Comments Add Comment

कर्मचारी नियुक्ति गर्दा छिर्केमिर्के मापदण्ड हुँदैनः मन्त्री लालबाबु पण्डित

२८ वैशाख, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले छिट्टै प्रादेशिक लोकसेवा आयोग गठन गरेर आवश्यक कर्मचारी नियुक्ति गरिने बताएका छन् ।

जताजतै कर्मचारी अभावका कुरा आइरहेको समयमा उनले प्रादेशिक लोकसेवा आयोग गठन गरेर राष्ट्रिय मापदण्ड अनुसार नै कर्मचारी नियुक्ति गर्ने बताए ।

वीरगञ्ज महानगरपालिकाको कार्यालयमा पर्सा जिल्लामा रहेका विभिन्न सरकारी निकायका कर्मचारीसँगको भेटघाटमा मन्त्री पण्डितले भने, ‘गाउँको एउटा मापदण्ड, नगरको अर्को मापदण्ड हुन दिँदैनौं, कामको प्रकृति अनुसार केही फरक होला तर नियुक्तिको सवालमा एकै मापदण्ड हुन्छ,’ उनले भने, ‘केन्द्रीय लोकसेवा जस्तै विश्वसनीय काम गर्ने प्रदेश लोकसेवा आयोग गठन हुन्छ । छिर्केमिर्के मापदण्ड हुँदैन । राष्ट्रिय मापदण्ड अनुसार नै नियुक्ति गर्ने तयारीमा छौं ।’

वर्तमान परिस्थितिमा केन्द्रीय सरकारले स्थानीय तहमा दक्ष जनशक्ति पठाउन सक्ने अवस्था नरहेको उनले प्रष्ट पारे । ‘स्थानीय तहमा दक्ष जनशक्ति आवश्यक छ तर पठाउन सक्ने अवस्थामा सरकार छैन ।’ मन्त्री पण्डितले भने, ‘विगतमा भिआर एस जहाँ जहाँ पठाईएको व्यक्तिलाई बढी लाभ भयो होला संस्था कमजोर भएको छ । अहिलेको सरकार त्यसरी कर्मचारी पठाउने पक्षमा छैन ।’

स्थानीय तहमा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले समन्वय गरेर काम गर्नुपर्ने अवस्था अहिले रहेको उनले बताए । ‘स्थानीय तहमा संयमता अपनाउन पर्ने चुनौती छ एकतिर दुरदर्शी बन्नुपर्ने होला, अर्कोतिर जनप्रतिनीधि र राष्ट्र सेवक मिलेर काम गर्नुपर्ने छ,’ उनले भने, ‘कर्मचारीहरुले नियम कानून संगतका कुरा बुझाउनुपनि पर्छ । ऐन कानून विपरीत छ भने आफू फस्ने संभावना हुन्छ । त्यसो नगर्नु । नयाँ भर्ना गर्छु, मैले जे भन्छु त्यसलाई मान्नुपर्छ भन्छन भने त्यो सिधै अख्तियार र जेल जाने बाटो हो । अहिलेका लागि उत्स्ााह त ठिकै होला तर पछिसम्म त्यो कागजले लखेटिरहन्छ ।’

जहाँ जस्तो प्राविधिक कर्मचारी आवश्यक छ त्यस्तै खालको कर्मचारीको नियुक्ति गर्ने उनको भनाइ छ । ‘काठमाडौं महानगरपालिकामा माछा विज्ञ पठाइदिएको कुरा विगतमा आयो । अब हामी त्यसो गर्दैनौं,’ उनले भने, ‘जहाँ जुन प्राविधिक जनशक्तिको आवश्यकता छ त्यहाँ त्यसैलाई पठाउँछौं । जहाँ बाली विज्ञको आवश्यकता पर्छ, जहाँ वागवानी विज्ञको आवश्यकता छ त्यही पठाउने कोशिसमा छौं ।’

समस्यालाई बोझको रुपमा लिएर हतोत्साहित नहुन आग्रह गरे । ‘समस्यालाई बोझको रुपमा नलिनुहोला, समस्याले समाधानको बाटो लिएर आएको हुन्छ । समस्या समाधान गर्न सहयोग गर्ने जिम्मेवारी मेरो हो । राम्रो कुरा छ भने मद्दत गर्छु, खराब कुरा छ भने निरुत्साहित गर्छु,’ उनले भने, ‘अप्ठेरो पर्दा समन्वय गरेर काम गर्नुस ।’

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले जिल्लामा आइपरेको समस्या आपसी समन्वयमा समाधान गर्ने त्यसो हुन नसकेको अवस्थामा माथिल्लो निकाय समाधान खोज्ने बताए ।

उनले प्रादेशिक लोक सेवा आयोग गठन भएर प्रादेशिक कर्मचारी नआएसम्म केन्द्र सरकारले पठाएका कर्मचारीहरुको सहयोग लिएर पूर्वाग्रही नभई कार्यसम्पादन गर्न आग्रह गरे ।

मन्त्री लालबाबु पण्डितले आजै पार्टी कार्यालयमा पुगेर नेता कार्यकर्ताहरुसँग भेटघाट समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment