Comments Add Comment

छोरीको बालविवाह गराउन खोजेको आरोपमा बाबु पक्राउ

२७ वैशाख, वीरगञ्ज । पर्सा प्रहरीले बालविवाह गराउन लागेको आरोपमा एक अभिभावकलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका-१७ कोन्हिया टोला बस्ने ५५ वर्षीय सत्यनारायण मुखियालाई पक्राउ गरेको हो ।

उनले १६ वर्षीया छोरी गायत्री कुमारीको विवाह बाराको प्रसौनी गाउँपालिकाको नकटुवा बस्ने महन्थ मुखियाको छोरा परमा मुखियासँग गर्ने तय गरेका थिए । २७ गते कथा मटकोर र २८ गते विवाह तय भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले सत्य नारायणलाई बालविवाह उद्योगको मुद्धा दर्ता गरिएको जानकारी दिए । ‘बालविवाह हुन लागेको जानकारी हामीले पायौं, त्यसपछि मुखियालाई पक्राउ गरेर कारबाही पक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘जिल्ला अदालत पर्साबाट ४ दिनको म्याद थप भएको छ । थप अनुसन्धान गर्दैछौैं ।’

प्रहरीले सत्य नारायणको भतिजा पर्ने अर्को एक युवकलाई पनि नियन्त्रणमा लिएको भएपनि सोधपुछ पछि छोडिदिएको छ ।

सत्यनारायण मुखियाको ६ जना छोरीहरु मध्ये तीन वटाको विवाह भईसकेको छ भने चौथी गायत्रीको विवाह रोकिएको छ ।

बालविवाहमा गराउन खोज्ने केटा पक्षलाई पनि बारा प्रहरीले खोजी गरिरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

यसरी रोकियो बालविवाह

कोन्हिया टोलामा बाल विवाह हुँदैछ भन्ने कुरा वीरगञ्जमा क्रियाशिल सामाजिक अभियन्ताहरुले वैशाख २५ गते नै जानकारी पाए ।

बालविवाह तथा दाइजो उन्मुलन राष्ट्रिय अभियान पर्साका संयोजक प्रकाश थारु, दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चकाका संयोजक वृजेश चौधरी, शैलेन्द्र त्रिपाठी लगायतको टोली बैशाख २६ गते कोन्हिया टोल पुग्यो ।

सम्झाउने उद्देश्यले विवाह गराउन खोज्ने अभिभावकसँग कुरा गर्न खोज्दा सत्यनारायण वीरगञ्ज गएको जानकारी दिइयो ।

गायत्रीकी आमा घरमै भएपनि सामाजिक अभियन्ताहरुको सम्पर्कमा आउन चाहिनन् । केटीको काका बुधन मुखियाँसँग कुराकानी गर्दा कुनैपनि कुरा खुलाएनन् । ‘हामी पाँच भाईको १२ धुर जमिन छ । राति उठेर कामाउन जाने अनि त्यही कमाईले परिवारको पेट पाल्ने हो,’ उनले भने, ‘ नकमाए खान नपाउने अवस्था रहेकोले घरको बारेमा खासै जानकारी हुँदैन ।’

गाउँलेहरुले पनि विवाहको कुरा छिनिसकेकोले विवाह रोक्न नहुने तर्क गरे । ‘पहिला त बाल विवाहका बारेमा कोहि पनि कुरै गर्न मानेन् । त्यसपछि म एक्लै विवाह हुन लागेको घरमा गएर सम्झाउने कोशिश गरे । तर, उनीहरुले गलत केटी देखाएर र गलत सूचना दिएर अल्झाउन खोजे । विवाहको सारीमा रहेकी गायत्रीको कपडा समेत फेराइसकेछन्,’ सामाजिक अभियन्ता थारुले भने, ‘एक सातापछि विवाह हुन लागेको, केटिको उमेर १८ वर्ष पूरा भएको जस्ता कुराहरु आए, गायत्रीले समेत बालविवाह हुन लागेको अश्विकार गरिन् । र्फकने क्रममा विवाहको तयारी हुँदै गरेको घरमा विवाहको निम्तो कार्ड भेटियो ।’

उनका अनुसार त्यही कार्डकै आधारमा विवाह २८ गते हुन लागेको तथ्य खुलेको थियो ।

स्रोतका अनुसार विवाहमा दाइजोको रुपमा नगद १० हजार, एक थान साइकल, भाँडा कुँडा दिने सहमति भएको थियो ।

सम्झाउँदा अभिभावक र गाउँले तयार नभएपछि प्रहरीकोमा जानुपरेको अर्का सामाजिक अभियन्ता वृजेश्वर चौधरीले बताए । ‘सामाजिक कुरीतिविरुद्धको अभियानमा लागेका हामीले बालविवाह आँखै अगाडि हुन लागेपछि कसरी चुप बस्ने ?’ उनले भने ‘सम्झाउने कोशिस गर्दा नमानेपछि प्रहरीकोमा जानुपर्ने अवस्था आयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment