९ जेठ, गौशाला । महोत्तरीमा उखु खरिद बापतको रकम भुक्तानी नदिएको भन्दै किसानहरुले नेपालकै ठूलो चिनी उद्योगमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
गौशाला नगरपालिका रामनगर-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा उखु खरिद बापतको भुक्तानी रकम माग गर्दै किसानहरुले तालाबन्दी गरेका हुन् ।
किसानहरुले तालाबन्दीसँगसँगै बिहान देखि बेलुका ५ बजे सम्म मिलको मुख्य गेट अगाडि धर्ना समेत दिने गरेका छन् ।
एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा किसानहरुले तीन दिनदेखि तालाबन्दी गरेका हुन् ।
पटक-पटक उखु खरिद बापतको भुक्तानी माग गर्दासमेत मिल प्रशासनले भुक्तानी दिन आलटाल गरेकोले बाध्य भएर मिलमा तालाबन्दी गर्नुपरेको उखु उत्पादक कृषक संघका अध्यक्ष नरेश सिंह कुशवाहाले बताए ।
तालाबन्दी गरेपनी चिनी मिलमा लागेको ताला खुलाउन र उखु किसानको रकम भुक्तानी दिलाउन मिल र स्थानीय प्रशासनले अहिलेसम्म कुनै चासो नलिएको उनको गुनासो छ ।
स्थानीय प्रशासनदेखि प्रदेश सरकारसम्मलाई समेत कृषकको भुक्तानी दिलाउन पहल गरिदिन पटक-पटक आग्रह गर्दासमेत कही कतैबाट कुनै सुनुवाइ नभएको बताए ।
चिनी मिलमा आ-आफ् नो उखु बिक्री गरी महिनौदेखि भुक्तानीको पर्खाइमा बसेका महोत्तरी, धनुषा, सर्लाही र रौतहटका २५ हजारभन्दा बढी उखु किसानहरुको भुक्तानी नदिएपछि मिल प्रशासनविरुद्ध आफूहरु आन्दोलित हुँदै तालाबन्दी गरेको कृषकहरुले बताएका छन् ।
करिब दुई अर्ब भुक्तानी हुन बाँकी
किसानहरुको उखु खरिदबापतको मिलले १ अर्व ७८ करोड ९९ लाख ७२ हजार ६ सय ५७ रुपैयाँ उखु किसानहरुलाई भुक्तानी दिन बाँकी छ ।
२ अर्ब २२ करोड भुक्तानी दिनुपर्नेमा ४४ करोड मात्रै भुक्तानी दिएको अध्यक्ष कुशवाहले बताए ।
चिनी मिलले कृषकसँग उखु खरिद गरेको चार महिना भन्दा बढी बितिसक्दासमेत किसानको बक्यौता रकम भुक्तानी गर्नुको साटो दुःख दिने काम गरेको बताए ।
उचित मूल्य पाउनेदेखि, भुक्तानी लिनसम्म पटक-पटक मिलले कृषकहरुलाई दुःख दिने गरेको र प्रत्येक वर्ष यसरी नै किसानहरु आन्दोलित हुने गरेका छन् ।
अध्यक्ष कुशवाहका भन्छन्-‘उखु जती गुलिलो छ, उखु कृषकहरुको पीडा पनि उतिनै तितो छ ।’ खेती गर्ने बेलादेखि उखु खरिदकेन्द्र वा मिलगेटमा उखु आपूर्तिको लागि पूर्जि लिन समेत सघर्ष गर्नुपर्ने उनले बताए ।
यसैबीच उखु काट्ने समय भइसक्दा पनि उखुको मूल्य समयमै नतोकिँदा महोत्तरीका उखु किसानहरुको उखु आधा जसो खेतमा नै सुक्ने गरेको र उखु कृषक पलायन हुने गरेको २० वर्षदेखि उखु खेती गर्दै आएका उखु कृषक महोत्तरी गौशाला १ का राजकिशोर महत्तोले बताए ।
समयमा मूल्य नतोकिनु, भुक्तानीमा हैरानी हुन थालेपछि यस क्षेत्रमा प्रमुख बालीको रुपमा रहेको उखु खेती बिगतको वर्षभन्दा झण्डै ५० प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।
प्रत्येक वर्ष उखुको मुल्य समयमै नतोकिनु र लागत अनसारको मुल्य नपाउनु र तोकिएको मूल्य पनि समयमै नपाउनु उखु खेती घट्नु र कृषक पलायनको प्रमुख कारण भएको गौशाला नगरपालिका-१ का कृषक रामबावु यादवले बताए ।
मिलले कृषकहरुलाई सधै दुख दिने नियती राखेको किसानहरुको आरोप छ । वर्षभरी दुःख गरेर लगाएको बालीको आफ्नै पैसा माग्दासमेत मिलको हैकम सहनुपर्ने कृषक राजकिशोर महत्तोले बताए ।
उखु खेती छोड्दै किसान
चिनी मिल क्षेत्र वरीपरीका धेरै किसान उखु खेती छाडेर धान, मकै जस्ता अन्न बाली र व्यावसायिक तरकारी खेतीमा लाग्न थालेका छन् । ‘साहु माजनसँग चर्को व्याज र खेत बैंकमा राखेर ऋण लिएर खेती गरिन्छ र समयमा भुक्तानी नपाउँदा किसानहरुको पीडा कस्ले बुझिदिने ?’ अध्यक्ष कुशवाहले प्रश्न गर्दै भने,’ बैंकले किसानको नाममा लिलान पत्र बुझाउँदा त्यो पीडा बयान गर्न सकिदैन ।’
उखुमा निर्भर भएकोले भुक्तानी नपाउँदा घरखर्च चलाउन समेत अप्ठेरो भएको भन्दै किसानहरुले भुक्तानीका लागि पहल गरिदिन सबैसँग आग्रह गरेका छन् ।
नेपालकै ठूलो चिनी उद्योगको रूपमा रहेको यो मिल २०७४ पुस ७ गतेदेखि चैत २४ गतेसम्म ४२ लाख ५९ हजार ७ सय ४४ क्वीन्टल उखु खरिद गरेको थियो ।
खरिद गरिएको उखुको भुक्तानी भने अहिलेसम्म किसानहरुले पाउन सकेको छैन । प्रति क्वीन्टल ५ सय ३१ रुपैया २० पैसाका दरले मिलले किसानहरुलाई पुस महिना भित्रको ८ लाख ८० हजार क्वीन्टलको मात्र भुक्तानी गरेको थियो । त्यसपछि खरिद भएको बक्यौता रकम किसानहरुले पाउन सकेको छैन ।
प्रतिक्रिया 4