Comments Add Comment

गौचरन बन्यो स्कुल, शिक्षकलाई गाइवस्तु धपाउनै ठिक्क

३ जेठ, गोरखा । दुवोले भरिएको चौर । आँप र सिसौका रुखको छहारी । गर्मीको समयमा स्वर्गको अनुभूति दिलाउने यो ठाउँ हो सिरानचोक गाउँपालिका-६ नयाँ साँघुस्थित सन्सारीको महेन्द्र मावि परिसरको ।

स्वच्छ र शान्त यो वातावरणमा पठनपाठन गर्नुको मज्जा पनि बेग्लै छ । तर, कम्पाउण्ड अभावका कारण विद्यालयको यो परिसर पशुचौपायाको चरन क्षेत्र बन्ने गरेको छ । जसका कारण विद्यालयको पठनपाठन समेत प्रभावित हुने गरेको शिक्षकहरु बताउँछन् ।

‘कम्पाउण्ड छैन, गाइबाख्रा, कुखुरा, बंगुर, सुंगुर सबै छिर्छन्,’ शिक्षक जंगबहादुर दानीले भने, ‘लखट्दैको हैरान हुन्छौ ।’ कहिले काही कक्षाकोठामा समेत कुखुरा बाख्रा छिर्ने गरेको उनी बताउँछन् । ‘पढाइरहेको बेला कुखुरा, बाख्रा कक्षामै आउँछन् लखेटदै जानुपर्छ, पढाइ नै प्रभावित हुन्छ,’ उनले भने ।

कम्पाउण्ड अभावका कारण बिभिन्न समस्या भोग्नुपरेको विद्यालयको गुनासो छ । ‘कहिलेकाही गर्मी भएको बेला छहारीमा लगेर पढाउन खोज्यो गाइवस्तु आएर डिस्टप गर्छ, गाइवस्तु धपाउने की बिद्यार्थीलाइ पढाउने समस्या हुन्छ,’ उनले भने ।

कम्पाउण्ड अभावमा करिब १८ रोपनी क्षेत्रफल रहेको विद्यालय परिसर पशुचौपायाको चरन क्षेत्र मात्र होइन पैदलयात्रु हिड्ने मार्गसमेत बन्ने गरेको विद्यालयका प्रधानाध्यापक भोजराज कोइरालाले बताए ।

फाइबरको भवनमा विद्यार्थीलाई गर्मीको सकस

भूकम्पले भवन क्षतिग्रस्त भएपछि उक्त विद्यालयमा नयाँ भौतिक संरचना बन्यो । भूकम्प गएको एक वर्षपछि गोरखा फाउण्डेशनले फाइबरको चार वटा अर्धपक्की ब्लकहरु बनाइदियो । तर, गर्मी लागेसँगै उक्त भवनमा पठनपाठन गर्न गराउन निकै समस्या हुने गरेको बिद्यालयले जनाएको छ । ‘जाडोमा त यो भवन ठिकै थियो, तर जव गर्मी लाग्यो फाइवर तातेर भित्र बस्नै सकिन्न, पसिनाले ज्यान त एकैछिनमा निथ्रुक्क भिज्छ,’ शिक्षक रामकाजी श्रेष्ठले भने ।

गर्मीका कारण विद्यार्थीहरुमा विभिन्न समस्या देखा पर्ने गरेको उनको भनाइ छ । ‘विद्यार्थीहरु चिच्याउने, काम्ने, वान्ता गर्ने, बेहोस हुने भएका छन्, हामी शिक्षकहरु पनि जति जोश जागरले पढाउछु भनेर कक्षामा छिरेका हुन्छौ भित्र गएपछि गर्मीले आफै थकित भएजस्तो हुन्छ,’ उनले भने ।

गर्मीकै कारण शिक्षकले पढाएको कुरामा ध्यान नजाने कक्षा नौ का छात्र खलिद मियाले बताउँछन् । ‘कक्षाभित्र पस्ने बित्तिकै गर्मीले टाउँको दुख्छ, निन्द्रा  लागे जस्तो हुन्छ, जति कोसिस गर्दा पनि पढाइमा ध्यान जादैन,’ उनले भने ।

भूकम्प पश्चात अन्य विद्यालयमा आधुनिक भवन बनेपनि आफूहरु भने ठगिएको विद्यालयका प्रअ कोइरालाको गुनासो छ ।

कक्षाकोठा अभावका कारण दिवा सेवामा संचालन गर्नूपर्ने ११ र १२ को कक्षा बिहान संचालन गर्नुपरेको शिक्षक श्रेष्ठको भनाइ छ ।

भवन निर्माणका लागी पहल गरिदिन बिद्यालयले आग्रह गरेको छ । भूकम्पले क्षति पुगेको बिद्यालय भवन पुननिर्माणमा सन्सारी महेन्ऽ माविलाई बिभेद गरिएको वडा नम्वर ६ का वडा अध्यक्ष नारायण दानीले आरोप लगाएका छन् । ‘कतै जाइका, कतै शिक्षा कार्यालयले भवन बनाइरहेका छन्, यो हाम्रो स्कुलमा भने कसैले चासो दिएका छैनन् पक्षपात भएको छ,’ उनले भने ।

उक्त विद्यालयमा करिव ४५० विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment