Comments Add Comment

कास्की प्रहरीको स्वीप अप्रेसनः एकै दिन ९१ जना पक्राउ

७ जेठ, पोखरा । कास्की प्रहरीले स्वीप अप्रेसन सुरु गरेको छ । हप्ताको एक दिन गरिने स्वीप अप्रेसनका क्रममा एकै दिन ९१ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुलाई सन्देहात्मक गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

यौन धन्दामा संलग्न ६ जना पक्राउ

कास्की प्रहरीले अवैध यौन धन्दामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीको निर्देशनमा खटिएको प्रहरी टोलीले पोखरा लेखनाथ महानगरपालिका-७ शान्तिनगरस्थित बिशाल गेष्ट हाउसबाट १ पुरुषसहित ६ जनालाई पक्राउ गरेको हो ।

अबैध यौन धन्दा सञ्चालन गरिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले १ पुरुष र ५ महिलालाई गेष्ट हाउसबाटै नियन्त्रणमा लिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरी कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक -एसपी) रानाले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको उनले बताए ।

ठूलो मात्रामा लागू औषधसहित १० पक्राउ

कास्की प्रहरीले लागू औषध नियन्त्रण महाअभियान अन्तर्गत गरेको सर्च अभियानमा ठूलो मात्रामा लागू औषधसहित १० जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीका अनुसार पोखरा १८ सेदी बगरबाट लागू औषध कारोबारमा संलग्न २१ वर्षीय ईश्वर परियारलाई पक्राउ गरिएको छ ।

उनको साथबाट ६ केजी २ सय ५० ग्राम चरेश, १ केजी खैरो चरेश, डाइजापाम ५ सय ४ थान, फेनरागन ५०४ थान, नुफिर्न ५०४ थान र ११८ थान नाइट्रोजन चक्की बरामद गरिएको छ ।

त्यस्तै पोखरा ६ खहरेबाट मकवानपुर पालुङ नगरपालिका वडा नम्बर २ घर भएका ६८ वर्षीय कर्णबहादुर गोलेलाई १ केजी खैरो चरेशसहित पक्राउ गरिएको छ । सोही ठाउँबाट ४० वर्षीय लक्ष्य परियारलाई २ सय ५० ग्राम चरेशसहित पक्राउ गरिएको छ ।

पोखरा ६ डिहिकोपाटनबाट १ केजी खैरो चरेशसहित सर्लाहीको नवलपुर ७ निवासी ३२ वर्षीय निरज कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखरा २ मिरुवाबाट धादिङ निलकण्ठ नगरपालिका-१३ बस्ने ३७ वर्षीय कर्णबहादुर गुरुङलाई डाइजापाम ३ सय ५० थान, फेनार्गन ३५० थान र नुफिर्न ३५० थानसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले पोखरा ७ मासवारबाट पोखरा ५ मालेपाटनका दिपेश थापा र भुजुङखोलाबाट २४ वर्षीय अरबिन बास्तोलालाई डाइजापाम ४७ थान, फेनार्गन ४७ थान र नुफिर्न ४७ थानसहित पक्राउ गरेको छ ।

पोखरा १८ धारापानीबाट स्थानीय राजेश विक र पोखरा २५ हेमजाका २९ वर्षीय सञ्जीव पूर्जा मगरलाई डाइजापाम १०७ थान, नुफिर्न १०७ थान, फेनागर्न १०७ थान र नाइट्रोजन ११८ थान चक्कीसहित पक्राउ गरिएको छ ।

यसैगरी नुवाकोट तार्केश्वर गाउँपालिका वडा नम्बर ३ घर भइ पोखरा माछापोखरी बस्ने ४० वर्षीय जुठे भनिने विष्णु परियारलाई पोखरा ६ जरेबरबाट ३ केजी खैरो चरेशसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

अपराधमा संलग्न २ पक्राउ

कास्की प्रहरीले केहि सार्वजनिक अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तिराउने फैसला सुनाएपछि फरार रहेका पोखरा २७ का २४ वर्षीय अनिल सुनार र सोहि २४ वर्षीय सन्दीप सुनारलाई पनि पक्राउ गरिएको बताएको छ ।

घरेलु मदिरा बरामद

कास्की प्रहरीले पोखरा १० रामबजारबाट ठूलो मात्रामा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बेचबिखन गरिरहेको अवस्थामा बरामद गरेको जनाएको छ ।

रामबजार प्रहरी चौकीबाट प्रहरी निरीक्षक दीपकबहादुर केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी ४ हजार २५० लिटर, निर्मित घरेलु मदिरा अन्दाजी ३५० लिटर, मदिरा बनाउन प्रयोग गरिने ५ वटा भाँडा र मदिरा राख्ने प्लाष्टिकको ८८ वटा जर्किन बरामद गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment