नै देशको मेरुदण्ड भएकाले युवालक्षित कार्यक्रमद्वारा देशको आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरण हुने भएकाले कार्यक्रम संचालन गर्न लागिएको नेपाल स्काउट तदर्थ समिति संयोजक चन्दन कौशिकले बताउँछन् ।
ज्याम्बोरी अन्तराष्ट्रिय स्तरमै स्काउटको सबैभन्दा ठूलो भेला हो । यो विश्व भ्रातृत्व-भगिनीको नाराले विश्वभर स्काउट सञ्चालित छ । नेपालमा पहिलो ज्याम्बोरी वि.सं. २०४३ सालमा, दोस्रो वि.सं.२०७२ मा भएको थियो भने अब हुन गइरहेको ज्याबोरी तेस्रो हो । यो ज्याम्बोरी किन पनि महत्वपूर्ण छ भने यसले नेपालको ज्याम्बोरी इतिहासमा युवा नेतृत्व पाएको छ ।
नेपालमा स्काउट सन् १९५२ मा स्थापना भएको हो । यो हालसम्म निरन्तर रूपमा देशका ७७ वटै जिल्लामा क्रियाशील छ । अनुशासन, साहस एवं सहयोगलाई मूल मन्त्र मानेर अघि बढ्ने स्काउटले १४ वर्षदेखि माथिका मानिसलाई समेट्ने गरेको छ । स्काउटको मिसन अनुसार नेपालमा युवाहरूलाई जिम्मेवार नागरिक बनाउने अभियान चलाइएको छ । यसवाहरूकोे भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य स्काउटले लिएको छ ।
अनुशासन नै मानव जीवनको अभिन्न अंग

चन्दन कौशिक, नेपाल स्काउट ज्याम्बोरी क्याम्प चिफ
जेठ १५ देखि २१ सम्म हुन ककनीमा आयोजना हुन लागेको ज्याम्बोरीका विषयमा नेपाल स्काउट तदर्थ समितिका संयोजक तथा ज्याम्बोरी क्याम्प चिफ चन्दन कौशिकसँग गरिएको कुराकानी :
ज्याम्बोरी के हो ?
यो १४ वर्षमाथिमा युवा, वयस्क तथा ९० वर्ष नाघेका स्काउटहरूको सबैभन्दा ठूलो भेला हो ।
ज्याम्बोरीलाई कसरी राष्ट्रको गौरव भन्न मिल्छ ?
स्काउट विश्व भ्रातृत्व-भगिनीको नाराले विश्वभर सञ्चालित छ । ज्याम्बोरीले व्यक्तित्व विकास, भ्रातृत्व प्रगाढ पार्नुका साथै जीवनयापन कला, जीवनमा आइपर्नसक्ने कठिनाइ एवं त्यससँग जुध्न र हल गर्नसक्ने क्षमता विकासमा सघाउँछ । ज्याम्बोरीमा हुने क्याम्प लाइफले लाइफ-सरभाइभल-स्किल सिकाउनुका साथै सोसल हार्मोनीमा ठूलो भूमिका खेल्छ त्यसैले यसलाई राष्ट्रको गौरव मान्न सकिन्छ ।
कार्यक्रम अवधिभर के-के गरिन्छ ?
दैनिक जीवन निर्वाहमा आइपर्ने जटिलतालाई कसरी समाधान गर्ने भन्ने सीप र कला सिकाइन्छ । कार्यक्रम अवधिभर टेन्टभित्र बस्नुपर्ने हुन्छ । आफैं पकाउने, भाँडा माझ्ने, आवश्यक सामग्री जोहो गर्ने मात्र नभई ज्याम्बोरीमा सहभागीहरूलाई कठिन खालका टास्क दिइन्छ जुन उनीहरूले कसैको सहायता विना पूरा गर्नुपर्ने हुन्छ ।
यसले कस्तो किसिमको परिवर्तन ल्याउँछ ?
ज्याम्बोरीभित्र उनीहरूलाई दिइने टफ-टास्क पूरा गर्न जसरी उनीहरू दत्तचित्त र संघर्षशील रहन्छन् त्यसरी नै उनीहरूले यथार्थ जीवनमा आइपर्ने चुनौती तथा कठिनाइबाट पनि टाढा नभागी हल गर्न सक्ने कला र आत्माविश्वास प्राप्त गर्छन् ।
यस्ता कार्यक्रम मुलुकका लागि कत्तिको फलदायी हुन्छन् ?

युवा राष्ट्रनिर्माणका आधारस्तम्भ हुन् । उनीहरूले चाहे मुलुकको विकास र परिवर्तन सम्भव छ । मात्र युवामा जांगर, धैर्य एवं लगनका साथै कडा परिश्रम चाहिन्छ जुन स्काउट लाइफबाट प्राप्त हुन्छ ।
ज्याम्बोरीले नेपालको स्काउटिङ इतिहासमा कस्तो अर्थ राख्छ ?
विदेशतिर आयोजना हुने ज्याम्बोरीमा सरकार, समुदाय, नागरिक समाज समेतको ठूलो जनचासो हुन्छ किनभने यो सानो कुरा होइन । एकैपटक दशौं हजार मानिस सत्कार्यका उद्देश्यले जम्मा हुनु पक्कै पनि चानचुने कुरा होइन । यसको आयोजना गर्ने मुलुकलाई अन्तर्राष्ट्रिय स्काउट भएका मुलुकले समेत पनि सम्मान, गौरव एवं बहादुरीको नजरले हेर्दछन् भने नेपाल स्काउटको इतिहासमा त यसको महत्व उच्च हुने नै भइहाल्यो ।
स्रोत-साधन कसरी जुटाउँदै हुनुहुन्छ ?
स्काउटकै आन्तरिक स्रोत-साधनमा युवा मन्त्रालयको सहयोग र सहकार्य छ ।
युवा जोसजाँगरका साथ नेतृत्व सम्हालिरहनुभएको छ । अबको योजना के छ तपाईको ?
सेवा गर्नु नै मुख्य धर्म हो । विशुद्ध गैरराजनीतिक एवं सामाजिक अभियानको अभियन्ताको रूपमा आम नेपाली युवायुवती, वालवालिका तथा वृद्धवृद्धाहरूलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरण गराउने कार्यमा निरन्तर लागि पर्नेछु ।
आम जनतालाई सामाजिक अभियन्ताको रूपमा कसरी परिचालन गर्नुहुन्छ ?
आम नेपाली जनता आफैमा सचेत तथा जागरुक छन् । त्यसैले सामाजिक कार्यको निम्ति अग्रसर हुने अवसर प्रदान गर्नेछौँ । स्काउटले अवसर तथा चुनौतीलाई परिपूरकको रूपमा लिएर अघि वढ्ने भएकाले आवश्यक छलफल, अन्तरक्रिया, तालिम तथा गोष्ठीहरू सञ्चालन गरी सचेतनामूलक ढंगले सहभागिता गराउँछौँ ।
म तपाईहरूको मिडियाबाट आम नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण बालबालिकाहरूलाई आˆनो जीवनको थोरै समय भए पनि सामाजिक क्षेत्रमा खर्चनुहोस् जसबाट समाजमा आमूल परिवर्तनका ढोकाहरू खुल्दै जाऊन् भन्न चाहन्छु । सकारात्मक परिवर्तनका निम्ति गरे हुन्छ, लागौं, जुटौं सफलता चुमौं भन्न चाहन्छु ।
प्रतिक्रिया 4