Comments Add Comment

औषधिको मूल्यमा एकरुपता ल्याउने स्वास्थ्य राज्यमन्त्री अर्यालको उदघोष

३१ वैशाख, पोखरा । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले सबै औषधि पसलमा औषधिको मूल्यमा एकरुपता बनाउने उदघोष गरेकी छन् ।

नेपाल औषधि ब्यावसायी संघ गण्डकीले गरेको सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री अर्यालले औषधिमा फरक-फरक मूल्य हुँदा उपभोक्ता ठगिने गरेकाले सबै औषधि पसलमा एकै खालको औषधिको मूल्य समान बनाउनका लागि आफूले कदम चाल्ने बताएकी हुन्  ।उनले भनिन्, ‘सबै औषधि पसलमा एकै प्रकारका औषधिको मूल्य समान बनाउने मन छ, त्यसका लागि कदम चाल्ने योजनामा छु, तपाईंहरुको सहयोगको अपेक्षा गर्छु ।’

उनले औषधिको दर रेटमा एकरुपता बनाउन मन भएपनि सफल हुने भए मात्र हात हाल्ने नत्र त्यसमा हात हालेर गिजोलेर मात्र छोड्ने मनसाय नभएको भन्दै यसमा औषधि व्यावसायीको धारणा के हो ? भनेर प्रश्नसमेत सोधिन् ।

मन्त्री अर्यालले सबै नेपालीको बिमा गर्ने नीति सरकारले ल्याउन लागेको बताइन् । हुनेले धेरै र नहुनेको सरकारले बिमा गरिदिने नीति अवलम्वन गरिने बताउँदै भनिन्, ‘विमाका लागि धनीले धेरै पैसा तिर्ने, कम पैसा हुनेले कम पैसा तिर्ने र नहुनेको राज्यले दायित्व बोकेर बिमा गर्ने नीति ल्याउँदैछौं ।’

पैसा नहुनेको पहिचान गरिबी कार्डबाट गरिने बताउँदै उनले गरिबी परिचय कार्ड ३३ जिल्लामा वितरण भइसकेको र बाँकी जिल्लामा चाँडै गरिने जानकारी दिइन् ।

मन्त्री अर्यालले एकीकृत विशेषज्ञ सेवा सञ्चालनको पक्षमा आफू रहेको बताइन् । विशेषज्ञ सेवा विकेन्दि्रकृत हुँदा जनताले समस्या भोग्नुपरेको बताउँदै उनले भनिन्, ‘एउटा विशेषज्ञ सेवा पोखरामा, अर्को भरतपुरमा, अर्को काठमाडौंमा अनि अर्को चाहिँ बुटवलमा हुँदा जनताले समस्या भोगे, अब एकै ठाउँबाट सबै विशेषज्ञ सेवा दिने एकीकृत विशेषज्ञ सेवा दिनुपर्छ भन्ने निश्कर्षमा म पुगेको छु ।’

मन्त्री अर्यालले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खर्चिने तलब भत्ता, त्यसको सिनेट बस्दा दिइने भत्ता, यातायात खर्च, खाने बस्ने सुविधालगायतमा वार्षिक रुपमा करोडौं खर्च हुने भन्दै त्यसले लाखौं जनतालाई निःशुल्क औषधि वितरण गर्न सकिने भन्दै अब त्यसलाई छाता प्रतिष्ठान बनाएर कटौति भएको खर्च जनताको स्वास्थ्य सेवामा प्रयोग गर्ने बिचारमा आफू रहेको बताइन् ।

अर्यालले चिकित्सक र बिरामीवीच कसरी भेट गराउन सकिन्छ भन्नेबारेमा आफूले योजना बनाइरहेको भन्दै २ बजेपछि चिकित्सक नबस्ने प्रवृत्तिको अन्त्यका लागि प्रयास गरिरहेको बताइन् । त्यसको पहिलो प्रयासका रुपमा वीर अस्पताललाई सुधार गरिरहेको बताउँदै उनले त्यसका लागि आफू १/२ दिन बिराएर त्यहाँ गएर अनुगमन गर्नेगरेको उल्लेख गरिन् ।

सो अवसरमा औषधि ब्यवसायीको तर्फबाट गण्डकी शाखा अध्यक्ष रामबहादुर केसी, निवर्तमान अध्यक्ष यामनाथ पौडेल, सचिव कृष्ण पाण्डेलगायतले स्वास्थ्य क्षेत्रमा रहेका विकृति हटाउन आफूहरुको सहयोग रहने भन्दै औषधि पसलमा बस्ने परिवारका सदस्यका लागि औषधि बिक्रेता सहयोगी तालिम दिने ब्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment