Comments Add Comment

जिल्ला प्रशासनमै छैनन् कर्मचारी

२५ वैशाख, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शंकरसिंह बिष्ट ०७३ साल चैत्र १८ गते अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भएर गएपछि रिक्त रहेको सहायक प्रमुख जिल्ला अधिकारी पद हालसम्म पनि रिक्तै छ ।

सहसचिव प्रमुख जिल्ला अधिकारी हुने डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव हुने व्यवस्था छ ।

स्थानीय तहहरुमा सरकारी कर्मचारीहरु जान नमानेर दैनिक सेवा प्रवाहमा समस्या भएको भन्ने समाचारहरु आइरहेका बेला जिल्ला प्रशासन कार्यालय डोटीको भने आफ्नै पीडा छ ।

एक वर्ष एक महिनासम्म सहायक प्रमुख जिल्ला अधिकारी नआएको कार्यालयमा शुक्रबारदेखि शाखा अधिकृत पनि नभेटिने अवस्था हुँदैछ ।

दुई जना शाखा अधिकृतको दरबन्दी भएको कार्यालयमा असोजमा शाखा अधिकृत रमा घिमिरे सरुबा भएपछि केशब लामिछाने एक जना मात्र शाखा अधिकृत थिए । चैत्र २६ गते लामिछाने पनि जाजरकोट सरुवा भए । उनी शुक्रबार रमाना लिँदैछन् ।

लामिछानेको सरुवासँगै सोही दिन गृह मन्त्रालयबाट काजमा खटाइएका दुई जना अधिकृतहरु दिपेन्द्रबहादुर शाही र लोकराज बोहराको भने पत्तो छैन ।
शाही र बोहरा दुबै अध्यागमन बिभागबाट डोटीका लागि काजमा खटिएका हुन् । मंगलबारसम्म उनीहरु आउने नआउने कुनै जानकारी नभएको कार्यालयले जानकारी दिएको छ । ‘एक जनाले त स्वास्थ्य मन्त्रालयमै काज मिलाए भन्ने सुनेको छु’ कार्यालयका सूचना अधिकारी समेत रहेका शाखा अधिकृत लामिछानेले भने, ‘त्यसको आधिकारिक जानकारी आएको छैन ।’ अर्का अधिकृत कहाँ छन् भन्ने बारेमा पनि आफुलाई जानकारी नभएको उनी बताउँछन् ।

अधिकृतहरुको मात्रै कुरा होइन, जिल्ला प्रशासन कार्यालयमा सहायकस्तरका कर्मचारीहरु पनि दरबन्दी अनुसार छैनन् ।

६ जना नायव सुव्वाको दरवन्दी रहेकामा चार जना मात्रै बहाल छन् । कार्यालयले रिक्त पदहरु पदपुर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाएको जनाएको छ ।

यस्तै कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर दुवैको दरवन्दी रिक्त छ । अपरेटर र सहायक दुवै नभएपछि कम्प्युटरका बारेमा ज्ञान भएका एक कार्यालय सहयोगीलाई कम्प्युटरको जिम्मेवारी दिईएको लामिछाने बताउँछन । यस्तै चार जनाको दरवन्दी रहेको खरिदारमा दुई जना मात्रै कार्यारत छन् ।

जिल्ला प्रशासन कार्यालय मातहत रहने जिल्ला कारागार प्रमुखको दरवन्दी पनि रिक्त छ । कारागार प्रमुखमा जिल्ला प्रशासनमा कार्यरत नासुमध्ये एक जनालाई पठाइएको छ ।

गत शुक्रबार मात्र हाजिर भएका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव कर्मचारी नभएको दुखेसो पोख्छन् । ‘म आएको दिनदेखिनै कर्मचारीको व्यवस्थापनमा लागेको छु’ मंगलार आयोजित सञ्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादवले भने ‘जनशक्ति कम भएका कारण काम गर्न निकै कठिन छ ।’ उनले जिल्लामा शान्ति सुरक्षा एवं सुशासन कायम राख्नका लागि आफु सधैं सक्रिय रहने बताए ।

दुर्गम गाउँपालिकाहरुमा कर्मचारीहरु जान नमानेका कारण सोचे अनुसारको काम हुन नसकेको जनप्रतिनिधिहरुको गुनासो छ ।

‘जिल्ला सदरमुकाममा समेत आउन नमान्ने अधिकृतहरु के दुर्गम गाउँमा गएर जनताको सेवा गर्लान त ?’ प्रश्न उव्जाएको छ । ‘अध्यागमन पल्केका कर्मचारीहरु सहजै जिल्ला प्रशासनमा आउँदैनन्’ कार्यालयका एक कर्मचारीले भने, ‘काजमा खटाइएका कर्मचारीहरु सम्वन्धित ठाउँमा पुगे कि पुगेनन् भनेर खोजी गर्ने निकायको पनि कमी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment