Comments Add Comment

भन्सार छली प्रकरण: १० लाख धरौटीसहित ह्यामर नियन्त्रणमा

बुटवल, ३ जेठ । व्यवसायीले पाँच दिनसम्म पनि यथेष्ट प्रमाण जुटाउन नसकेपछि पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय बुटवलले प्रज्ञापन पत्र विना भन्सार पास भएको ह्यामर (ब्रेकर) लाई नियन्त्रणमा राखी धरौटी जमानत वापत १० लाख रुपैयाँ समेत लिएको छ ।

ह्यामरसँगै नियन्त्रणमा लिइएको एक्साभेटरको प्रज्ञापन पत्र सहित अन्य कागजात ठीक देखिएपछि छाडिएको छ । ‘तत्कालका लागि १० लाख धरौटी लिएर ह्यामर नियन्त्रणमा राखिएको छ, प्रमाण पूरा भएको एक्साभेटर भने व्यवसायीलाई नै बुझाइदिएका छौं’, प्रमुख अनुसन्धान अधिकृत नरेन्द्रराज पाण्डेले भने-‘व्यवसायीले पेस गरेका कागजात हेर्दै छौं, छिट्टै यथार्थ बाहिर ल्याउँछौं ।’

राजश्वले भन्सार पास भएर ना.७ ख ९३२८ र ना.५ ख ७३८३ नम्बरका ट्रकमा लोड गरिएका एक/एक वटा एक्साभेटरको प्रज्ञापन पत्र भए पनि दुईवटै ट्रकमा लोड गरिएका एक/एकवटा ह्यामरको प्रज्ञापन पत्र नभएपछि आइतबार राति नवलपरासीको दाउन्नेबाट ट्रकसहित सामान नियन्त्रणमा लिएको थियो ।

बतास ट्याक्टर प्रालि गौरीधारा काठमाडौले आयात गरेका यी मेसिनरी सामानमा ह्यामरको भ्याट नम्बर ३०४००६८७७ बाट बैशाख २४ गतेको मितिमा बिल काटिएको भएपनि प्रज्ञापन पत्र नभएपछि बिल नक्कली र भन्सार छली भएको हुन सक्ने आशंकामा राजश्वले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

बतास ट्याक्टर प्रालि गौरीधारा काठमाडौंको उक्त ह्यामर भन्सार कर्मचारी, एजेन्ट र व्यवसायीको मिलेमतोमा भन्सार छली गरी ल्याइएको आशंका गरिएको छ ।

एक्साभेटर आयात गरिएको प्रज्ञापन पत्रमा भन्सार अधिकृत शिवओम श्रेष्ठ र एजेन्टकातर्फबाट मधुप्रसाद पन्थीको हस्ताक्षर छ । भैरहवा भन्सारमा पछिल्लो समय मिलेमतोमा गैरभन्सार क्रियाकलाप बढ्दै गइरहेका छन् ।

आइतबार पास गरिएको ह्यामर बतास कम्पनीका म्यानेजिङ हाइरेक्टर देवेन्द्र श्रेष्ठले भन्सार लिलामीबाट खरिद गरिएको बताए पनि भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कविराम पौडेलले भने उक्त कुरा सत्य नभएको बताए । एउटा ह्यामरको भन्सार मूल्य १७ लाख बढी पर्छ ।

आर्थिक वर्ष सकिन २ महिनामात्रै बाँकी रहँदा भन्सार कार्यालयले लक्ष्य भन्दा करिब २० प्रतिशत कम राजश्व संकलन गरेको छ । विभागले कार्यालयलाई ८१ अर्ब राजश्व लक्ष्य तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment