+
+

तीन अमेरिकी उत्तर कोरियाबाट छुटे, ट्रम्प-किम भेटवार्ताको दिन र ठाउँ तय

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २७ गते १२:१४

२७ वैशाख, काठमाडौं । उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई रिहा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेता किम जोङ्ग उनले भेटवार्ता गर्ने मिति र स्थान निश्चित भएको बेला उत्तर कोरियाले अमेरिकी नागरिकहरुलाई मुक्त गरेको हो ।

उत्तर कोरियाको यस कदमलाई ऐतिहासिक भेटवार्ता अघिको सुखद संकेतको रुपमा लिइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ्ग उनसँगको भेटवार्ता र तीन अमेरिकी नागरिक रिहा भएको जानकारी आफैले टि्वटरमार्फत दिएका छन् ।

उनले टि्वट गरेका छन्, ‘मलाई यो जानकारी दिँदा निकै खुसी लागेको छ कि विदेशमन्त्री माइक पोम्पियो यतिबेला उत्तर कोरियाबाट फर्किने विमानमा छन् र उनको साथमा तीन अमेरिकी नागरिक पनि छन् । उनीहरुलाई भेट्न सबैजनाले व्यग्र प्रतिक्षा गरिरहेका छन् । उनीहरु सबैको स्वास्थ्य ठीक छ । यसका साथै किम जोङ्ग उनसँग भेटवार्ता गर्ने दिन र स्थान पनि तय भएको छ ।’

ट्रम्प र किमबीच १२ जुनमा सिंगापुरमा भेटवार्ता हुने छ ।

को हुन् रिहा भएका तीन अमेरिकी ?

उत्तर कोरियाले किम हक सोङ्ग, टोनी किम र किम डोङ्ग चुललाई मुक्त गरेको हो । यी तीनैजनालाई देश विरोधी गतिविधिमा सामेल भएको आरोपमा पक्राउ गरिएको थियो । उनीहरुलाई लेबर क्याम्पमा राखिएको थियो । उनीहरुलाई ट्रम्पले एन्ड्र्यु एयरफोर्स बेसमा स्वागत गर्नेछन् ।

ट्रम्पले अमेरिकी नागरिक रिहाइ गरेकोमा किम जोङ्ग उनको सराहना गरेका छन् ।

किम हक सोङ्ग

किम हक सोङ्गलाई मे २०१७ मा शंकास्पद गतिविधि गरेको आरोपमा उत्तर कोरियाले पक्राउ गरेको थियो । यसअघि उनले क्रिश्चियन मिशनरीको मान्छे भनेर परिचय दिएका थिए । उनले प्योङयाङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा एक फर्म शुरु गर्न चाहेको बताएका थिए ।

टोनी किम

टोनी किमको दोस्रो नाम किम सङ्ग डक हो । उनी पनि प्योङयाङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा काम गर्दथे । उनलाई अप्रिल २०१७ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । दक्षिण कोरियाली मिडियाका अनुसार टोनी किम उत्तर कोरियामा समाज सेवाको पनि काम गर्दथे ।

किम डोङ्ग चुल

किम डोङ्ग चुल ६० वर्षको उमेरको शुरुआतमा एक पादरी थिए । उनलाई सन् २०१५ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । उनलाई १० वर्षसम्म कडा कारावासको सजायँ सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?