Comments Add Comment

नेताको मन जितेका विष्णु पौडेललाई ‘सरप्राइज गिफ्ट’ !

४ जेठ, काठमाडौं । पार्टी एकता संयोजन समितिको बैठक सकिएपछि अर्को कोठातिर आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई भने, ‘ल बधाइ छ’ ।

पौडेलसँगै अरु केही नेता कार्यकर्ता पनि थिए । के को लागि बधाई ? ओलीले जवाफ दिए-नेपाल कम्युनिस्ट पार्टीको महासचिव बनेकोमा ।

पाैडेल केही बोलेनन्, एकप्रकारको आश्चर्यमिश्रति भावमात्र देखाए । एमालेकै बरिष्ठ नेताहरुका लागि पनि त्यो एकप्रकारको सरप्राइज थियो ।

यद्यपि पार्टी एकताका सूत्रधार पौडेल ९ सदस्यीय हाइकमाण्डमा पर्ने कुरा चाहिँ अघिल्लै दिन शीर्ष नेताहरुबीच सहमति भइसकेको थियो ।

संयोजन समितिले नेकपाको हाइकमाण्डका रुपमा ९ सदस्यीय केन्द्रीय सचिवालय बन्ने निर्णय गरेपछि सबैले नवौं सदस्य को होला भनेर सोध्न थाले । कतैबाट पनि जवाफ आएन ।

संयोजन समितिमा तत्कालीन एमालेका ५ र तत्कालीन माओवादी केन्द्रका ३ सदस्य रहेकाले थपिएका एकजना माओवादीको हुनुपर्छ भन्ने धेरैको अनुमान थियो । अनलाइनखबरले सबैभन्दा पहिले बिष्णु पौडेल महासचिव बन्ने खुलासा गर्दा कतिपयले पत्याउन समेत चाहेनन् ।

तर, वाम गठबन्धनदेखि पार्टी एकीकरणसम्मका प्रमुख सूत्रधार पौडेल शक्तिसाली कम्युनिस्ट पार्टीको सचिवालयमा प्रवेशसँगै महासचिव समेत बनिसकेका थिए ।

बिधानमा दुई अध्यक्षमात्र रहने र अरु पदाधिकारी नहुने भनिएका बेला महासचिवमा बिष्णु पौडेलको इन्ट्री आफैंमा महत्वपूर्ण परिघटना थियो ।

यसबारे तत्कालीन एमालेका केही नेताले ओलीलाई सोधे पनि । घनश्याम भुसालका अनुसार ‘स्ट्रक्चरल ग्यारेन्टी’ भनेर नेताहरुले जवाफ दिए ।

तत्कालीन एमालेभित्र नवौं वरियतामा रहेका पौडेल एकीकृत पार्टीको पनि नवौं वरियतामै पर्न सफल भए । तर, उनले बरियतामा मात्र होइन, महासचिव पदमै छलाङ मारेर नेपाल कम्युनिस्ट पार्टीको दोस्रो पुस्ताको पहिलो नेताको स्थान सुरक्षित गरेका छन् ।

शीर्ष बरियताका नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र बामदेव गौतमको चाहनामा पौडेल शक्तिशाली महासचिव बनेको अब लुकाइरहनु परेन । पौडेल पार्टी एकताका सूत्रधार मात्र थिएनन्, पार्टीभित्रै ओली, नेपाल र गौतमबीच एकता गराउने सूत्रधार पनि बने र सरप्राइज गिफ्टका रुपमा महासचिव पद पाए ।

पौडेल पार्टी एकताका सूत्रधार मात्र होइनन्, नेताहरु मिलाउने सूत्रधार पनि हुन् । नवौं महाधिवेशनअघि नै ओली र बामदेवलाई मिलाएर ओली युगको सारथी बनेका पौडेल पछिल्लो समय ओली र माधव नेपालबीच विश्वासको वातावरण बनाउन खटिएका थिए ।

यसक्रममा उनले माधव नेपालसँग आफ्नै निवासमा ‘लन्च मिटिङ’ समेत गरेका थिए । ओली अर्को महाधिवेशनमा अध्यक्ष पनि नउठ्ने र अर्को कार्यकाल प्रधानमन्त्री पनि नदोहोरिने भएकाले दूरी बढाएर होइन, विश्वासमा रहेर काम गर्न उनले नेपाललाई प्रेरित गरे ।

यसबीचमा ओली र प्रचण्डबीच पटक पटक विश्वासको संकट हुँदा पौडेल दूत बनेर खुमलटार र बालुवाटार ओहोरदोहोर गरिरहे । दुवैतर्फका निर्णायक नेताहरुको विश्वास जित्न सक्नु पौडेलको खुबी रहृयो, जसले गर्दा नेपाल कम्युनिस्ट पार्टीको शीर्ष ९ मा उनको प्रवेश भयो ।

पौडेलको छलाङ उनका समकालीन र कतिपय सिनियर नेताहरुलाई पनि पचेको छैन । भीम रावलले नेताहरुसँग खुलेरै असन्तुष्टि जनाएका छन् । दुईपटक एमालेको महासचिव भइसकेका र ओलीको उत्तराधिकारी बन्न खोजेका ईश्वर पोखरेल केही बोल्नै नसक्ने अवस्थामा पुगेका छन् ।

सम्मान ग्रहण गर्दै महासचिव पाैडेल ।

ओलीले नै पौडेललाई अघि बढाउन चाहेपछि उनको समूहका नेताहरुको बोलि बन्द भएको छ । माधव नेपाल र बामदेवले समेत पौडेलको उदयमा साथ दिएपछि उनी निर्विवाद नेता बन्न पुगेका छन् । नेताको मन मिलाउने र कार्यकर्ताको काम मिलाउने खुबीले पौडेल नेपाल कम्युनिस्ट पार्टीको भावी नेतृत्वको लियरमा उभिन सफल भएका छन् ।

बिष्णु पौडेल अहिले अध्यक्ष ओली र प्रचण्डबीचका सूत्रधार भए जस्तै भावी अध्यक्ष प्रचण्ड र माधव नेपालसँग उत्तिकै दूरी कायम राख्ने खुबी भएका नेता हुन् । किनकी अब २ वर्षभित्रमा हुने महाधिवेशन प्रतिस्पर्धा होइन सहमतिबाट गर्ने भनिएको छ ।

एकता महाधिवेशनबाट जो अध्यक्ष भएपनि बिष्णु पौडेल त्यस प्रक्रियाका निर्णायक पात्र बन्न सक्नेछन् । जसले त्यसपछि दोस्रो पुस्तामा सर्ने नेतृत्वको स्वभाविक हकदार बन्ने उनका लागि नेताहरुले अहिल्यै बनाइदिएका छन् । त्यो बाटोलाई राजमार्ग बनाउने क्षमता कम्तिमा २ वर्षभित्र उनले पुष्टि गर्नुपर्नेछ ।

कम्युनिस्ट पार्टीमा को कतिबेला पाखा लाग्छ भन्ने अनुमान गर्न कठिन हुन्छ, तर बिष्णु पौडेल नेकपाका पहिलो लियरका बरिष्ठ नेताहरुपछिको नेताका रुपमा स्थापित भएका छन् ।

नेता र पार्टी मिलाउने कौशल देखाएका पौडेलले अब विशाल कम्युनिस्ट पार्टी हाँक्न कौशल कसरी देखाउँछन्, त्यसमा उनको राजनीतिक भविष्य निर्भर हुनेछ । नेताको मन जितेर भावी नेतृत्वको दाबेदार बनेका पौडेललाई दुई फरक स्कूलिङबाट दीक्षित लाखौं कार्यकर्ताको मत जित्ने चुनौति तेर्सिएको छ ।

को हुन् पौडेल ?

०१६ सालमा स्यांजामा जन्मिएका पौडेल स्कूल पढ्दा पढ्दै भूमिगत राजनीतिमा होमिए । ०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए ।

पाैडेल ०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र ०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भए । नेतृत्वको विश्वासमा रहेर काम गर्ने र मिडिया जगतबाट टाढा रहने स्वभावका कारण उनी लामो समय लो प्रोफाइल नेताका रुपमा रहे ।

संसदीय राजनीतिमा उनी ०५१ सालबाट प्रवेश गरेका हुन् । ०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका पौडेल ०५४ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । ०५६ मा उनी रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ मा ६ सय मतले पराजित भए ।

०६४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएपछि पौडेलको भेट पराजयसँग भएको छैन । यसबीचमा उनी ०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री बने । ओली प्रधामन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएपछि पार्टी र बाहिर पनि उनको व्यक्तित्व माथि उठ्यो ।

प्रदेश ५ को सिमांकन हेरेफेर गर्ने तत्कालीन कांग्रेस र माओवादी सरकारको प्रयास विरुद्ध उनले बुटवललाई केन्द्र बनाएर आन्दोलनको अगुवाई गरे । जसका कारण पौडेल सो क्षेत्रका सर्वस्वीकार्य नेता भए ।

एकताका सूत्रधार

 

गत वर्ष यहिबेला स्थानीय तहको निर्वाचन परिणामले एमालेलाई पहिलो पार्टी बनाए पनि धेरै ठाउँमा माओवादी निर्णायक बन्दा कांग्रेसले फाइदा लिएको थियो ।

त्यसपछि बामदेव गौतमले अनलाइनखबरमा लेख लेखेर एमाले र माओवादी एउटै चुनाव चिन्हबाट आउने निर्वाचनमा जानुपर्ने बहस अघि बढाए ।

बामदेवको प्रस्ताव त्यो बेला असम्भव जस्तो मानिन्थ्यो । उनको कुरा ओलीले गम्भिर रुपमा लिने सम्भवना पनि थिएन, किनकी त्यहिबेला भरतपुर काण्डले एमाले माओवादी सम्बन्ध झनै तिक्ततापूर्ण थियो । तर, त्यहि बेलादेखि बामदेवकै सल्लाहमा बिष्णु पौडेल एमाले माओवादी एकताका लागि खटिएका थिए ।

माओवादी पक्षबाट नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा ‘असम्भव मानिएको’ वाम एकतामा सूत्रधारका रुपमा खटिए । एक अर्कामा भेट्न समेत नमान्ने ओली र प्रचण्डलाई बिष्णु पौडेल र जनार्दन शर्माले कयौं राउण्ड भेटाए । एमाले माओवादी चुनाव तालमेलको लागि भएको प्रयास पार्टी एकतै गर्ने सहमतिमा पुग्दा पनि दुवै पार्टीका कतिपय बरिष्ठ नेतालाई थाहा थिएन ।

एकताको क्लाइमेक्स बन्यो ०७४ सालको दशैं । दशैंको दिन माइतीघरस्थित नविन कँडेलको घरमा ओली र प्रचण्डको भेटघाटको चाँजोपाँचो मिलाइयो । जनार्दन शर्माले बिष्णु पौडेललाई फोन गरेर भने-‘बुढाहरुले बिगार्न सक्छन्, तपाईं र म पनि जाउँ दाइ ।’

त्यसदिन ओली र प्रचण्डबीच चुनावमा गठबन्धन बनाउने र पार्टी एकतै गर्ने मौखिक सहमति पनि भयो । दुवै नेताको शैली बुझेका जनार्दनले भने-तपाइहरु आजै लिखित सहमति गर्नुस्, भोलि के हुन्छ भन्न सकिन्न ।’ पौडेलले पनि लिखित सहमतिको मस्यौदा गर्ने र दुवै नेताले मस्यौदा आफैं राखेर आ आफ्नो पार्टीमा अनुमोदन गराउने विकल्प दिए ।

मस्यौदा बिष्णु पौडेल र जनार्दन शर्माले त्यहिँ तयार पारे । प्रिन्ट गरेर दुवै अध्यक्षलाई दिएपछि प्रचण्डले भने-अहिल्यै हस्ताक्षर गर्ने र ? त्यो मस्यौदामा एमाले ६० र माओवादी ४० प्रतिशत सिट सहित गठबन्धन गर्ने र सूर्य चिन्हबाट चुनाव लड्ने भनिएको थियो ।

प्रचण्डले आनाकानी गरेपनि दुवै नेताको दबावमा हस्ताक्षर गरेर एक एक प्रति मस्यौदा ओली र प्रचण्डले बोकेका थिए । त्यसको भोलिपल्टै ओलीले एमालेको स्थायी कमिटी बैठकबाट मस्यौदा हुबहु पारित गराए । तर, प्रचण्ड भने साथीहरु मानेन् भन्दै सूर्य चिन्हबाट पछि हटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment