Comments Add Comment

पल्सर स्पोर्टस् अवार्ड : उत्कृष्टमा क्रिकेटको वर्चश्व

३ जेठ, काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत विभिन्न आठ विधामा क्रिकेटका चार जना सम्मानित भए ।

उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर सन्दिप लामिछाने, उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, स्पेसल अवार्डबाट क्रिकेटर करण केसी, उत्कृष्ट पुरुष खेलाडीबाट क्रिकेट कप्तान पारस खड्का सम्मानित भए ।

करणले गत माघमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई स्पेशल अवार्ड दिइएको आयोजक खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले जनाएको छ ।

उनले डिभिजन २ मा क्यानडासँगको खेलमा अन्तिम विकेट रहँदा ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रन बनाएर नेपाललाई जिताएका थिए । जसले विश्वकप छनोटको ढोका खोलिदिएको थियो ।

उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर लामिछानेसँगै, क्रिकेटबाटै दीपेन्द्र सिंह ऐरी, फुटबलबाट दिनेश हेम्जन, जुडोबाट मनिता श्रेष्ठ प्रधान, बक्सिकबाट पुनम रावल मनोनयनमा परेका छन् ।

लामिछाने वर्षका उत्कृष्ट युवा खेलाडी र वर्षका उत्कृष्ट पुरुष खेलाडीसँगै पिपुल्स च्वाईस अन्तर्गत पनि मनोनयनमा परेका थिए ।

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटासँगै क्रिकेटबाटै बिनोद दास, फुटबल प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ मनोनयनमा थिए ।

सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्न भारतमा रहेकाले उत्कृष्ट युवा खेलाडीको अवार्ड र उनी मनोनयनमा परेका विधामा सम्मान ग्रहण गर्न प्रशिक्षक विनोस दास गएका थिए । जसले गर्दा आर्मी अफिसर्स क्लब भद्रकालीमा भएको कार्यक्रममा दास बारम्बार मञ्चमा पुग्नुपरेको थियो ।

सन्दिपले पाउँछन् जस्तो लागेको थियो : पारस

वर्षका उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित भएका क्रिकेट कप्तान पारस खड्काले आफूले नसोचेको अवार्ड पाएको प्रतिक्रिया दिए ।

उनले वर्षभरी नै क्रिकेटले राम्रो गरिरहेको र सबै खेलाडीले मेहनत गरेको बताउँदै भने, ‘म एकदम सरप्राइज भएँ । मैले यो अवार्ड पाउँछु जस्तो लागेको थिएन । मैले सोचेको थिएँ सन्दिपले पाउँछन् होला ।’

उत्कृष्ट पुरुष खेलाडी पारससँगै, सन्दिप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की पनि मनोनयनमा परेका थिए ।

को कोले जिते अन्य अवार्ड ?

लाइफटाइम अचिभमेन्ट अवार्डबाट फुटबलर अशोक केसी सम्मानित भए ।

‘पारा एथलिट अफ दि इयर’ बाट हृविलचेयर बास्केटबल तथा हृविलचेयर क्रिकेट टिमका कप्तान हिमाल अर्याल सम्मानित भए ।

उत्कृष्ट महिला खेलाडी ब्याडमिन्टनकी शोभा गौचन भइन् । शोभासँगै उत्कृष्ट महिला खेलाडीमा बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलबाट सावित्रा भण्डारी र टेबलटेनिसबाट नविता श्रेष्ठ मनोनयनमा थिए ।

पिपुल्स च्वाइस अवार्डमा क्रिकेटका सन्दिप लामिछाने, फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसका स्यान्टु श्रेष्ठले बाजी मारे ।

कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे । त्यस्तै दोस्रो स्थानमा मानबहादुरले २१.६५ प्रतिशत, तेस्रोमा सन्दीपको १५.०१, चौथोमा फुटबलका किरणको १३.३२ र पाँचौ स्थानमा गल्फकी प्रतिमा शेर्पाले ८.४५ प्रतिशत मत प्राप्त गरे ।

पिपुल्स च्वाइस अवार्डमा यसपटक एसएमएस, फेसबुक लाइक, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्यको मतका आधारमा विजेता छनोट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment