Comments Add Comment

मोदीले मैथिली बोल्दा मैथिलीभाषी खुशी

२९ वैशाख, जनकपुर । ‘राजर्षि जनक आ जगत् जननी माँ जानकी के पवित्र भूमि, गौरवशाली इतिहास भेल मिथिलाक सांस्कृतिक राजधानी ई जनकपुरधाम में हमरा न्योत दक बजेलौं आ ई सम्मान देलौं एकरा लेल हम सम्पूर्ण मिथिलावासी, जनकपुरवासी, आ प्रदेश नम्बर दु के सम्पूर्ण जनता के नमन करैत हार्दिक आभार व्यक्त करै छी’

जय सियारामको नारा लगाएर बोल्न शुरु गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्तव्यको शुरुमै मैथिली भाषामा बोलेर जनकपुरबासीलाई धन्यवाद दिए, ‘निमन्त्रणा दिई बोलाएर सम्मान गरेकोमा ।’

यसपछि उनले मिथिला क्षेत्रको वर्णन यसरी गरे, ‘पग पग पोखरि माछ मखान, सरस बोल मुस्की मुहँ पान । विद्या वैभव शान्ति प्रतिक, सरस क्षेत्र मिथिलाञ्चल थिक ।’

अर्थात् ठाउँ ठाउँमा हुन्छ पोखरी, पालिन्छ माछा र उत्पादन गरिन्छ मखान । राम्रोसँग बोली बाोलिन्छ सबैको मुखमा हुन्छ पान । सबैसँग विद्या, वैभव हुन्छ । र, सबै शान्तिका प्रतिक हुन्छन् । यही नै हो मिथिला ।’

नागरिक अभिनन्दन कार्यक्रममा मोदीले जनकपुरलाई बारम्बार मिथिला भनिरहे । एक पटक तराई शब्दको प्रयोग गरेका उनले मधेश भन्दै भनेनन् । जबकी नागरिक अभिनन्दन कार्यक्रम सञ्चालन गरिरहेका प्रदेशका भौतिक योजना मन्त्री जितेन्द्र सोनल र मुख्यमन्त्री लालबाबु राउतले मधेश र मधेसी भनिरहे ।

‘राजा जनकको राजधानी, जगत् जननी सीताको पवित्र भूमिमा आउने सोच धेरै पहिलादेखि नै थियो, तर आउन नसकिएको बताउँदै उनले आएर सीता माताको दर्शन गर्ने सौभाग्य प्राप्त भयो’ मोदीले भनेका छन् ।

मिथिला संस्कृति संस्कारकै सबैभन्दा राम्रो संस्कृति हो, भारतीय प्रधानमन्त्री मोदीले भने, ‘आफू जनकपुर आउँदा सबैथोक आफ्नोजस्तै लाग्यो ।’ मिथिलाको संस्कृति, मिथिलाको लोक कला, मिथिलाको स्वागत सम्मान सबै अद्भुत रहेको भन्दै उनले संसारमै मिथिला संस्कृतिको स्थान धेरै माथि रहेको बताए ।

उनले मिथिला पेन्टिंगको पनि प्रसंसा गरे । ‘मिथिला पेन्टिंग र कला विश्वमा प्रसिद्ध छ, उनले भने, ‘जसरी आफ्नो कला उतार्न मिथिला क्षेत्रका महिलाहरु अगाडि बढिरहेका छन्, त्यो राम्रो कुरा हो । महिलाका हातहरु आफ्नो मिथिला कलामा अझै चल्नु आवश्यक छ ।’ मिथिलाका महिलाले आफ्नो संस्कृतिप्रति, आफ्नो भाषाप्रति, आफ्नो मूल्य मान्यताप्रति, आफ्नो संस्कारप्रति धेरै नै सजग र सचेत रहन गरेको बताउँदै भने, ‘समाजका अन्य वर्गका महिलाहरुले मिथिलाका महिलाहरुले प्रेरणा लिने गर्दछ ।’

सीमा बाँडिएपनि संस्कार, परम्परा एउटै

भारतीय प्रधानमन्त्री मोदीले भगवान राम जनकपुरधाममा आएर धनुष तोडेको सबैलाई थाहा भएको कुरा भएको उल्लेख गरे । ‘सारा संसारमा यस्तो घटना पहिलो पटक भएको थियो, जुन शस्त्र रूपी धनुषलाई तोडेर एक नयाँ सम्बन्ध जोडिएको थियो, उने भने, अयोध्या र जनकपुरधामको सम्बन्ध अर्थात् अहिलेको नेपाल र भारतवर्षको सम्बन्ध त्यही युगदेखि चल्दै आएको छ ।’

धनुष तोडेर प्रेम सम्बन्ध जोडियो । ‘धनुष टुट्नु भनेको सशस्त्र टुटनु हो’ मोदीले अघि भने, ‘राम सीताको मिलन प्रेमको द्योतक हो । यो मात्र दुई आत्माको मिलन थिएन्, यो त दुई राज घरानाको मिलन पनि होइन्, बल्कि दुई संस्कृतिको मिलन थियो ।’

भारतको अयोध्या र अहिलेको नेपालमा रहेका मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधामको सम्बन्ध त्यहीं बेलादेखि रहँदै आएको उनले बताए । दुबै देशकोबीच पारिवारिक, वैवाहिक सम्बन्ध त्यहीं बेलादेखि रहँदै आएको बताउँदै मोदीले थपे, ‘रामायण कालमा जनकपुरको, महाभारत कालमा विराटनगरको, त्यसपछि सिम्रौनगढको, बुद्धकालमा लुम्बिनीको यो सम्बन्ध युगौंयुगदेखि चल्दै आएको छ ।’

उनले राजनीतिक रूपमा हामी सीमामा बाँटिएपनि पारिवारिक, धार्मिक, सांस्कृतिक रूपमा हामीबीच कुनै अन्तर नभएको सुनाए । ‘यसै कारण दुई देशको सम्बन्ध पूरै संसारमा अद्वितीय र अतुलनीय छ’ उनले भने ।

त्रेतायुगले बनाएको सम्बन्ध कायम रहोस्

भारतीय प्रधानमन्त्री मोदीले त्रेतायुगमा मिथिला क्षेत्रले नै नेपाल र भारतको सम्बन्ध गाँसिएको इतिहास सुनाए ।

त्रेतायुगमा मिथिलाका राजा जनक र अयोध्याका राजा दशरथले दुबै देशको सम्बन्ध जोडेको स्मरण गराउँदै मोदीले भने, ‘राजा जनक र दशरथले आफ्नो तथा मिथिलाको सम्बन्ध मात्र जोडेनन् नेपाल र भारतलाई नै सम्बन्धमा बाँधे ।’

मिथिलाका राजा जनकको बारेमा चर्चा गर्दै मोदीले राजा जनक प्रजाको प्यारो राजा रहेको सुनाए । राजजा जनकलाई प्रजा नै प्यारो थियो । उनलाई आफ्नो परिवार र आफन्तसँग कुनै मतलव थिएन्, उनले भने, यसैले उनलाई विदेह पनि भनिन्थ्यो ।’

विदेहको अर्थ आफ्नो देह (शरीर) सँग पनि कुनै मतलव नरहनु भएको उनले उल्लेख गरे । राजा जनकको दरबारमा अष्टाबक्र जस्तो विद्वान र गार्गी जस्ता विदुषी रहनुले शासनको साथ साथै विद्वता, आध्यात्मलाई पनि महत्व दिइएको पुष्टि गरेको उनले बताए । राजा जनकको दरबारमा लोक कल्याणकारी नीतिमाथि विद्वानबीच बहस हुने गरेको र राजा जनक स्वयं बहसमा सहभागी हुने गरेको इतिहास कोट्याउँदै मोदीले त्यहाँबाट आउने निष्कर्ष प्रजाको हितमा र देशको हितमा लागू गर्ने गरिएको सुनाए ।

अर्थात् सामूहिक निर्णय लिने प्रक्रिया, लोकतंत्रको यस्तो अभ्यास त्यहीं समयदेखि हुँदै आएको उनले सुनाए । लोकहितमा शासन व्यवस्था चलाउनुछ भने अहिलेको सबै शासक वर्गलाई राजा जनकबाटै प्रेरणा लिनुपर्ने भन्दै मोदीले भने, ‘म स्वयं उनीबाटै प्रेरणा लिदैं आएको छु ।’

भने, ‘व्यक्ति सरकार आउँदै, जाँदै गर्छ । तर, यो सम्बन्ध कायम रहँदै अमर रहनेछ ।’ उनले दुबै देशबीच बन्धुत्व थप मजबुत बनाउन एकअर्काको देशमा नियमित आवतजावत गरिरहनुपर्नेमा जोड् दिए ।

मोदीप्रति खुशी, आफ्नैप्रति दुःखी

भारतीय प्रधानमन्त्री मोदीले चार लाइन भएपनि मैथिली बोल्दा यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । यद्यपि आफ्नै मुख्य मन्त्री र मन्त्रीहरुले हिन्दी भाषाको प्रयोग गरेकोमा धेरेले असन्तुष्टि जनाएका छन् ।

‘प्रदेश २ मूलतः मैथिली, भोजपुरी भाषी प्रान्त हो साहित्यकार तथा कलाकार धिरेन्द्र प्रेमर्षीले भनेका छन्, तर मोदीजीको अभिनन्दन समारोहमा आफ्नो मन्तव्य दिदैं संघ र प्रान्तकका कुनै जनप्रतिनिधि यो दुबै भाषाको प्रयोग गर्नुभएन् ।’

उनका अनुसार धन्य मोदीजी केहि शब्द र उक्ति मैथिलीमा बोलेर यहाँको माटोको भाषाको मान राखे ।

मैथिली साहित्य परिषद् राजविराजका पूर्व अध्यक्ष शुभचन्द्र झा मैथिली संस्कृतिबारे चर्चा गरेर मोदीज्यूले मैथिली भाषाको विकासमा टेवा पुर्याएको धारणा दिन्छन् । उनले यो क्षेत्र मिथिला क्षेत्र नै भएको र यो कुरा मोदीले पनि पुष्टि गरेको बताए ।

मैथिली भाषाका साहित्यकार करुणा झाले नेपालमै दोस्रो बढी भाषा बोलिने मैथिली नै भएको बताउँदै मोदीले मैथिलीमा चार शब्द बोलेर मैथिली संस्कृतिप्रति चर्चा गरिदिनु मैथिली भाषाको विकास भएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment