Comments Add Comment

नागरिक अगुवाको मागः मोदीलाई नागरिक अभिनन्दन नगरियोस्

२५ वैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न अपील गरिएको छ ।

मोदी २८ गते नेपाल आउँदैछन् र उनलाई जनकपुरका साथै काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

तर, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.सुरेन्द्र भण्डारी, प्रा.डा.सुरेन्द्र केसी, डा. अरुणा उप्रेती लगायत २४ जना नागरिक अगुवाहरुले संयुक्त वक्तव्य जारी गर्दै मोदीको नागरिक अभिनन्दन नगर्न काठमाडौं महानगरपालिका र जनकपुर उपमहानगरपालिकालाई आग्रह गरेका छन् ।

नेपालमा संविधान जारी भए लगत्तै भारत सरकारले १३५ दिनसम्म नाकाबन्दी गरेर मानवीय संकट सृजना गरेको भुल्न नसकिने भन्दै उनीहरुले मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने तर्क गरेका छन् ।

नाकाबन्दीबाट नेपालमा भएको मानवीय संकट र व्यापार घाटाको छानविन गर्न भारत तयार हुनुपर्ने, नाकाबन्दीका कारण नेपालले भोग्नु परेको आर्थिक, मानवीय एवं सामाजिक क्षतिको लेखाजोखाका लागि नेपाल-भारतबीच दुईपक्षीय मेलमिलाप समिति गठन गरी क्षतिपूर्ति नेपाललाई दिनुपर्ने उनीहरुको माग छ । ‘यो निश्चितताविना मोदीजीलाई गरिने अभिनन्दनलाई नागरिक अभिनन्दन नभनियोस् भन्ने आग्रहसहित जनकपुर उप-महानगरपालिका तथा काठमाडौं महानगरपालिकाको ध्यान आकर्षण गराउन चाहन्छौँ’ वक्तब्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment