Comments Add Comment
मदन-आश्रित स्मृति दिवस :

दासढुंगा दुर्घटनापछि अमर लामाले गरेको त्यो पहिलो फोन

२०५० साल जेठ २ गते, साँझ छ बजेर केही मिनेटमात्र भएको थियो । नारायणगढको पुलचोकमा एकजना अधवैंशे मानिसले गाडीबाट ओर्लेर हस्याँङ्फस्याँङ गर्दै टेलिफोन खोज्न थाल्यो । त्यतिवेला अहिलेजस्तो हातहातमा मोबाइल थिएन, ल्याण्डलाइनकै भर, त्यो पनि कतैकतैमात्र । उनी पुलचोकको एउटा कोल्डस्टोर, जसले टेलिफोन सेवा दिने गरेको थियो, मा पुगेर एसटीडी गरौं है ? भनेर सोधे । पसलेले गर्नुस् भनेपछि उनले दुई-तीन वटा नम्बरमा फोन डायल गरे ।

‘कमरेड, म अमर लामा । हाम्रो गाडी दासढुंगा भन्ने ठाउँबाट त्रिशूलीमा खस्यो । कमरेड मदन र जीवराज पनि गाडीमै हुनुहुन्थ्यो, गाडी बेपत्ता छ । गाडी पल्टँदा म चाँही पाखामा खसेछु । अहिले नारायणगढको पुलचोकमा आएर फोन गरेको ।’

उसले एक श्वासमा भन्न भ्यायो । उसले कोसँग कुरा गरेको हो र उताबाट के भने मैले बुझ्ने कुरा भएन ।

दिउसोदेखि नै पानी पर्लाजस्तो भएर दिन घुर्माइलो थियो । दुर्घटनाको समाचारले मनमा नरमाइलो लाग्यो तर मैले घटनाको बारेमा खासै चासो दिइनँ । साँझ पर्न लागेकाले घर जान हतार थियो । त्यसैले म सरासर अफिस फर्किएँ । अफिस फर्कनासाथ दासढुंगा दुर्घटनामा नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित परेको थाहा पाएँ । त्यो सुनेपछि म स्तब्ध भएँ । केही मिनेटमै नेकपा एमाले चितवनका नेता देवी ज्ञवाली आइपुग्नु भयो ।

त्यतिबेला अहिलेजस्तो बाक्लो सवारीसाधन थिएनन् । सबैका घरमा साइकल हुन्थे, मोटरसाइकल कसैकसैको मात्र । गाडी हुनेहरु त औंलामा गन्न सकिन्थे । हामीहरु साइकल चढ्थ्यौं, साइकलमा दासढुंगा पुग्न कम्तीमा पनि एक घण्टा लाग्थ्यो । देवीजीलाई जतिसक्दो छिटो दासढुंगा पुग्नु थियो । हाम्रो अफिसमा मोटरसाइकल थियो तर देवीजीले मोटरसाइकल चलाउन नजान्ने । म पनि सिकारु, लाइसेन्स पनि थिएन । हाम्रो अफिसकै साथी भीम पाण्डे, देवी ज्ञवालीलाई पुर्‍याउन दासढंुगा जानुभयो ।

आफूलाई मनपर्ने नेता दुर्घटनामा परेको कुरा सुन्दा कतिखेर दासढुंगा पुगौंजस्तो भयो, तर त्यहाँ पुग्ने हामीसँग अरु कुनै उपाय थिएन । अफिस बन्द गरुन्जेलमा झमक्क साँझ परिसकेको थियो त्यसैले मन अमिलो बनाउँदै घरतिर लाग्नु पर्‍यो । घटनाबारे साँझ रेडियोले केही भन्ला कि भनेर सुनियो । रेडियो नेपालले नेता चढेको गाडी दुर्घटना भएको र अरु कुरा पत्ता नलागेको बतायो । अहिलेजस्तो छिनछिनमा समाचार दिने एफएम रेडियो, अनलाइन सेवा र टेलिभिजनहरु थिएनन् । बीबीसी सुन्न पनि धौधौ पर्थ्यो । त्यो दिन बीबीसीले पनि खासै समाचार दिएन ।

२५ वर्षको अवधिमा नेकपा एमाले पटकपटक गरेर १० पटकसम्म सरकारमा गएको छ । तर आफ्ना प्रिय नेताको रहस्यमय मृत्युको कारण खोज्ने काम भएको छैन

रातभरी छटपटी भइरहृयो, नेताहरुलाई के भयो होला ? मनमा अनेकन आशंकाहरु खेलिरहृयो । रातमा अबरेसम्म निद्रा पनि लागेन । विहानपख झिमिक्क निदाइएछ, उठ्दा घाम छिप्पिसकेको थियो । आमाले दिनुभएको एक गिलास दूध र बिस्कुट च्यापेर म घरबाट दासढुंगाको लागि हिँडे । साइकलमा जाँदै गर्दा बाटोमा केही साथीहरु भेटिनु भयो । हामी दासढुंगा पुग्दा बिहानको आठ बजिसकेको थियो ।

हामी दासढुंगामा पुग्दा त्यहाँ मान्छेको भीड लागिसकेको रहेछ । केही प्रहरी, एमाले पार्टीका नेता कार्यकर्ता र केही स्थानीय व्यक्तिहरु सडकबाट त्रिशूलीसम्म, नदी किनारमा ओहोरदोहार गर्दै थिए । नदीको तलमाथि साना डुंगाबाट खोज्ने काम भएको रहेछ । त्यहाँ जम्मा भएकाहरुले नदी किनारमा ओहोरदोहोर गर्नु र एकआपसमा मुखामुख गर्नु शिवाय गर्ने कुनै काम थिएन । घटनास्थल वरपर भेटिएका धानको भुसको थुप्रा र कठीन पहाडी बाटो कटेर समथरमा आइसकेपछि भएको दुर्घटनाले धेरैको मनमा आशंका उब्जाइरहेको थियो । दुर्घटनास्थल निकै अप्ठेरो खोँच परेको ठाउँमा थियो ।

त्रिशुली नदीको बहाव एकदमै तीव्र छ, त्यसमाथि पनि दुर्घटनास्थलमा नदीको खोँच र भुमरी परेको छ । यस्तोमा सामान्य मानिसले पाखाबाट छामछुम पार्नुबाहेक केही गर्न सकिन्नथ्यो । त्यसका लागि शक्तिशाली क्रेन आवश्यक पर्दथ्यो ।

दिउँसो ११ बजेतिर एउटा क्रेन आयो । त्यसले निकैबेरको प्रयासपछि नदीबाट दुर्घटनामा परेको जीप फेला पार्‍यो । अपरान्ह दुई बजेतिर टुचिनको सहायताले जीपलाई बाहिर निकालियो । बा.अ.च. ८७२३ नम्बरको जीप ठोक्किएर कच्याककुचुक परेको थियो ।

जीवराज आश्रितको शव जीपमै भेटियो तर मदन भण्डारीको अवस्था अझै अज्ञात । यसले घटना रहस्यमय छ कि भन्ने आशंकालाई अझ बढावा दियो ।

दुर्घटनास्थल नजिक त्रिशूली नदीमा गोताखोरहरु पठाएर खोजी गर्न लगाइयो । प्रहरी र स्थानीय नेता कार्यकर्ताहरुले डुंगाबाट नदी किनारमा शव खोज्ने काम गरे । तर, सारा प्रयासहरु असफल भैरहे ।

तेश्रो दिन गुञ्जनगरको गाँजीपुर नजिक नदी किनारमा एउटा लाश भेटिएको खबर आयो । नभन्दै त्यो लाश मदन भण्डारीको रहेछ । पानीले ढाडिएको, सर्टका अधिकांश टाँकहरु जस्ताकोतस्तै छन् तर पाइन्ट खुस्केर पेन्टीमात्र लगाएको अवस्था । पाइन्टमा टाँक त लगाएकै हुन्छ, त्यसमाथि मदन भण्डारीले सधैं बेल्ट कस्नुहुन्थ्यो । घटनास्थलमा पाइन्ट र बेल्ट भेटिएन । यस्ता दुर्घटनामा धेरैका सर्ट खुस्कन्थे तर पाइन्ट कमैकोमात्र हराउने जानकारहरु बताउँछन् । पाइन्ट हराएको अवस्थामा पेन्टी पनि कमैमात्र भेटिने उनीहरुको दावी छ । तर, यो दुर्घटनामा सबै अपवादमात्र भैरहेको थियो ।

घटनाका एकमात्र साक्षी चालक अमर लामा जिउँदै थिए, तर उनी प्रहरी हिरासतमा । उनको व्यवहार पनि अलि फरक खालको थियो । त्यत्रो दुर्घटनामा उनी कसरी सकुशल रहन सके ?, चालक अमर लामाले जीपसँगै म पनि नदीमा खसें भनेका छन् तर उनलाई कुनै चोटपटक लागेको छैन । सडकबाट करिव ५० मिटर तल गुल्टिँदै गएको जीपको ड्राइभर कसरी सकुशल रहन सक्छ ? घटना भैसकेपछि उनले त्यही हारगुहार गरेर खोजी गर्न थाल्नु पर्नेमा गाडी चढेर सुरक्षितस्थल नारायणगढमा किन गए ? उसका धेरै कुराहरु शंकास्पद देखिए ।

नेताद्वयको अन्तिम संस्कार गरेलगत्तै पार्टी ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ देशव्यापी आन्दोलनमा गयो । आन्दोलनबाट जनधनको क्षति भयो, ठूलो दबाव दिइयो । तर, पनि कांग्रेसको सरकारले सुनुवाइ गरेन । सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । निकै महिनापछि बल्ल सरकारले सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा एउटा न्यायिक छानबिन आयोग गठन गर्‍यो । तर त्यो आयोगको प्रतिवेदनलाई एमालेले स्वीकारेन ।

जनस्तरबाट गठन गरिएको भनिएको पद्मरत्न तुलाधरको आयोगले दासढुंगा काण्डलाई षड्यन्त्र नै ठहर गर्‍यो । पार्टीको तर्फबाट गठन गरिएको केपी ओली आयोगको प्रतिवेदनले पनि त्यस्तै भनेको छ । अनिल आयोगको प्रतिवेदनको एमालेले विरोध गरेपछि सर्वाेच्चकै न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को आयोग गठन भयो । त्यो आयोगले पनि घटनाको यकिन गर्न सकेन ।

उक्त दुःखद घटना भएको आज २५ वर्ष भयो तर अहँ, यसको अझैसम्म रहस्य खुल्न सकेको छैन । घटनाको एकमात्र साक्षी अमर लामाको पनि रहस्यमय तरिकाले हत्या गरिएपछि यो घटना रहस्यमय रहेछ भन्ने कुरालाई थप बल प्रदान गरेको छ । अमर लामाको २०६० साउनमा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुले कीर्तिपुरमा गोली हानी हत्या गरेका थिए ।

यस घटनामा सरकार, भारत र पश्चिमाहरुको पनि हात रहेको आँकलन गरिए । पार्टीभित्रको अन्तर संघर्षले उनीहरुको ज्यान गएको भन्नेहरु पनि कम रहेनन् । त्यसपछि भएको मध्यावधि चुनावमा संसदको ठूलो दल बनेर एमालेले नौ महिनासम्म अल्पमतको सरकार बनायो । लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा पनि एमालेको बलियो उपस्थिति थियो । २५ वर्षको अवधिमा नेकपा एमाले पटकपटक गरेर १० पटकसम्म सरकारमा गएको छ । तर आफ्ना प्रिय नेताको रहस्यमय मृत्युको कारण खोज्ने काम भएको छैन ।

यतिखेर नेकपा एमालेको नेतृत्वमा बलियो सरकार छ । त्यतिबेला पार्टीले गठन गरेको छानविन आयोगका अध्यक्ष केपी शर्मा ओली स्वयम् प्रधानमन्त्री र पार्टीका अध्यक्ष पनि छन् । मदन पत्नी विद्यादेवी भण्डारी मुलुककै सर्वोच्च पदमा विराजमान छिन् । ढिलै भए पनि यो घटनाको रहस्य खोज्नै पर्दछ । त्यतिखेर ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भनेर नारा लगाउने एमालेका कार्यकर्तापंक्ति, आन्दोलनका क्रममा मारिएकाहरुका परिवार र घाइतेहरुले यसको उत्तर खोजिरहेका छन् ।

यो पनि पढ्नुहोस् 

यस्तो थियो मदन-आश्रित चढेको अन्तिम गाडी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment