Comments Add Comment

हथौडा प्रहार गरी सप्तरीमा एकजनाको हत्या

७ जेठ, सप्तरी । सप्तरीमा हथौडाले हानेर एक जनाको हत्या भएको छ । सुतेको अवस्थामा काका पर्नेले भतिजाको हत्या गरेका हुन् ।

शम्भुनाथ नगरपालिका-७ भंगहाका आनन्द चौधरीले हथौडाले हानेर अजय चौधरीको हत्या गरेका हुन् ।

गत बैशाख २५ गते सुतेको अवस्थामा उनल अजयको हत्या गरेको प्रहरीले बताएको छ । अजयको हत्या गरी फरार रहेका आनन्दलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसकारण भयो घटना 

आनन्द र अजयबीच मोटरसाइकलको बिषयलाई लिएर झगडा भएको रहेछ । वैशाख २५ गते गाउँमै एक विवाह समारोह भइरहेको थियो । त्यहीं बेला आनन्दले पार्किङ्ग गरी राखेको मोटरसाइकल विजयले केही दूरीमा लगेर राखेका थिए । पाहुनाको आवतजावत शुरु भइसकेकाले अजयले अर्काे ठाउँमा मोटरसाइकल लगेर राखेको केही बेरमै आनन्दले थाहा पाए ।

आफ्नो मोटरसाइकल अर्काे ठाउँमा पुर्‍याइदिएको भन्दै आनन्दले त्यहीं बेला अजयलाई गालीगलौज गर्न थालेका थिए । यसबीचमा दुबैबीच कुटपिट समेत भएको थियो । पछि आनन्दका दाजुले उनलाई लिएर घर गए । तर, घरबाट पनि बारम्बार ‘अजयलाई छाड्दिन, जसरी पनि मार्छु’ बोलिरहेका थिए । उनको आक्रोश देखेर परिवारका व्यक्तिहरुले रातभरि डोरीले बाँधेर राखे । बिहान ३ बजेतिर उनले शौचालय जान्छु भनेपछि डोरी खोलेर छाडियो ।

‘त्यस बेलासम्म उनको आक्रोश शान्त भइसकेको ठानेर उनका परिवारले डोरी खोलेका रहेछन्’ जिल्ला प्रहरी प्रमुख मुकेशकुमार सिंहले भने, ‘शौचालय जाने बहानामा आनन्द सिधैं विजयको घर गए । र, हथौडा प्रयोग गरी ज्यान लिए ।’

विवाहमा घण्टौ काम गरेका अजय थाकेर आफ्नो घरमा सुत्न आएको केही बेरमै आनन्दले हथौडा प्रहार गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।

बच्न यस्तो प्रपञ्च !

हथौडा प्रहार गरी अजयको हत्या गरेका आनन्दले आफूलाई कसैले शंका नगरोस् भन्नका लागि प्रपञ्च रचे । तर, उनको प्रपञ्चले काम लागेन र उनी प्रहरीको गिरफ्तारमा आइसकेका छन् ।

हत्या गरे लगत्तै आनन्द शम्भुनाथ चोकमा गए । केही बेरसम्म सार्वजनिक यातायातको प्रतिक्षा गरे । तर, गाडी नपाएपछि उनी हिंडेरै लहानतिर लागे । हिंडने बेला नै उनले आफ्ना साथी सुरेश लामालाई आफू हेटौंडा पुगिसकेको जानकारी गराए । सुरेशले किन हेटौंडा गएको ? भनेर सोध्दा उनले आफूले विजयलाई मारिसकेको बताएका रहेछन्’ प्रहरी प्रमुख सिंहले भने, ‘तर उनी हेटौंडा नगइ सिरहाको लहानमै रुकेका थिए ।’

प्रहरीले अजयको हत्या भएपछि केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । त्यस क्रममा लामा पनि पक्राउ परे । र, लामाले आनन्दसँग फोनमा भएको कुरा बताएपछि सप्तरी प्रहरीले हेटौडासम्म टोली खटायो । पछि आनन्दको लोकेशन लहानमै देखिएपछि प्रहरीको ध्यान लहानमै केन्द्रित भएको थियो । र, उनलाई लहानको हस्पिटल चोकबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको एसपी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment