Comments Add Comment

छापामा आजः राजनीतिक दबावले अनुगमन ठप्प, २ महिनामा ६ अर्ब सक्न सांसदको दबाव

२७ वैशाख, काठमाडौं । राजधानी काठमाडौंबाट बिहीबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । पत्रिकाका पहिलो पृष्ठमा आज राजनीतिसँग सम्बन्धित सामग्री बढी भए पनि आर्थिक, सामाजिकलगायतका मुद्दाहरुलाई पनि पत्रपत्रिकाहरुले समेटेका छन् ।

एमाले–माओवादी एकता प्रक्रियामा देखिएका गाह्रा–साह्रा केही पत्रिकाले आज खोतलेका छन् । कान्तिपुर दैनिकले ‘ओली–दाहाल खटपट’ शीर्षकमा पहिलो पृष्ठमा खबर लेखेको छ । समाचार अनुसार, प्रधानमन्त्री केपी ओलीले मंगलबार पूर्वप्रधानमन्त्रीको हैसियतमा बजेटसम्बन्धी छलफलमा बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झस्किएका छन् । सत्तासाझेदार दलका हैसियतले बजेटमा छलफल हुने अपेक्षा गरेका प्रचण्ड ओलीको छलफलमा औपचारिकता पूरा गरेर फर्किएका छन् ।

दुई अध्यक्षबीचको गाँठोले वाम एकता घाम पानीजस्तै भएको विश्लेषण राजधानी दैनिकमा छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे लेख्दै आइरहेका पत्रपत्रिकाहरुले आज पनि यो विषयलाई छुटाएका छैनन् । राजधानी दैनिकले व्यवस्थापिका संसदमा भ्रमणबारे भएको सवाल–जवाफलाई आधार बनाएर समाचार बनाएको छ भने नागरिक दैनिकले ‘मोदीलाई जेड तहको सुरक्षा’ शीर्षक दिएर खबर लेखेको छ । मोदीको सुरक्षाकै विषयमा खबर लेखेको नयाँ पत्रिकाले हतियारसहितका ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुने जनाएको छ ।

यसका अतिरिक्त राजधानी काठमाडौंको पानी अभावदेखि २ महिनामै साढे ६ अर्ब सक्ने खेलसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ प्रकाशित गरेका छन् ।

हेरौं आजका पत्रपत्रिकामा प्रकाशित भएका महत्त्वपूर्ण एवं राेचक घाेचक खबरका सारसंक्षेप

२ महिनामा ६ अर्ब सक्न सांसदको दबाव

सांसद्हरुले चालु आर्थिक वर्षभित्र खर्चने गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शीर्षकको ५० लाख र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम शीर्षकको ३ करोड रुपैयाँ बजेट तत्काल निकासा गराउन सरकारमाथि दबाव बढाएको कान्तिपुर दैनिकमा खबर छ ।

आर्थिक वर्ष २०७४/७५ सकिन २ महिना मात्रै बाँकी हुँदा सांसदहरुले यही अवधिभित्र खर्च गर्न उक्त रकम निकासा खोजेको समाचारको सार छ ।

समाचार अनुसार निार्वचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि ४ अर्ब ९५ करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि १ अर्ब ६७ करोड छुट्याउनुपर्ने हुन्छ ।

ओली एक्लौटी अघि बढ्दा प्रचण्ड रुष्ट

बजेटबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल माओवादीसँग छलफल नगर्दा प्रचण्ड सशंकित बनेका छन् ।

कान्तिपुर दैनिकका अनुसार बजेट मात्रै होइन, राष्ट्रिय योजना आयोगमा नियुक्तिलगायत महत्त्वपूर्ण निर्णय गर्दासमेत ओलीले प्रचण्डसँग परामर्श गरेका छैनन् ।

प्रचण्डले माओवादीतर्फबाट राष्ट्रिय योजना आयोगका लागि विद्यावारिधि उपाधिप्राप्त दुई व्यक्तिको नाम पनि दिएका थिए । ओलीले तिनलाई राखेनन् । माओवादी सल्लाहबिनै योजना आयोगलार्य पूर्णता दिए । समाचार अनुसार यसले प्रचण्ड रुष्ट बनाएको छ ।

राजनीतिक दबावले अनुगमन ठप्प

राजनीतिक दबावले ललितपुर महानगरपालिकामा अनुगमन रोकिएको छ । महानगरपालिका आर्थिक विकास समितिले डेढ महिनाअघि सातदोबाटोस्थित सेल्सवेरी डिपार्टमेन्ट स्टोरमा अनुगमन गर्ने तय गरेको थियो । तर योजनाअनुसार हालसम्म पनि अनुगमन गरेको छैन ।

कान्तिपुर दैनिकका अनुसार राजनीतिक दबावका कारण सेल्सवेरीमा अनुगमन रोकिएको हो । महानगरपालिकाकै अधिकारीले यो स्वीकारेका छन् । नाम चलेका स्कुल, कलेज, अस्पतालदेखि ठूला सपिङ मल, होटलसम्मले करोडौं रुपैयाँ राजश्व छली गरेका छन् । तर यिनीहरुलाई करको दायरामा ल्याउन महानगरपालिकाले जाँगर चलाएको छैन ।

काम गर्न साउदीमा, खाना खर्च नेपालबाट

वैदेशिक रोजगारदाताको बदमासीका कारण १ नेपाली साउदी अरेबियामा अलपत्र परेका छन् ।

काभ्रे बनेपाका राजकुमार तिमिल्सेना साउदीमा अलपत्र परेका हुन् । उनी अलपत्र परेपछि परिवारले नेपालबाट खाना खर्च पठाइरहेका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार इनिसियल साउदी अरेबिया लिमिटेड नामक एक निर्माण कम्पनीमा काम गर्न गएका उनी मंसिरसम्म त्यहीँ कार्यरत थिए । ०७३ मा अन्तिमपटक तलब बुझेका राजकुमारले त्यसयता तलब पाएका थिएनन् । ०७४ मा उनले काम गर्दै आएको कम्पनी बन्द भयो । त्यसपछि कम्पनीका मालिक सम्पर्कविहीन भए । मालिक नै सम्पर्कमा नभएपछि उनी नेपाल फर्कन चाहन्थे तर एक्जिट भिसासमेत लगाउन नपाउँदा उनी स्वदेश फर्किन सकेका छैनन् ।
उनी श्रीमतीले पठाएको खर्चमा बाँचिरहेका छन् ।

मोदीको अभिनन्दन नागरिक नभएर नगर !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको क्रममा गरिने भनिएको अभिनन्दन नागरिक नभएर नगर अभिनन्दन रहेको सरकारले स्पष्ट पारेको छ ।

नागरिक अभिनन्दनका नाममा सामाजिक सञ्जालमा चकोृ आलोचना भएपछि सरकारले नागरिक नभएर नगर अभिनन्दन गर्न लागेको राजधानी दैनिकमा खबर छ ।

संसदको बुधबारको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस विषयमा स्पष्ट पारेका छन् ।

बिचौलियाले नै खान्छन् ३ सय प्रतिशत नाफा

राजधानी दैनिकले कृषिउपजहरुमा व्याप्त बिचौलियाबारे समाचार छापेको छ । समाचार अनुसार बिचौलियाले कृषकको सामान सस्तोमा किनेर तीन सय प्रतिशतसम्म नाफा खान्छन् ।

राजधानीका अनुसार किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब ३ सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ ।

संसद् भवनमा ईश्वरको खोजी !

प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधबार सरकारले पेश गरेका ३ वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका नेमकिपाका सांसद सुवालले संसदमा ईश्वरको खोी गरेका हुन् ।

नागरिक दैनिकका अनुसार, मुख्यतः शपथको भाषामा ईश्वरका नाममा शपथ खानेछु भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै सरकारले ईश्वर खोजिदिनुपर्ने मा गरेका हुन् ।

‘जब शपथमा देश र जनताको नाममा भनिसकेपछि ईश्व्रको नाममा किन खानुपर्यो ? जसलाई ईश्वर छ भन्ने विश्वास छ त्यसले यहाँ छन् भनेर देखाउनु पर्यो नत्र त्यो प्रावधान हटाउनुपर्यो’, संसदमा सुवालले व्यक्त गरेको भनाइ उद्धृत गर्दै नागरिकले लेखेको छ, ‘नत्र सरकारले ईश्वर खोजेर ल्याइदिनुपर्यो ।’

हेर्नुहाेस् पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment