Comments Add Comment

कथा: प्रेमको चित्तपट


‘यूकी, थाहा छ तिमीलाई ? मलाई तिम्रा यिनै आँखाहरूले आकर्षित गरेका हुन् नि ।’

‘डियर सन्देश, तिमी मेरो आँखाको यति विघ्न पारखी छौं भन्ने थाहै थिएन ।’

‘हो नि यूकी । आज तिम्रो र मेरो साथ यहाँसम्म आइपुग्नुमा मलाई त पक्कै लाग्छ तिम्रो आँखाको जादूले हो ।’ ओछ्यानमा पल्टिरहेको सन्देश उठेर बस्दै भन्छ ।

यूकी पनि खाटबाट उठेर सन्देशको जीउमा टाँसिदै लाडिँदै सोध्छे ‘अरू के–के राम्रो लाग्छ तिमीलाई मेरो ?’ ऊ यूकीलाई चुम्दै भन्छ ‘तिम्रो ओठ राम्रो लाग्छ, तिम्रो…।

यूकी जापानीज भाषाबाट ‘बदमास’ भन्दै सन्देशको नाक टोकिदिन्छे र हाँस्दै वाथरुमतर्फ लाग्छे ।

‘कति निश्चल छे यो यूकी, थाहा छ उसलाई । ऊ प्रेमिल बनाउन खोज्छे हरेक क्षणलाई ।’

सन्देश आज जापानमा छ, अफिसको कामले । यूकीलाई भेटेको दुई महिना भयो । ऊ अझै बस्छ जापानमा एक महिना । त्यो दिन थियो लगभग आजभन्दा ८–१० वर्षअगाडिको, उमेर २३–२४ को लगभग । उसको स्मृतिमा नेपालको त्यो दिनको याद नाच्दै छ वर्तमान बनेर उसको मथिङ्गलमा अहिले ।

काठमाडौँमा डेरा गरी बसेको थियो सन्देश । भरखर व्यवस्थापनमा स्नातक सकेर राष्ट्र बैंकको अधिकृतमा लड्ने तयारीमा जुटेको दिन थियो । उसको कोठामा आएकी थिई रेशमा । सम्पन्न घरकी छोरी थिई ऊ । तर पनि किन हो पहाडको गाउँको सामान्य केटालाई उसले हदैसम्म मन पराएकी थिई । यतिसम्म कि उसले नभेटेको दिन हुँदैनथ्यो सन्देशलाई । उसको यही भेटले गर्दा सन्देश साथीभाइका माझ गफको मसला बनेको थियो । सन्देशलाई सबै साथीभाइले ‘त्यही केटीसँग विवाह गर’ पनि भन्थे । तर उसको लक्ष्य त्यस समय विवाह गर्नु नभई जसरी भए पनि राष्ट्रबंैकको अधिकृत हुनु थियो । त्यसैले पनि होला उसको लक्ष्यको अगाडि केटी गौण थिई । या उसको प्रेम केटीमा होइन राष्ट्रबैंको अधिकृतमा थियो । उसले रेसमाप्रति त्यति ध्यान नदिँदा पनि रेशमा भने उसलाई छोड्न तयार थिइन ।

रेशमाकै सामीप्यको पिरलोले उसले पुतली सडकको बसिरहेको कोठा छोडेर अर्कै ठाउँमा कोठा सरेको थियो ।

‘अब भने ढुक्क हुने भइयो । उसलाई आफू कहाँ बसेको छु अब भने देखाउँदिन ।’ उसले सन्तोषको श्वास फेरेको थियो त्यस दिन । तर उसलाई के थाहा, प्रेममा पागल भएकी त्यो केटी जति जङ्घार तरेर भए पनि उसलाई भेट्न आइपुग्छे भनेर ? कहीँबाट जानकारी लिएर मानवीय बस्तीले भरिएको बानेश्वरको त्यस घरमा खोज्दै आइपुग्छे । जुन खोजाइबाट नै सन्देशप्रतिको उसको प्रेम कति गाढा रहेछ भन्ने कुरा प्रष्ट थियो ।

‘छि ! कति बुद्धु थिएँ म त्यति बिघ्न माया गर्ने केटीलाई पनि लत्याउने !’ माया दिन कन्जुस्याइँ गरेकोमा आफूलाई केही क्षण गाली गर्छ मनमनै अहिले सन्देश ।

कौसीमा बसेर जाँचको तयारी गरिरहेको थियो सन्देश, त्यस दिन । दिनको करिब पौने तीन बजेतिर ऊ बसेको घरको ठिक तलतिर रेशमालाई देख्छ । आँखा जुध्छ दुवैका । सन्देश झसङ्ग हुन्छ । जोसँग लुक्नको लागि यहाँ कोठा सरेको थियो उसैको आगमनले गर्दा एकछिन त अक्क न बक्क पर्छ । लाजले हो कि या धकले, रिसले हो कि या डरले सन्देशका हातगोडा काँप्न थाल्छन् । आफूलाई सम्हाल्दै सन्देश फिस्स हाँस्छ ।

तल कोठामा ओर्लन्छ । ‘कसरी देख्यौ नि कोठा ? गाह्राे भएन खोज्न ?’

‘लाज नभएको ! हेर न, कोठा सर्ने भएपछि एकचोटी त भन्नुपर्छ नि ! म पनि त सघाउँथे तिमीलाई । आपूm भने ऊ भनेपछि यति तड्पिने, उसलाई भने मतलब नै छैन । थाहा छ तिमीलाई ? म दस बजेदेखि हिँडेको, बल्ल यसबेला फेला पारेँ ।’

‘सरि सरि भेटाइहाल्यौ नि अब नरिसाऊ न ।’ तर उसको मनभित्र भने लाज, डर र रिस एकैचोटी उम्लिरहेको थियो रेशमासँग । कहीँ गए नि धर नदिने भई यस केटीले । म कसरी उम्किनु यो केटीसँग ? ‘म तिमीलाई मन पराउँदिन’ भन्दा पनि ‘तिमीले मन नपराए के भो त ? म एक्लैले मन पराउन पाउँछु नि तिमीलाई होइन ?’ भन्ने जबाफ फर्काउँछे ।

त्यस दिन कोठाभित्र पस्ने बित्तिकै धेरै वर्षपछि भेटेको प्रेमीलाई झम्टिएझैँ गम्लङ अँगालो मारी उसले । निधार, गाला, ओठ सबैतिर मायाको वर्षा बर्साउदै उसले सन्देशलाई आफ्नो अँगालोमा बेह्री । सन्देश जवान युवक, मस्त तन्नेरी किन सम्हालिन सक्थ्यो विपरीत लिङ्गीको छुवाइमा अनि त्यो नारी गन्धमा ? रेशमाको यो मायालु वर्षाले सन्देशको मनलाई आह्लादित बनाइरह्यो । रोक्न सकेन उसले बिर्सियो राष्ट्रबैंकको अधिकृत, अनि बिर्सियो आफुलाई । रङगिन थाले जवानीका रङ्गहरूमा मस्त दुवै । तर अन्तिम विन्दमा आएर बोल्छे रेसमा– ‘म भर्जिन छु, के तिमीले मलाई विवाह त गर्छाै नि ?’ नारीले जस्तो मुटुले माया गर्ने जात भए पो । पुरुष मोरो न परियो लिङ्गबाट माया गर्ने जात के बुझन सक्थे उसको पवित्र मायालाई ।

त्यसैले पनि होला उनको यस बाक्यले मलाई यतिसम्म चिस्यायो कि हिउँको रासमाथि फ्याँकिएको मुढोजस्तो जड भरत भइ रहेँ केही क्षण त । होसमा फर्किएर सम्हालेँ आफूलाई, बेहोशी लडाइँबाट ।

रेसमाको सामिप्यतालाई सरक्क छोडेर उठेँ । पुरुषले नारीमा स्वास्नीपनबाहेक अरू कयै देख्नै सक्दैन, सोच्नै सक्दैन भन्थे हो रहेछ कि के हो म रेसमालाई माया गर्न र अपनाउन सक्दिन भन्दा भन्दै पनि कसरी चिप्लिन पुगेँ उसको शारीरिक आकार्षणमा ।

सन्देश चुरोटको बट्टाबाट एउटा चुरोट झिक्छ र लाइटर बालेर सल्काउँछ । एक सर्काे तानेर फू गर्दै धुँवा माथितिर फुक्छ र दलिनतिर हेर्छ अनि सोच्दछ । हुन पनि किन यस्ता रूपमय अनि हर विन्दुबाट हेर्दा अद्भूत लाग्छन् स्त्री जाती । नचाहँदा नचाहँदे पनि फस्न पुग्छ पुरुष । त्यही बेमौसमको एक झर पानी जस्तौ ह्वार्र आयो एक झर पर्‍य अनि सिद्धिनलाई किन हो पुरुषलाई स्त्रीपत्ति यत्रो मोह ।

ऊ फेरि फर्कन्छ, त्यही विस्मृतिमा … त्यसपछि आफू ठिक छु या गलत छुट्याउनै सक्दैन । केही क्षण अन्यमनस्क भएर झ्यालबाट बाहिर हेरेर उभिइरहन्छ । रेशमातिर फर्केर आँखा जुधाउने आँटै गर्न सक्दैन । रेशमा पनि कोठाको एक छेउमा बसिरही सन्देशलाई हेर्दै । दुवै मौन थिए । कोठामा सन्नाटा छाएको थियो ।

आज सोच्दै छ सन्देश, त्यस दिन कुनै घटना घटेको भए । सायद उसको जीवनको रङ्ग अर्कै हुने थियो होला । अन्तिम क्षणमा फर्किएको होशले उसका पुरुषत्वमा धावा बोलेको त थियो । तर आज सोच्दा सही नै गरेँ जस्तो लाग्छ उसलाई । उसको जीवनको केटीसँगको त्यो पल पहिलो थियो, नितान्त पहिलो ।

त्यसपछि भने सन्देशले रेसमालाई कहिलै भेटेन । भेट्ने कोसिस पनि गरेन । तर सुनेको छ, हाल रेसमा अमेरिकामा आफ्नो श्रीमानसँग बस्दै छे रे ।

सन्देश पल्टिरहेको खाटबाट उभिन्छ र झ्यालनजिकै जान्छ । वाहिर देखिएको समुन्द्र नियाल्छ अनि त्यसको छेउछाउमा अङकमाल गरिरहेका जोडीहरूलाई हेर्छ । यूकीसँग दुई–चारचोटी ऊ पनि त्यो समुद्रको किनारामा टहल्लिसकेको छ, यूकीलाई अंगालोमा बेर्दै ।

‘आजका दिनहरूमा भने म मायाका परिभाषामा केही बोल्न सक्ने अनि बुन्न सक्ने भएको छु ।’ भन्छन् मायामा आपूmलाई बिर्सिएर, आफैलाई त्यागेर सबै उसैमा समर्पित हुनु अनि उसैको लागि बाच्न र मर्न मन लाग्नु, उसैको खुसीमा आफू रमाउनु, उसका आँखामा आफू छाउनु, सम्पूर्ण मन, शरीर र चेतना नै उसैमा समावेश भएको लाग्नु अनि आफूलाई उसैमा पूर्ण रूपमा समर्पण गर्नु प्रेम हो रे ।’

‘आखिर प्रेम यस्तो हुन्छ भने रेसमाको त्यस्तो मरिहत्ये प्रेम ममा थियो । अन्तिम अबस्थामा आएर किन भर्जिनको बाहना गरी ?’ सायद मनको मायाको भित्रि प्रहर चाहन्छन् नारी न कि पुरुष जस्तो लिङ्गको माया मै अल्झिने बुख्याँचा ।

‘सायद पुरुषको माया र नारीको मायामा यही फरक छ । पुरुष चाहन्छ– मायाका सम्पूर्ण रूपलाई अंगाल्न पाइयोस् । तनबाट अनि मनबाट । तनलाई अनि मनलाई– स्पर्श गर्न पाइयोस् । कहीँ बाँकी नरहोस् माया पोखिन । अझ मायाको अन्तिम गन्तव्य भनेको तनको समर्पणमा नै देख्छ पुरुष । अझ भनौ यौनको स्वखलन मै दैख्छ प्रेमलाई पुरुष । यो पुरुषको कमजोर पक्ष हो या पूर्ण रूपको समर्पण । तर यसैलाई नारीहरू पुरुषका मायालाई बासनाको नाम दिन्छन् । अनि पुरुषको मायालाई स्वार्थको गन्धको टिको लगाएर बिटुल्याई दिन्छन् ।

‘नारी माया गर्छु भन्छन् । तर मायामा शरीरको समर्पणको कुरा आउँदा एउटा एउटा बाहनामा कन्जुस् गर्दछन् ? मैले नबुझेको प्रश्न यही हो नारीहरूसँग ? हुन त नारीहरूको पनि के दोष हामी पुरुष जता भौंतारिए पनि सुहागरातको क्षणमा कुमारी श्रीमती कै कामना गर्दछौं । यो त हाम्रो पनि कमजोरी हो । अझ भनौ पितृसत्ताले दिएको अहं, अनि के नारीलाई मात्र दोष दिनु उचित होला ???’

‘कहिले त यस्तो पनि लाग्छ– ‘हात्तिको देखाउने दाँत एउटा लुकाउने दाँत अर्काे’ भने झैं लाग्छ यी नारीहरूको माया पनि । हामी पुरुष मायामा दिलले सोच्छौ अरू व्यवहारमा दिमागले सोचे पनि । तर महिलाहरू यौनको मामलामा दिमागले सोच्छन्, तर अन्य व्यवहारिक मामलामा भने दिलले सोच्छन् ठिक उल्तो वितरित ध्रुव जस्तो लाग्छ यौनको मामलामा महिला र पुरूषको सोचाइ । ’

‘आज किन यहाँ जापानमा नेपालका ती घटना मेरा स्मृतिमा ताजा बनेर एकपछि अर्काे गर्दै छाउँदै छन् ? ऊ आफैसँग प्रश्न गर्छ ? फेरि खाटमै गएर बस्छ । चुरोटको धुवाँ फुक्दै सिलिङतिर हेरेर सोचमग्न हुन्छ ।

‘के सोच्दै छौ ?’ बाथरुमबाट बाहिर निस्किएर रुमालले मुख पुछ्दै यूकीले आफ्ना चिम्सा आँखाले सन्देशतिर दृष्टिफ्याक्छे ।

‘त्यस्तो केही होइन, नेपाल सम्झँदै छु ।’ अर्काे सर्काे तान्छ चुरोटको ऊ ।

‘साँच्चै ? न्यास्रो लाग्यो कि आफ्नो माटो र परिवारसम्झेर ? सन्देशलाई हेर्दै बोल्छे यूकी, ……..कतै नेपालको मायालु सम्झँदै छौ कि के हो ?’

वाथ–गाउनमा यूकीको शरीरको सुन्दरता अनि भिजेको मुहारमा उसको रूपको प्राकृतिक सौन्दर्य झल्केको छ एकैसाथ अहिले ।

‘साँच्चै भन्नुपर्दा तिमीले अहिले ठीक कुरा गर्यौ ।’ यूकीतिर लट्ठ आँखा पार्दै नसालु दृष्टि फ्याँकेर बोल्छ सन्देश– ‘तिमीसँगको यो निकटताले नै होला सायद नेपालमा घटेका मेरा सम्बन्धहरूको याद आइरहेछ यसबेला मलाई ।’

यूकी उसलाई नियालिरहन्छे । ‘माया एकचोटी मात्र हुन्छ, त्यो पनि एकैजनासँग भन्ने कुराको व्याख्या नै गलत होजस्तो लाग्दैछ आज मलाई यूकी । मान्छे यो संसारमा हरेक पल हरेकसँग मायाको आसमा पलपल बाँचिरहेको हुन्छ ।’

यूकी सहमतिमा टाउको हल्लाउँछे ।

‘आज संसारमा श्रीमतीसँग प्रगाढ माया गर्छु भन्ने श्रीमान्हरू पनि बाहिर थुप्रै प्रेमी बनाउँदै हिँड्छन् । के यो मायाको भोक होइन ? यी मलाई नै हेर । कति माया गर्ने श्रीमती छे घरमा । म पनि उत्तिकै माया गर्छु उसलाई । तर पनि तिमीसँग…। म यो बासनामात्र मान्न सक्दिन । थोरै पल भए पनि म यस सम्बन्धलाई माया कै एउटा रूप मान्छु । के यो मायाको भोक होइन ।’

‘श्रीमान् मात्र होइन आजको संसारमा श्रीमतीहरू पनि, श्रीमान्को मायामा रुझेर ओत लागे पनि बाहिरको झरीमा रुझ्न मन पराउने भएका छन् । के भन्ने यसलाई ? यो पनि त मायाकै भोक त हो ! मेरो पनि त माया गर्ने श्रीमान् छन् । यहीँ अर्काे शहर फुजियामा मा, अनि तिमीले श्रीमतीलाई गरे जस्तै म पनि त माया गर्छु मेरो श्रीमान्लाई । र पनि त तिमीसगँ…। हो म पनि मान्न तयार छु । मान्छेभित्र मायाको भोकले हरबखत पछ्यारहेकाे हुन्छ ।’

‘आखिर माया भन्ने चीजमा त संसार अडेको छ । त्यसै द्वापर युगमा कृष्णले मायाको ब्याख्या गरेका होइनन् रहेछ । सोह्र हजार गोपिनीको रासलिला यही मायाको सन्जाल अनि मायाको प्यास त रहेछ, होइन र यूकी ?’

‘सन्देश, म पनि तिम्रो यो मायाको व्याख्यामा पूर्ण सहमत छु । तिम्रो– कृष्ण र गोपिनीको माया अलि अलि थाहा छ मलाई पनि । केही थोरै कृष्णलिला पढेको छु मैले पनि ?’
‘हो र यूकी ?’ सन्देश बोल्छ ।

‘हो नि ? आखिर तिम्रो र मेरो यो सम्बन्धमा पनि त कतै न कतै माया घुसेकै छ, भलै त्यो सम्झनामा मात्र रहला दीर्घ कालमा । तर केही क्षणको भए पनि हामीले मायाको मायालु पल बिताएका छौँ । खुसी छु म यस पलमा, नेपाली माया पाएर ।’

‘म पनि त खुसी छु तिम्रो जापानी माया पाएर । म त मायाको लागि कृष्ण हुँ नी ? सन्देश लाडिँदै बोल्छ ।

हो र ? यूकी बोल्छे । धेरै छन् कि के हो तिम्रा प्रेमीकाहरू ? दुवै हाँस्छन् केही क्षण ।

‘अँ अघि भन्छु भनेको कुरा भनन । नेपालको– त्यहाँको तिमीले विताएका प्रेमिल पल ।’ उसको उत्सुकतामा अनि कौतुहलतामा छचल्केको भाव आँखाको चन्चलतामा प्रष्टिन्छ यस बेला ।

‘तिमी सुन्न चाहन्छौ यूकी मेरा सम्बन्धहरू अनि माया ! म तिमीलाई आजसम्म पनि अविछिन्न रूपमा रहिरहेको मेरो नटुक्रीएको माया सुनाउन चाहन्छु ।’

ऊ एकछिन् भनौं कि नभनौं जस्तै भएर बक्क बन्छ । तर खै के सोचेर हो कुन्नी कुरा सुरु गर्छ ।

‘त्यो दिन थियो, अफिसबाट कोठामा फर्किसकेको थिएँ । मलाई साह्रै खुसी लागेको दिन थियो त्यो । धेरै पहिलेदेखि भेट्न खोजिरहेकी साथी आज मलाई भेट्न आउँदै छे । केटी साथी । आफैले मन पराएको थिएँ उसलाई धेरै नै । मन नै फुरुङ्ग पर्दै थियो मेरो । उसको माया पाएँ भनेर पनि होला सायद । मनमा एक प्रकारको रोमाञ्च भरिएर शरीरभरि मीठो चञ्चलता फैलिँदै थियो । आफूले नसोचेको, सोचे पनि पूरा हुने आस नराखेको । त्यसैले पनि खुसीको सीमाले पार गरेको थियो ममा । नउदाउनु पर्ने ठाउँमा सूर्य उदाएको जस्तो भएको थियो मलाई । त्यसै–त्यसै मदहोश बन्दै थियो मभित्रका भावनाहरू । खुसी हुने अर्काे कारण पनि थियो । ऊ मेरै लागि, नितान्त मेरै लागि काठमाडौं आएकी थिई । उसको आगमनको व्यग्र प्रतिक्षामा प्रत्येक पल मलाई भारी लाग्दै थियो । ममा छाएको जस्तो व्यग्रता के उसमा पनि छाएको होला ? मैले उसको लागि गरेको जस्तो अनुभव के उसले पनि गरेकी होली ? नभए त्यति टाढा देखि किन मलाई भेट्न भनेर आउँथी ? म आफैभित्र दृढ निश्चय बन्दै थिएँ ।’

सोफासँगैको टि–टेबलको एस्ट्रेमा चुरोटको ठुटा कोच्दै निभाउँछ सन्देश र पुलुक्क यूकीको मुखतिर हेर्छ । यूकी चाख लिएर एकटकले सन्देशको मुख हेरिरहेकी हुन्छे ।

‘किन–किन त्यो दिन मलाई हिजो–अस्ति उसलाई लाग्ने मायाभन्दा पनि बढी माया लागेजस्तो भएको थियो । सायद उसको माया पनि मप्रति बढेको भएर होला । म आफ्नै तर्क–वितर्कमा प्रश्न र जबाफ केलाउँदै थिएँ त्यस समय । हुन त हाम्रो भेट भएको पनि धेरे भएको थिएन । केही वर्षपहिले दिल्लीको एउटा वातावरणसम्बन्धी कन्फरेन्समा भएको थियो । त्यसपछि मित्रता गाढा हुँदै गएको हो । तर पनि वर्षाैं वर्षअगाडि भेटेजस्तो लाग्दै थिई ऊ मलाई । किन हुँदै छ ममा यस्तो ?ऊप्रतिको लगाव झन्–झन् बढ्दो थियो ममा । माया एउटै नजरमा हुन्छ भन्छन्, के त्यही भएको हो त मलाई या उसको मप्रतिको समर्पण भावले गर्दा पोलेको हो मेरो मन ? म त्यस समय यस्ता कुराहरू सोच्दै क्षण–क्षण उसको प्रतीक्षामा विचलित हुँदै थिएँ । मेरो व्यग्र प्रतीक्षाको बाबजूद आइपुगी मेरो आतिथ्य स्वीकार्न ऊ अर्थात मेलिना पौड्याल । हो मेरी मेलिना ।

ढोका अगाडि उभिँदै ऊ बोली– ‘नमस्ते सन्देशजी । तपाईलाई धेरै कुराएँ है !’

एकैक्षण त म नर्वस भएँ, उसलाई हेरेको हेरेकै भएँ । पछि सम्हालिएर नमस्ते फर्काएँ र सोधेँ– ‘यात्रामा कष्ट त भएन नि मेलिनाजी ?’

उसले हल्का जबाफ दिई– ‘यात्रा भनेको भोग्ने वखत कष्टै हुन्छ । तर यसका पलहरू सम्झदा पछि भने त्यो यादगार बन्छ । तर वाईड वे तपाईको हार्दिकताले होला यात्रा गाह्राे भएन ।’

ऊ मलाई भेट्न भारतको कालिङपोङबाट आएकी थिई काठमाडौँमा । मात्र मेरै लागि । प्रवासी नेपाली थिई ऊ । भाषा मिल्ने भएर पनि होला दिल्लीमा ऊ र म छिट्टै मिल्ने साथी भएका थियौँ । त्यो कन्फरेन्स भरि । फ्रेस भएर मेरो छेउमा आएर बसी । त्यतिन्जेलसम्म मैले दुवैजनालाई खाजा तयार गरिसकेको थिएँ । खाजा खाँदै दुवैको हालचाल बुझ्यौं । बितेका याद ताजा गर्याैं ।

क्रमश रात छिप्पिदै गयो । मेरै करमा हल्का ड्रिङ्क गर्‍याैं दुवैले । तर किन–किन नसाले हो या मायाले हो मलाई उसको रूपले यति लठ्यायाे कि मैले उसको गाला मुसारेर गालामा र ओँठमा चुम्वन गरेँ मायालु स्पर्शका साथ । उसले पनि अप्ठ््यारो जनाइन । मलाई झन् हौसला मिल्यो । म ‘मायामा यौन पनि प्रासङ्गिक छ’ भन्ने पक्षमा वकालत गर्नेहरू मध्येको थिएँ । या भनौँ मायाको अन्तिम गन्तव्य भनेको यौन पनि हो भन्ठान्थेँ म । फुस्स्रो मनको मायालाई मात्र म माया मान्दैनथेँ । उसको सोच के थियो मलाई थाहा थिएन । तर पनि मेरै भर र विश्वासमा यहाँसम्म एक्लै आएकी हुनाले उसको इच्छाको सम्मान गर्नु मेरो कर्तव्य पनि थियो । त्यसैले पनि यो मेरो आफ्नो प्रेमी रूपमा प्रस्तुत भएको क्रियाकलापले ऊ रिसाउँछे कि भनेर कता–कता आफैँलाई डर अनि लाज पनि लागेको थियो ।

दुवै मिलेर बनाएको थियौं खाना बेलुकाको । दुवैले दुवैको स्वादअनुसार । खाना खाँदै थियौँ । उसले मेरो मुखतिर हेरेर आफ्नै हातले मलाई खाना खुवाईदिई । बल्ल मलाई अघिको क्रियाकलापमा उसको पनि सहमति रहेछजस्तो लाग्यो र ढुक्क भएँ ।

सुपारी टोक्दै सोफामा बस्दै उसले भनेकी थिई, “सन्देशजी, नेपालको खाना त साह्रै मीठो पो हुँदो रहेछ ।’

‘हो र ?’ म मुसुक्क हाँसे, ‘कहाँ खाना मात्र ? यहाँ त के–के मीठो हुन्छ के–के ?’ म जिस्किने पाराले ऊसँग लाडिँदै बोलेँ ।

‘के–के भनेको के हो नि’ ऊ पनि जिस्किने पाराले मसँग लाडिँदै बोली । सायद नसा उसमा केही चढेको आभाष भइरहेको थियो मलाई ।

अघि खाना खाँदा नै उसले मेरो माया स्वीकारेको जस्तो लागेको थियो मलाई । पछि हट्न मन लागेन । सोफामा उसँग टाँसिएर बसेँ । उसले कुनै विरोध जनाइन । त्यसैले हौसिएर मैले बिस्तारै उसको हात आफ्नो हातमाथि राखेर मुसार्न थालेँं । आफ्नो अंगालोमा राखेर टाउको मुसार्न थालें । विस्तारै उसको चिउँदो उठाएर ओठमा मोइ खाईदिएँ । अनि उसको काखमा आफ्नो टाउको राखेर धेरै बेर सुस्ताएँ । मिठा मिठा एकअर्काका बितेका पलहरू एक अर्कालाई सुनाइरह्यौं ।

साँच्चै त्यो बेला मलाई स्वर्ग नै यही नै हो कि जस्तो भ्रम हुँदै थियो । परीकै काखमा सुतिरहेको जस्तो भान परिरहेको थियो । आफ्नै साँच्चै आफ्नै कोहीसँगको काखमा आनन्द अनुभव गरिरहेको थिएँ । उसले पनि मेरो टाउकोलाई मुसारी दिई बिस्तारै–बिस्तारै ।

उसको हातको मायालु स्पर्शहरू सुस्तरी–सुस्तरी मेरो निदार, गाला, ओठ, हुँदै गर्दनसम्म पुगे अनि उसको ओठ मेरो निदारमा । मलाई जिउभरि दुई सय भोल्टको करेन्ट लागेसरि भयो । शरीर त्यसै–त्यसै मकमकिएर नसा झनझनाउन थाले । बिस्तारै उठेर उसलाई अँगालोमा सुस्तरी बेर्न थालें……। नसाको रङ्ग दुवैमा चढेकोले होला सायद हल्का रोमाञ्चले भरिएका थिए मस्तिष्क दुवैका ।

हठात् ऊ जुरुक्क उठी र बोली– ‘बस् पुग्यो । तपाईँकी श्रीमतीलाई म धोका दिन चाहन्न । हाम्रो माया बस् यति मै टुङ्ग्याऊँ । प्रेममा यति नै पल पनि धेरै मीठो हुन्छ । तर यो बासनामा परिणत भयो भने त्यहाँ माया गनाउँछ ।

तपाईँ मेरो प्रेममा शङ्का नगर्नुहोस् ! तपाईँमा विश्वास नभएको भए, अनि तपाईँमाथि माया नभएको भए, तपाईप्रति आस्था नभएको भए अनि तपार्इँप्रति समर्पण नभएको भए आज म यहाँ हुन्नथेँ । बस् शरीरसँगै हराउने यौनिक मायाको भोको छैन म । शरीरतत्वको अधीनमा मायालाई बिसाउनु छैन । मलाई त्यो माया दिनुहोस्, मनको माया ! किनकि मन मात्र हाम्रो आफ्नो हो जो अरूले खोस्न सक्दैनन् र हामीले पनि रोक्न सक्दैनौँ । जो मरेर गए पछि पनि त्यो अनन्त यात्रामा सधैं साथ रहोस्– राधाकृष्णले गरेका प्रेम जस्तो प्रम । प्रेममा म सेक्स चाहन्न । केवल प्रेम चाहन्छु ।

शारीरिक प्रेम र आत्मिक प्रेमको अन्तरलाई बुझ्नुहोस सन्देश जी ! शारीरिक प्रेम केवल शरीरको वरिपरि घुम्छ, यो उमेरसँगै हराउँछ । तर आत्मिक प्रेम शरीर तत्वभन्दा माथि हुन्छ । त्यसले आनन्द मात्र भोग्छ र प्रेमको सही तत्ववाेध गर्छ । के दिन सक्नु हुन्छ यस्तो प्रेम…?’

म उसको प्रश्नमा निरुत्तरित भएँ । आफूले सोचेको नपाउँदा कता–कता मलाई ऊसँग रिस पनि उठ्ताे । उसको माया सही हो या मेरो माया, मैले त्यस समय छुट््याउन सकिन । आजसम्म पनि यही दुविधामा नै छु । ऊ सही हो या म ।

उसलाई मैले भनेको थिएँ त्यसबेला, ‘तपार्इँको इच्छाको कदर गर्नेछु, बस् । मेरो मनले जे सोचे पनि म तपाईँलाई दुःख हुने काम गर्ने छैन । ढुक्क हुनुहोु्स् मलिना जी ।’ त्यस पछि पनि उसको र मेरो फोनमा कुरा भई नै रहने गरेको छ । आजसम्म पनि । अघि बिहान उसले फोन गरेकी थिई मलाई । भन्दै थिई, ऊ विवाह गर्दै छे रे यही महिना ।”

यतिन्जेल सन्देशको प्रेमिल–अतित सुनेर बसेकी यूकी बोली– ‘यस्तो विपरीत सोचाइ भएका व्यक्तिबीचको माया पनि यतिन्जेलसम्म टिकेको देखेर मलाई अचम्म लाग्यो सन्देश जि । तपाईँहरूको मायालाई म स्यालुट गर्छु ।’

‘अनि तिम्रो र मेरो यो मायालाई कुन रूपमा लिन्छ्यौ त यूकी ?’,  सन्देशको अप्रत्याशित प्रश्न तेर्सियो यूकीको सामु ।

सन्देशको प्रश्नवीच निकैबेर सोचमग्न भइरही यूकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment