Comments Add Comment

देश तस्कर र माफियाको हातमा छः गृहमन्त्री बादल

'गुन्डाहरुको लिस्ट तयार हुँदैछ'

गृहमन्त्री रामबहादुर थापा (बादल) । तस्वीरः सुदर्शन रञ्जित/अनलाइनखबर

३१ वैशाख, पोखरा । अहिलेसम्म जनताले भन्थे, ‘यो देश माफियाको हातमा छ । सरकार तस्करले चलाउँछन् । ठेकेदारको हातमा देशको अर्थतन्त्र छ ।’ तर, अब गृह प्रशासनको नेतृत्व सम्हालेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैंले देश माफिया, ठेकेदार र तस्करको हातमा रहेको बताउन थालेका छन् ।

गृहमन्त्री थापाले देश ठेकेदार, तस्कर र माफियाको कब्जामा रहेको भन्दै  यसको अन्त्य गर्नुपर्ने बताएका हुन् । ‘देशको अर्थतन्त्र ठेकेदारको हातमा छ जसले अर्बौंको राजश्व छलि गरेका छन्,’ पोखरामा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘देश तस्करको हातमा छ जसले तस्करी गरिरहेका छन् ।’

देशमा मुठीभरको वर्चश्व रहेको भन्दै उनले आर्थिक समृद्धिको बाधक त्यही भएको बताए । हरेक क्षेत्रको एकाधिकार नतोडी समृद्धि सम्भव नभएको उनले बताएका हुन् । ‘हरेक क्षेत्रमा एकाधिकार र कालोबजारीया छ,’ थापाले भने, ‘त्यसको अन्त्यविना विकास सम्भव छैन ।’ भ्रष्टाचार र एकाधिकारको प्रणालीलाई समाप्ति गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

नेपाल विकासको दृष्टिकोणमा धेरै पछाडि रहेको थापाले बताए । ‘पछाडि पर्नुको मुख्य कारण दरिद्रता र पछौटेपन हो । जसका कारण युवा जनशक्ति पलायन छन्,’ थापाले भने, ‘सुशासन र समृद्धिविना यी युवा फर्काउन सम्भव छैन ।’

विकासको अर्को वाधक लागूपदार्थ रहेको उनले बताए । लागू पदार्थको करोबारले देशका कर्णधारहरुको भविष्य दलदलमा फस्दै गएको थापाले बताए ।

लागू औषध, भ्रष्टाचार, एकाधिकार, गुन्डागर्दी, राजनीतिक आवरणमा उच्छृंखल क्रियाकलाप गर्ने समूह अहिलेको मुख्य चुनौति रहेको प्रदेश ४ को सुरक्षा गोष्ठीमा छलफल भएको थापाले बताए ।  लागू औषध कारोबारले धेरैको जीवन बर्वाद गरेको थापाको भनाइ थियो । थापाले मन्दिरको नियन्त्रण र व्यवस्थापन गर्न गृहमन्त्रालयले  छिट्टै अभियान चलाउने बताएका छन् ।

सरकारले राजश्व नतिर्ने उद्योगी, व्यवसायी र हैकमवादीको अन्त्य गर्न चाहेको पनि गृहमन्त्री थापाले बताए । ‘विकासका लागि राजश्व नतिर्ने र हैकमवादीको अन्त्य जरुरी छ,’ गृहमन्त्री थापाले भने, ‘विकास लागि स्थायित्व चाहिन्छ र स्थायित्वका लागि दल एककठ हुन जरुरी छ । हामी एककठ हुँदैछौं ।’

विखन्डनकारी कसैलाई छोडिन्नँ

स्थायी सरकार र देश समृद्धिको बाटोमा हिँडिरहेका बेला हिंसा भड्काउने कसैलाई पनि नछोड्न आइतबार सुरक्षा बैठकमा गृहमन्त्री थापाले निर्देशन दिएका थिए ।

राजनीतिक, धार्मिक आवरणमा हिंसा भड्काउने समूहलाई पूर्ण समाप्त पार्ने उनको भनाइ थियो । ‘धार्मिक हिंसा भड्काउने काम पनि भइरहेको छ,’ माओवादी नेतासमेत रहेका गृहमन्त्री थापाले भने, ‘क्षेत्रीय नारा दिएर देश विखन्डन गर्ने काम पनि भइरहेको छ । सरकारले ति सबैलाई ठेगान लगाउँछ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला उठेको स्वतन्त्र मधेसको ब्यानर देखिएकोप्रति संकेत गर्दै थापाले भने, ‘अलग देश र विखन्डन गर्ने कसैलाई छुट छैन ।’

गुन्डाहरुको लिस्ट तयार हुँदैछ

गृहमन्त्री थापाले विकास र शान्ति सुरक्षामा बाधा पुर्‍याउने गुन्डाहरुको लिस्ट तयार भइरहेको बताएका छन् ।

महिला हिंसा, बलात्कारदेखि विकासविरोधी गुन्डागर्दी गर्ने सबैको लिस्ट तयार भइरहेको उनले बताएका हुन् । ‘गुन्डाराजको छिटोभन्दा छिटोभन्दा अन्त्य गछौर्ं,’ गृहमन्त्री थापाले भने, ‘सबै गाउँमा गुन्डाहरुको ब्ल्याक लिस्ट तयार हुँदैछ ।’

गुन्डाहरुको अन्त्य गर्ने अभियान देशव्यापी रुपमा चलाउन लागिएको थापाले बताए । प्रदेश ४ मा पनि यो अभियान चलाउन लागेको उनले बताए । गुन्डागर्दीकै करण कुनै पनि घटना वा विकास निर्माणको काम रोकिन नदिन गृहमन्त्री थापाले आइतबारको सुरक्षा गोष्ठीमा निर्देशन पनि दिएका थिए ।

सबै सिन्डिकेट अन्त्य

गृहमन्त्री थापाले देशबाट अब सबैखाले सिन्डिकेटको अन्त्य हुने बताएका छन् । ‘यातायात क्षेत्रको सिन्डिकेट तोडिइसकेको छ,’ उनले भने, ‘अब यो क्षेत्रमा आउन अरु व्यवसायीलाई पनि बाटो खुलेको छ ।’

यातायात सिन्डिकेट अन्त्यसँगै मुठीभरका व्यवसायीलाई मात्रै फाइदा पुग्ने स्थिति नरहेर अब खुला भएको उनले बताए । मिटरमा टयाक्सी चलाउने कुरा, ट्रक व्यवसायी, ट्रान्सपोर्ट लगायतका क्षेत्रमा पनि सिन्डिकेट कायमै रहेको गुनासो आइरहेकाले सबैको अन्त्य गर्ने उनले बताए । यातायात समितिको खातामा रहेको सबै रकम अब सरकारको भएको गृहमन्त्री थापाले बताए । ‘समितिका खाताबाट जति रकम निकाल्नु उनीहरुले पहिल्यै निकाले, अब त्यो रकम सबै सरकारको हुन्छ,’ गृहमन्त्री थापाले भने, ‘बिमा, सुरक्षा र क्षतिपूर्तिका विषयमा सरकारले ठोस योजना ल्याएसँगै सबै सिन्डिकेट अन्त्य हुन्छ ।’

‘बुढो नहुँदै डीआईजी बढुवा हुन्छन्’

नेपाल प्रहरीमा लामो समयदेखि बढुवा रोकिएको थियो । त्यसमा पनि डिआइजीको बढुवा लामो समयदेखि नहुँदा प्रहरीभित्र ठूलो खैलाबैला नै मच्चिएको थियोे ।

प्रहरीभित्र सबै तहको बढुवा गर्नका लागि तल्लो तहबाट बढुवाको थालनी गरिएको उनले बताए । ‘तल्लो तहबाट बढुवा थालिएको छ,’ गृहमन्त्री थापाले भने, ‘अब डिआइजीहरुको पनि बुढो नहुँदै बढुवा हुन्छ ।’

पार्टी एकताको मिति तोकिएको छैन

नेपालमा दुई वाम शक्ति मिलेर शक्तिशाली कम्युनिस्ट पार्टीको उदय हुन लागेको गृहमन्त्री थापाले बताएका छन् ।

शान्ति सुशासन र समृद्धिका लागि पार्टी एकता अनिवार्य बनेको उनले बताए । स्थायित्व र विकासका लागि दल एक कठ हुनुको विकल्प नरहेको उनको भनाइ थियो । ‘दुई पार्टीले मिलेर शक्तिशाली कम्युनिस्ट पार्टीको उदय हुँदैछ,’ गृहमन्त्री थापाले भने, ‘पार्टी एकताका सबै गृहकार्य भइरहेको छ ।’ पार्टी एकताको सबै गृहकार्य भए पनि एकताको मिति भने तय भइनसकेको उनको भनाइ थियो ।

‘यही दिन पार्टी एकता हुन्छ भनेर मैले भन्ने कुरा पनि हुँदैन, मैले भनेर पनि हुँदैन,’ गृहमन्त्री थापाले भने, ‘मिति तोकिइसकेको छैन तर पार्टी एकताका पूर्वाधार तयार भइसके ।’

गृहमन्त्री थापाले सरकार छिमेकीसँगको सम्बन्ध सुढृढ गर्ने दिशामा लागेको बताएका छन् । भारत र नेपालबीचको सम्बन्ध सुदृढ हुँदै जाने थापाले विश्वास व्यक्त गरे ।

नेपालको विकासका लागि चीनसँगको सम्बन्ध पनि सुदृढ हुनुपर्नेमा उनको भनाइ थियो । ‘नेपालको विकासका लागि चीनसँगको सम्बन्ध पनि सुदृढ हुनु जरुरी छ,’ गृहमन्त्री थापाले भने, ‘अब छिट्टै नेपालका प्रधानमन्त्रीको चीन भ्रमण हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment