Comments Add Comment

मनाङका विद्यालय धमाधम आवासीयमा रुपान्तरण हुँदै

१० जेठ, मनाङ । मनाङका सरकारी विद्यालयहरु धमाधम आवासीय बन्दै छन् । यस वर्षदेखि जिल्लामा रहेका चारवटा माध्यमिक विद्यालयले आवासीयको अवधारणा ल्याएको हो ।

विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुने र स्थानीय भन्दा बाहिरी विद्यार्थीले विद्यालय धान्नुपर्ने भएकाले आवासीय बनाउन आवश्यक रहेको लोकप्रिय माविका प्रधानाध्यापक सुरेश थापाले बताए ।

हिमाली जिल्ला भएकाले यहाँका विद्यालयमा विद्यार्थीको संख्या कम हुनु र भौगोलिक विकटताले विद्यार्थीलाई विद्यालयसम्म आउन जान समस्या भएकाले पनि आवासीय विद्यालयको आवश्यकता रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

चामे गाउँपालिकाअन्तर्गत रहेको लोकप्रिय मावि आवासीय विद्यालय भइसकेको छ ।

अरु तीन विद्यालय निस्याङ गाउँपालिकाअन्तर्गत रहेको अन्नपूर्ण मावि नाँसो गाउँपालिकाअन्तर्गत रहेका प्रकाश ज्योति र भनु मावि तयारीमा रहेको शिक्षा समन्वय एकाइले जानकारी दिएको छ ।

यस जिल्लामा रहेका केही विद्यालय विद्यार्थीविहीन भएको र विद्यालयलाई आवासीय बनाएर भौगोलिक विकटताबाट विद्यालय पहुँच नपुगेको अवस्थामा आवासीय विद्यालयले टेवा पुर्‍याउने हेतुले विद्यालयलाई आवासीय अवधारणा ल्याइएको शिक्षा समन्वय एकाइले बताएको छ ।

कुनै ठाउँमा विद्यार्थी नहुने त कुनै ठाउँमा शिक्षकको अभाव भएकाले विद्यालय मर्ज गरी आवासीय बनाउँदा दुवै समस्याको समाधान हुने हुँदा यसको अवधारणा बनाई अगाडि बढेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए ।

शिक्षा क्षेत्रमा मनाङको चारवटै गाउँपालिकामा आमूल परिवर्तन गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आवासीय विद्यालयको अवधारणालाई अगाडि बढाएको शिक्षा समन्वयन एकाइ मनाङले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment