Comments Add Comment

ब्रिक्स क्याफेः पारिवारिक माहौल, थरिथरिका स्वाद

कुपण्डोलको ‘ब्रिक्स क्याफे’ यस्तो जक्सन हो, जहाँ कलाकर्मीको जमघट हुने गर्छ । खासगरी मह सञ्चारसँग सम्बन्धित कलाकर्मीको । हास्य अभिनेता हरिवंश आचार्यदेखि किरण केसीसँग भेटघाटको मेलोमेसो मिलाइयो भने, त्यहीँ पुगे हुन्छ ।

त्यसो त यो रेष्टुरेन्ट मोहितवंश आचार्यले सञ्चालन गरेका हुन्, जसलाई हरिवंशका कान्छो छोरो भनेर चिनाइरहनु पर्दैन । उनको आफ्नै चिनारी छ । हँसमुख एवं मिलनसार मोहितवंश अक्सर त्यही क्याफेमा आगन्तुकको स्वागत गरिरहेका हुन्छन् । बेलामौकामा सिनेमामा पनि देखा पर्छन् ।

ब्रिक्स क्याफे कलाकर्मीको मात्र जक्सन होइन, यो विशुद्ध पारिवारिक रेष्टुरेन्ट हो । तपाई परिवारसहित कुनै जमघट गर्ने योजनामा हुनुहुन्छ भने, ब्रिक्स क्याफे उपयुक्त थलो बन्नसक्छ ।

पारिवारिक रेष्टुरेन्ट

कुपण्डोलको व्यस्त सडकसँगै जोडिएको छ, ब्रिक्स क्याफे । आउजाउ गर्न कुनै झन्झट मोल्नुपर्दैन । बाहिर भीडभाड र जतिसुकै धपेडी देखिए पनि रेष्टुरेन्टभित्रको माहौल फरक छ । जसै ब्रिक्स क्याफेको प्राङ्गणमा टेकिन्छ, कुनै परम्परागत घर सामुन्ने देखा पर्छ । करिब सय बर्ष पुरानो यो घरको लुक्स शहरभित्र भेटिने घरमध्येमा दुर्लभ जस्तो लाग्छ ।

इँटाले बनिएको तर सिमेन्टको लेपन नलागाइएको रेष्टुरेन्ट पस्नसाथ तपाईंको एउटा जिज्ञासा स्वतः शान्त हुन्छ, किन क्याफेको नाम ‘ब्रिक्स’ राखियो । ‘खासमा इँटाले बनेको घर भएकाले यसैको नाममा ब्रिक्स क्याफे राखिएको हो’ मोहितवंश भन्छन्, ‘झट्ट सुन्दा युनिक लाग्ने र स्मरण पनि भइरहने नाम हो भन्ने लाग्यो ।’ टुरिज्म म्यानेजमेन्टमा स्नातकको पढाइ सिध्याएपछि मोहितले रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन्, करिब ६ वर्षअघि ।

किन जाने ?

पारिवारिक वातावरणमा रमाइलो गर्नका लागि ब्रिक्स क्याफे जान सकिन्छ । परम्परागत शैलीको घरभित्र परिकार भने कन्टिनेन्टल, नेपाली सबैथरि पाइन्छ । ब्रिक्स क्याफेको आफ्नै परिकारको स्वाद पनि लिन सकिन्छ । एक पटकमा एक सय ५० जना अटाउन सक्ने रेष्टुरेन्टमा कुनै इभेन्ट तथा सेमिनार आयोजना गर्ने व्यवस्था पनि छ ।

रेष्टुरेन्टको आन्तरिक सज्जा यस्तो किसिमको छ, मानौं त्यो कुनै पारिवारिक घर हो । वातावरण शान्त छ । हरियाली छ । अघिल्तिरको बगैंचामा बसेर रमाइलो गर्न सकिन्छ । मिठो-मसिनो खान सकिन्छ । व्यस्त सडकसँगै जोडिएको भए पनि रेष्टुरेन्ट प्राङ्गण टेकेपछि शान्त माहौल पाइन्छ । न भीडभाड, न होहल्ला ।

सुविधायुक्त छ । शान्त छ । सर्भिस पनि छिटो-छरितो छ । मेनुमा अनेकथरि परिकार छन् । तर, त्यती महंगो पनि छैन ।

रेष्टुरेन्टमा हरेक साँझ ७ बजेदेखि नेपाली कल्चरल डान्स हेर्न पाइन्छ । हरेक हप्ताको शनिवार र शुक्रबार लाइभ म्युजिकको स्वाद पनि लिन पाइन्छ ।

कस्तो छ परिकार ?

भट्टीमा पकाएको पिज्जा तथा च्याउको छोयला यहाँको विशेष परिकार हुन् । यी परिकारको स्वाद अन्यत्र सायदै पाउन सकिएला ।

त्यसबाहेक नेवारी परिकार, मम, चाउमिन लगायत अनेकथरिका परिकार यहाँ पाइन्छ । तपाइको जिब्रोको स्वादअनुसार जस्तो पनि खानेकुरा यहाँ पाक्छ । कन्टिनेन्टल, इटालियन एवं नेपाली परिकारहरू यहाँ उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment