Comments Add Comment

विद्यार्थी अभावमा रूकुमको एक विद्यालय बन्द

प्रतीकात्मक तस्वीर

३० वैशाख, रुकुम । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका – ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो ।

शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन । यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना हुन जाने र यहाँ भर्ना हुन नआएपछि यहाँको विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

यहाँका विद्यार्थी मुसीकोट नगरपालिका वडा नं ५, सेरीगाउँमा रहेको यमुना नन्द माध्यमिक विद्यालयमा भर्ना हुने गरेका छन् । यहाँबाट सेरीगाउँ आउन आधा घण्टाभन्दा कम समय लाग्ने गरेको छ । यहाँको पढाइ गुणस्तरीय नहुँदा विगत वर्षहरुमा पनि विद्यार्थी कम हुने गरेको स्थानीयवासीको भनाइ छ ।

यो विद्यालयको समायोजन हुने हल्लाले यहाँका विद्यार्थी छिमेकी विद्यालयमा भर्ना हुन गएका यहाँकी शिक्षिका यमुना चन्दले जानकारी दिइन् ।उनका अनुसार बालविकास केन्द्रमा पाँचजना मात्र बालबालिका भर्ना भएका छन् । विद्यालय बन्द भएपछि उनीहरु विद्यालय आउन सकेका छैनन् ।

नगरपालिकामा वैशाख २ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गरिएको थियो । वैशाख महिनाभरि विद्यार्थी भर्ना गर्न सकिने मुसिकोट नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । भर्ना अभियानसमेत प्रभावकारी नहुँदा यहाँका विद्यार्थी अन्य विद्यालयमा गएको बताइएको छ ।

यो विद्यालय ०५२ सालमा स्थापना गरिएको थियो । यहाँ बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो । विद्यालयमा प्राथमिक तहका स्थायी दरबन्दी तीन, बालविकास केन्द्रका लागि एक र कार्यालय सहयोगी एकजना कार्यरत छन् ।

यहाँ नगर शिक्षा समितिले समेत अनुगमन गर्दा विद्यालय बन्द थियो । विगतमा नक्साङ्कन नगरी धमाधम विद्यालय सञ्चालन गर्दा यस्तो समस्या आएको नगर शिक्षा समितिका शाखा अधिकृत विनाराम खड्काले जानकारी दिए । उनका अनुसार विद्यालय सञ्चालन गर्दा नक्साङ्कन जरुरी छ । यस विद्यालयलाई समायोजन प्रक्रियामा लिने नगर शिक्षा समितिका शाखा अधिकृत खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment