Comments Add Comment

गंगा दशहरा आज, के छ यसको महत्व ?

जेठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्व छ । दस प्रकारकाा पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुन्छन् ।

यो वर्ष जेठ महिनामा अधिक मास परेको छ । जुन वर्ष जेठ महिनामा अधिक मास पर्छ त्यो वर्ष अधिक मासमै गंगा दशहरा पर्व मनाइन्छ न कि शुद्ध जेठ महिनामा । आजको दिन रसुवा जिल्लाको गोसाइँकुण्डमा श्रद्धालुहरुको भीड लाग्छ ।

पुराणहरू के भन्छन् ?

गंगाको महत्वका विषयमा स्कन्द पुराणमा लेखिएको छ- जेष्ठ शुक्ल दशमीलाई संवत्सरमुखी मानिएको हुँदा यस दिन स्नान र दानको विशेष महत्व छ । यसमा स्नान र दान रूपात्मक व्रत हुन्छ । कुनै पनि नदी वा तलाउमा गएर अघ्र्य तथा तर्पण गर्नु विशेष फलदायी हुन्छ । यसो गर्नाले पहापातक बराबरका दश पापहरू छुट्दछन् । यदि ज्येष्ठ शुक्ल दशमीका दिन मंगलवार भयो र  हस्ता नक्षत्र पनि पर्‍यो भने त्यो सम्पूर्ण पापको नाश गर्नेवाला हुन्छ ।

वराह पुराणका अनुसार जेष्ठ शुक्ल दशमी बुधवारका दिन हस्त नक्षत्रमा गंगा नदी स्वर्गबाट पृथ्वीमा अवतीर्ण भएकी थिइन् जसले सम्पूर्ण पाप नाश गर्दछिन् । यसकारण यो दिनलाई दशहरा भनिएको हो । जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, हस्त नक्षत्र, गर, आनन्द, व्यतिपात, कन्या राशिका चन्द्र, वृष राशिका सूर्ययुक्त दस योगको मिलन भएका दिनमा स्नान गर्नाले मानिसका सबै पाप पखालिन्छन् ।

स्कन्द पुराणका अनुसार जो मानिसले दशहराका दिन गंगाको पानीमा उभिएर स्कन्द पुराणमा वणिर्त गंगा दशहरा स्तोत्र दशपटक पढ्छ, उसका सबै कष्ट नाश हुन्छन् । दरिद्रता एवं असमर्थता भएकाहरूले समेत सम्पूर्ण सामग्री तयार पारेर विधिपूर्वक गरिने गंगापूजाकै फल प्राप्त गर्दछन् ।

गंगा दशहराको पौराणिक कथा

एक समयको कुरा हो । सूर्यवंशी महाराज सगरले ९९ अश्वमेध यज्ञ विधिपूर्वक पूरा गरिसकेपछि सयौं यज्ञका लागि आफ्ना ६० हजार पुत्रहरूको रक्षामा घोडा यज्ञको छाडे । सयौं यज्ञ पूरा भएमासहगर पनि इन्द्र हुने भएकाले त्यसो हुन नदिन इन्द्रले उक्त घोडा चोरेर महर्षि कपिलको आश्रममा लगेर बाँधिदिए । सगर पुत्रहरूले घोडा नदेखेपछि चारैतिर खोजी गरे ।

सारा संसार खोजी गर्दा पनि घोडा नभेटेपछि बलवान् सगर पुत्रहरूले पृथ्वी खन्न सुरु गरे । अन्ततः घोडा कपिल मुनिको आश्रममा चरिरहेको अवस्थामा फेला पर्‍यो । नजिकै महषिर् कपिल समाधिमा लीन थिए । बलको जोशमा सगर पुत्रहरूले होस गुमाए र कपिललाई नै घोडाचोर ठानेर चोर चोर भनेर कराउन तथा उनको अपमान गर्न थाले ।

महषिर् कपिलको समाधि भंग भयो । उनले रोषपूर्वक आँखा उघारेर हेर्दा आगाको मुस्लो निस्कियो र त्यसले सगर राजाका सबै पुत्र तथा अश्वरक्षक सैनिकहरूलाई भष्म तुल्यायो ।

समयमा यज्ञीय घोडा नआइपुगेपछि राजा सगरले नाति अंशुमानलाई यज्ञको घोडा खोज्न पठाए । अंशुमानले कपिल मुनिको आश्रमसम्म पुगेर घोडा फेला पारे । उनले घोडा लिएर आए । सबै वृत्तान्त बुझिसकेपछि सगर आफ्ना पुत्रहरूको मुक्तिका लागि गंगालाई पृथ्वीमा ल्याउने उद्देश्यले राज्य नाति अंशुमानलाई सुम्पिएर तपस्या गर्न गए । तपस्याकै क्रममा उनको मृत्यु भयो ।

पछि अंशुमान पनि आफ्ना छोरा भगीरथलाई राज्यभार दिएर गंगालाई पृथ्वीमा ल्याउने उद्देश्यका साथ तपस्या गर्न गए । यसमा उनी सफल भएनन् । उनको पनि मृत्यु भयो ।

भगीरथका सन्तान थिएनन् । पितृहरूलाई मुक्ति प्रदान गर्ने उद्देश्यले उनी राज्य मन्त्रीहरूलाई दिएर गर या मरको स्थितिमा तपस्या गर्न गए । उनको तपस्याबाट प्रसन्न भएका ब्रह्माजीले उनलाई गंगा पृथ्वीमा लैजाने वरदान त दिँदै भने, ‘भगीरथ ! गंगालाई पृथ्वीमा त लैजान्छौ नै तर गंगाको वेग थाम्न पृथ्वी समर्थ होलिन् ? यो बुझेका छौं ? गंगाको वेग थाम्ने शक्ति केवल महादेवमा छ, पहिले उनलाई खुसी तुल्याऊ ।’

ब्रह्माको परामर्शपछि भगीरथले महादेवको तपस्या गरेर उनलाई खुसी तुल्याए र महादेवबाट गंगाको वेग थाम्ने आश्वासन पाए ।

गंगा संसारै बगाउँछु भनेझैँ गरी वेगले पृथ्वीमा झरिन् । महादेवले गंगालाई आफ्नो विशाल जटामा थापेर त्यहीँ नै बन्दीजस्तो बनाइदिए । फेरि भगीरथले महादेवको पुकारा गरेपछि महादेवले सातवटा प्वाल पारेर गंगालाई छोडिदिए ।

भगीरथ रथमा अघिअघि गंगा त्यही बाटोमा पछिपछि हुँदै अघि बढ्दै थिए । बाटोमा महर्षि जन्हुको आश्रम पथ्र्यो । गंगाले उनको आश्रम बगाइदिइन् । यसबाट रिसाएका महर्षि जन्हुले योगबलको प्रयोग गरी सम्पूर्ण गंगा पिइदिए । गंगा सुकिन् ।

भगीरथले फेरि महर्षि जन्हुसित प्रार्थना गरे आफ्नो समस्यमा सुनाए । अनि जन्हुले आफ्नो घुँडा चिरेर गंगालाई निकालिदिए । त्यसैकारण गंगालाई जान्हवी पनि भनिन्छ ।

अन्ततः भगीरथले गंगालाई कपिल मुनिको आश्रमसम्म पुर्‍याए । गंगाको जलमा खारानी मिसिएपछि सगर पुत्रहरू सबै मुक्त भए । गंगालाई भगीरथले पृथ्वीमा ल्याएको हुनाले भागिरथी पनि भनिन्छ ।

यसरी भगीरथले अथक प्रयास गरेर ल्याएको गंगा आजसम्म पनि पृथ्वीमा रहेकी छिन् । वातावरण पवित्र पार्दै हिमालयदेखि सागरसम्म अविरल बगिरहेकी गंगाले आजसम्म पृथ्वीमा अनन्त जीवलाई ग’न लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment