Comments Add Comment

तिलोत्तमाका विद्यालयमा जंक फूड निषेध

विद्यालयमै दिवा खाजाको व्यवस्था

८ जेठ, बुटवल । तिलोत्तमा नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा जंक फुड निषेध गरेको छ ।

जंक फुडले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले स्थानीय सरकारले निषेध गरेको हो । बालबालिकाले जंक फुड प्रयोग नगरुन् भन्ने उद्देश्यले नगरपालिकाले सबै सामुदायिक विद्यालयका बाल विकास केन्द्रलाई विद्यालयमै खाजा बनाएर खुवाउन रकम दिएको छ ।

नगरपालिकाले प्रतिबालबालिका प्रतिदिन २५ रुपैयाँ दिवा खाजाका लागि विद्यालयलाई दिएको हो । नगरपालिकाभित्रका ४३ सामुदायिक विद्यालयमा करिब १७ सय जना बालबालिका बालविकास केन्द्रमा भर्ना भएका छन् ।

यस्तै सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई टिफिन बक्स वितरण शुरु गरेको छ । अब विद्यार्थीले घरमै तयार भएको खाजा टिफिन बक्समा बोकेर स्कुल आउनेछन् ।

घरबाट खाजाका लागि पैसा नदिन पनि नगरपालिकाले अभिभावकसंग आग्रह गरेको छ । विद्यार्थीको स्वास्थ्यसंगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन दिवा खाजा कार्यक्रम ल्याइएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

आउँदो नीति तथा कार्यक्रम र वजेटमा सबै सामुदायिक विद्यालयका कक्षा १० सम्मकै विद्यार्थीलाई घरको खाजा खुवाउने गरी नीति तथा कार्यक्रममा समावेश गरी वजेट विनियोजन गर्ने लक्ष्य रहेको बताए ।

दिवा खाजा अभियानले सामुदायिक विद्यालयको विद्यालयको शैक्षिक गुणस्तर बृद्धिसंगै दीर्घकालमा स्वस्थ नागरिक उत्पादनमा समेत कोशेढुंगा सावित हुने शान्ति नमूना माविका प्राचार्य कूलप्रसाद लामिछाने बताउँछन् ।

जंक फूड निषेधका लागि नगरपालिकाले अनुगमनलाई प्रभावकारी र कडाइ गर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । यसअघि तिलोत्तमा नगरपालिकाले नगरपालिकामा प्लास्टिक झोला र गिलास निषेध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment