Comments Add Comment

प्रदेश ५ मा भूगर्भीय पार्क बनाउन मुख्यमन्त्रीको निर्देशन

७ जेठ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा प्रदेशस्तरको भूगर्भीय पार्क बनाउन बुटवल उपमहानगरपालिकालाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको निर्देशनपछि बुटवल उपमहानगरपालिका नेपालको जैविक विधिता झल्किने एवं भूगर्भका बारेमा प्रत्यक्ष अध्ययन गर्न मिल्ने नमूना भूगर्भीय पार्क निर्माणमा जुटेको छ ।

भूगर्भीय पार्क बनाउन उपमहानगरले प्राविधिकहरुसहित सम्भावित क्षेत्रहरुको अवलोकन समेत गराइसकेको छ ।

यस क्षेत्रमा प्रदेश स्तरको भूगर्भीय (जिओलोजिकल) पार्क बनाउने मौखिक प्रस्ताव उपमहानगरले मुख्यमन्त्री पोखरेलसमक्ष गरेको थियो । यसमा चासो व्यक्त गर्दै मुख्यमन्त्रीले उपमहानगरलाई तत्काल जग्गा खोज्न र डीपीआर बनाउन निर्देशन दिएका थिए ।

भूगर्भिय महत्वको स्थलहरुलाई समेटी त्यस्ता सम्पदाको प्रर्यटनका माध्यमबाट संरक्षण र प्रवर्द्धनका लागि बनाइने पार्कलाई जियोलोजिकल पार्क भनिन्छ ।

भूगर्भीय प्रक्रिया लगायत ती पार्कमा फेला परेका पुरातात्वीक र वैज्ञानिक महत्वका जिवांशहरुको सुरक्षा र प्रवर्द्धन गर्दै प्रर्यटन क्षेत्रलाई फस्टाउने उद्देश्य सहित युनेस्कोले यो परिकल्पना ल्याएको हो ।

हाल विश्वमा यस्ता पार्कहरुले वातावरणीय स्रोत र साधनको संरक्षण सहितको उचित प्रयोगले स्थानीय अर्थतन्त्रलाई उल्लेख्यरुपमा परिवर्तन गरेका उदाहरणहरु छन् ।

भूगर्भीय पार्क बनाउन शिवनगर सामुदायिक वन क्षेत्र, हिलपार्क परिषद् क्षेत्र, मणिमुकुन्द सेन उद्यान क्षेत्रका साथै उपमहानगरमा पर्ने अरु क्षेत्रहरुमा यसका बारेमा अध्यय्न भइरहेको बुटवलका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

सम्भावित तथा प्रस्तावित क्षेत्रहरुमा मुख्यमन्त्रीसहित प्राविधिकहरुलाई लिएर हालै प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनाल र योजना प्रमुख ईन्जिनियर सुमन श्रेष्ठसहितको टोली अवलोकनमा गएको थियो । ‘वन विज्ञान र वातावरणका विद्यार्थीहरुका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने खालको पार्क बनाउने बारेमा मुख्यमन्त्रीले डीपीआरसहितको लिखित प्रस्ताव माग गर्नभएको छ’- प्रमुख सुवेदीले भने-‘यसले हामीलाई ठूलो उत्साह जागेको छ ।’

बुटवलको झण्डै ५४ प्रतिशत भूभाग वन क्षेत्रल ओगटेको छ । वातावरण सन्तुलित राख्न करिव ४३ प्रतिशत भूमि वन क्षेत्रले ढाकेको हुनुपर्छ ।

जिओलोजिकल पार्कका लागि उपयुक्त जग्गाको यकिन हुँदासाथ डीपीआर बनाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद खनालले बताए । उनले अहिले पनि जग्गाको खोजी र प्रस्तावित क्षेत्रको अवलोकन भइरहेको जानकारी दिए ।

उपप्रमुख गोमादेवी आचार्यको नेतृत्वमा प्राविधिकसहितको टोलीले बुटवल-१२ मा रहेको जवईमा वाटर पार्क बनाउन प्रस्तावित गरिएको क्षेत्रको समेत अवलोकन गरेको छ ।

सम्भावित क्षेत्रहरुको अवस्था र सम्भावनाहरुको यकिन पछि छिट्टै डीपीआर तयार पारिने योजना प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले बताए ।

भूगर्भीय पार्कका बारेमा अध्ययन गर्न डा.सागर न्यौपानेसहितको विषय विज्ञहरुको टोली बनाएर अध्ययन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment