Comments Add Comment

नाटक समीक्षा : १ सय ३७ वर्षअघिको नाटकमा वर्तमान नेपाल दुरुस्त

केही समययता सिनेमा घरमा खास रौनक छैन । करिब तीन हप्ताअघि सार्वजनिक भएको हलिउड फिल्म ‘एभेन्जर्सः इन्फिनिटी वार’ सेलाउँदै छ । यसबीचमा हेर्नलायक बलिउड फिल्म आएका छैनन् । स्वदेशी फिल्मको हाल चौपट छ ।

यस्तो अवस्थामा मनोरञ्जनको खुराक खोज्नेहरू थापा गाउँ (नयाँ बानेश्वर)को कुञ्ज थिएटरमा पुगे हुन्छ । लगभग १ घण्टा १५ मिनेट मस्त मनोरञ्जन लिन सकिनेछ, ‘अन्धेरी नगरी, चौपट राजा’ हेरेर ।

नाटक र सिनेमाको स्वाद, शैली र धेरै तत्वहरू मिल्दैनन् । तर, दुवैको ध्येय पूर्ण मनोरञ्जन नै हो । यसर्थ ‘मनोरञ्जन’ नै लिने हो भने, ‘अन्धेरी नगरी, चौपट राजा’ हेर्न दुई पटक सोच्नुपर्दैन । यो सर्वकालिक नाटकको नेपाली रूपान्तरण कम्ता घतलाग्दो छैन । घतलाग्दो यसकारण कि, एक सय ३७ वर्षअघि रचिएको नाटक तपाई/हामीले आज भोगिरहेको दैनिकी जस्तो लाग्छ ।

नाटकले कमजोर राज्य व्यवस्थाको टीठलाग्दो कथा भन्छ, तर हास्य शैलीमा । त्यसैले नाटक हेरिरहँदा पेट मिचिमिची हाँस्न सकिन्छ ।

यो नाटक भारतेन्दु हरिश्चन्द्रले लेखेका हुन्, जसलाई आधुनिक हिन्दी साहित्यका ‘पितामह’ भनिन्छ । भारतेन्दुको नाटकलाई संगीत सापकोटा र आशिष घिमिरेले नेपालीकरण गरेका छन् । यो नाटकको अभिन्न पाटो भनेको संगीत हो । नाटकमा संगीत पनि संगीत सापकोटाका साथमा मोनिस निरौलाले गरेका छन् ।

कस्तो छ नाटक ?

नाटक स्वैरकाल्पनिक छ । नाटकको सेटिङ, पात्र, प्रसंग ‘एकादेशको कथा’ जस्तो लाग्छ ।

एक महन्त आफ्ना दुई शिष्यका साथ ‘अन्धेरी नगर’मा आइपुग्छन् । झट्ट हेर्दा सुन्दर र शान्त देखिने यो नगर विचित्रको छ । त्यहाँ घुस पचाउने पाचक, मिठाई, चना, साग, हिमाली राडीपाखीदेखि जात/धर्म किनबेच गर्ने धन्दा चल्छ ।

त्यही गञ्जागोलमा नगरबधु र जादुगर पनि मिसिएका छन् । यहाँको विशेषता के भने, हरेक चीज एक आनामा खरिद गर्न पाइन्छ ।‘भिक्षा माग्न’ खटिएका शिष्य गोवर्द्धन सात आनामा भरपेट मिठाई खरिद गरेर महन्तकहाँ हाजिर हुन्छन् । यति धेरै मिठाई देखेर महन्त सशंकित हुँदै भन्छन्, ‘जुन देशमा हरेक कुरा एकै मूल्यमा पाइन्छ, यस्तो कुदेशमा बस्न उचित हुँदैन । यहाँ दुख पाइन्छ ।’ उनी आफ्ना शिष्यहरूलाई लिएर ‘अन्धेरी नगर’ जतिसक्दो चाँडो छाड्न चाहन्छन् ।

तर, थोरै पैसामा भरपेट खान पाइने ठाउँ छाडेर जान शिष्य गोवर्द्धन राजी हुँदैनन् । उनलाई यस्तो लोभ-लालसमा नफस्न चेतावनी दिएर महन्त त्यहाँबाट अलप हुन्छन् ।

अब दृश्यमा देशका ‘चौपट राजा’ देखिन्छन्, जो आफ्ना मन्त्री, सेवक तथा सेनाका बीच घेरिएर मदिरापान गरिरहेका छन् । अविवेकी, कमजोर, पटमूर्ख एवं कायर राजाको सामुन्ने एउटा मुद्दा छिनोफानो गर्ने जिम्मेवारी आइपर्छ । मुद्दा मामुली छ, एउटा किसानको बाख्राको पाठी पर्खालले थिचिएर मरेको ।घटना विवरण राम्ररी बुझ्ने क्षमता एवं धैर्य नभएका राजाले रिस एवं आवेगमा आएर के कस्ता निर्णय गर्न पुग्छन् ? अन्ततः उक्त निर्णयले एक ‘राम नाम’ जपिरहेका भिक्षुलाई कसरी फाँसीमा चढाउने अवस्थामा पुर्‍याइन्छ ? यिनै घतलाग्दो प्रसंग उप्काउँदै एक घण्टा १५ मिनेट लामो नाटक समाप्त हुन्छ ।

किन घतलाग्दो छ ?

यो नाटकले एउटा निरीह राज्यव्यवस्थाको कुरूप एवं हास्यास्पद पाटो खोतलेको छ, जुन घटना र प्रसंग हाम्रो भोगाइसँग मेल खान्छन् ।

सत्ताको बागडोर निरीह, अविवेकी, कायर, भ्रष्ट एवं दुष्ट शासकको हातमा पुग्यो भने देश कसरी ‘चौपट’ हुन्छ भन्ने कुरा नाटकले देखाउँछ । भारतेन्दु हरिश्चन्द्रले शताव्दीअघि कल्पेका पात्र, प्रसंग एवं विषयलाई वर्तमान नेपालको अवस्थासँग तुलना गर्दा दुरुस्त मेल खान पुग्छ ।

हामीकहाँ थरीथरीका धन्दा चल्छ, जात र धर्मको किनबेच हुन्छ । सधै‌ सत्ताको खिचातानी हुन्छ । शासकहरू आफ्नै स्वार्थमा लिप्त हुने गर्छन् । सर्वसाधारणले अन्याय, अत्याचार एवं गरिबीको खाडलबाट उन्मुक्ति पाउँदैनन् ।

वर्तमान समाजमा सान्दर्भिक ठानेर नै कुञ्ज थिएटरले यो नाटकको मेलोमेसो मिलाएको देखिन्छ । नाटकको सेटिङ ‘एकादेशको’ झल्को आउने खालको छ । अविवेकी र कमजोर राजाको निर्णयसँगै जोडिएर आउने पात्र तथा प्रसंगलाई एकदमै चोटिलो एवं रसिलो ढंगले पेश गरिएको छ ।नाटकलाई नेपाली सन्दर्भमा ढाल्ने प्रयास आफैंमा तारिफयोग्य छ । संगीत सापकोटा र आशिष घिमिरेले नाटकको सेटिङ, पात्र अनि संवादको तालमेल निकै खँदिलो ढंगले मिलाएका छन् । संवाद हास्यरसले भरिपूर्ण मात्र छैन, लयात्मक र अर्थपूर्ण पनि छ । सगुन पोखरेलले वेशभूषामा तारिफयोग्य मेहेनत गरेका छन् ।

यो नाटकलाई थप मनोरञ्जनात्मक बनाउन पार्श्व-धुनले महत्वपूर्ण भूमिका खेलेको छ । पाश्र्व धुनलाई सांकेतिक र अर्थपूर्ण ढंगले पेश गर्नमा संगीत टिम सफल छन् । नाटकमा एकपछि अर्को दृश्यको सिलसिला गजबले मिलाइएको छ ।

नाटकको जोडदार पक्ष भनेको अभिनय हो । एउटै कलाकारले तीन-तीन वटा भूमिकामा समेत स्वाभाविक अभिनय पस्केका छन् । छोटो समयअवधिमा एकपछि अर्को पात्रको गेटअपमा उत्रनु जति झन्झटिलो हुन्छ, उत्ति नै गाह्रो भिन्न-भिन्नै पात्रको भावभंगीमा आफूलाई ढाल्नु पनि । तर, यसमा उनीहरू सफल छन् ।

कमजोर पक्ष

नाटकको कथा-संरचना स्वादिलो छ । त्यसमा संवाद, अभिनय, संगीत, वेशभूषा तथा प्रकाशको संयोजन राम्रोसँग मिलाइएको छ । तर, यसमा अझ राम्रो गर्न सकिने ठाउँ प्रशस्तै छाडिएको छ ।

चे शंकरले नाटकको सेट डिजाइनमा थप मेहनत गर्न सक्थे । राजसभाको सेटलाई राजसी ठाँटमा ढाल्न सकिन्थ्यो । महन्त र शिष्यहरूको दृश्य होस् वा अन्धेरी नगरको, पृष्ठभूमिमा दृश्य निर्माण गरेर थप सशक्त बनाउन सकिन्थ्यो । पात्र र प्रसंगमा बढी केन्दि्रत हुँदा पृष्ठभूमिको निर्माणमा उति ध्यान दिइएको छैन ।

राजालाई लाचार, कायर र अविवेकी बनाउने क्रममा अलि बढी नै हास्यास्पद बनाइएको छ । कतिपय पात्रको हाउभाउ र संवाद अलि बढी नै नाटकीय लाग्छ ।

यसमा एउटा गम्भीर त्रुटि छ, तेस्रोलिंगीलाई नगरबधुको रूपमा देखाउनु । दर्शकलाई हँसाउने वा मनोरञ्जन गराउने चक्करमा कतिपय मानवीय मूल्य र मान्यताहरूलाई भुल्ने गरिन्छ प्रायः । त्यही भूल भएको छ, यो नाटकमा ।

‘हाँसोका पात्र’ होइनन्, तेस्रोलिंगी । यो प्राकृतिक कुरा हो । तेस्रोलिंगी आमाको भ्रुणबाट विकास भएर आउने एउटा अवस्था हो । यस्ता कुरामा ख्याल-ठट्टा गर्नु राम्रो होइन ।

कलाकार : जीवन भट्टराई, श्रवनसिंह राना, संजीव प्रताप मल्ल, पिटर पि्रन्स, आरजेश रेग्मी, सागर दाहाल, बारात लिम्बु, दिपेन्द्र शाही, पुष्कर कार्की, प्रकु पाण्डे ।

प्रोडक्सन डिजाइनर : सगुन पोखरेल, अमृत थापा

मञ्च परिकल्पना : चे शंकर

मञ्च निर्माण : दावा शेर्पा

मञ्च व्यवस्थापक : छवि तामाङ

वेशभूषा : सगुन पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment