Comments Add Comment

वीर अस्पतालका निर्देशक भन्छन्– धुर्मुसलाई ब्राण्ड बनाइएको हो, सरसफाइ खर्च हाम्रै हो

‘तीन वर्ष पर्खिनुस् वीर अस्पताल जाँदा सिंगापुरमा छु जस्तो लाग्नेछ’


१० जेठ, काठमाडौं । कलाकार धुर्मुसको अगुवाइमा भइरहेको वीर अस्पताल सरसफाइ र रंगरोगनको कार्य स्वास्थ्य मन्त्रालयको योजना र सरकारको बजेटबाटै भइरहेको अस्पताल प्रशासनले प्रष्ट पारेको छ । वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले कलाकारको ब्राण्डमात्र प्रयोग गरिएको बताए ।

वीर अस्पताललाई ३ वर्षभित्र विश्वका उत्कृष्ट अस्पतालकै मापदण्डमा पुर्याउने गरी नयाँ संरचना निर्माण भइरहेको समेत उनले बताए । १२८ वर्ष पुरानो अस्पतालका ७० वर्षभन्दा अघिका संरचना अब नरहने भन्दै बस्नेतले ३ वर्षभित्र ७५० बेडसहितका अत्याधुनिक भवन सञ्चालनमा आउने बताए ।

प्रस्तुत छ, वीर अस्पतालको बेथितीका सन्दर्भमा निर्देशक डा. बस्नेतसँग गरिएको कुराकानीः

वीर अस्पतालको सरसफाइ र रंगरोगन गर्न पनि कलाकार गुहार्नुपर्ने अवस्था आएको हो ? अस्पतालको करोडौं बजेट चाहिँ कहाँ जान्छ ?

त्यो चाहिँ होइन । वीर अस्पताल सरसफाइ तथा रंगरोगन गरेर यसलाई अझ राम्रो बनाउने अभियान स्वास्थ्यमन्त्रीकै अगुवाइमा भएको हो । अलि सेलिब्रिटी ल्याएर गर्दा राम्रो हुन्छ कि भनेर गरेको मात्र हो । वीर अस्पताल देशको सम्पत्ति हो, यसको संरक्षण सम्बर्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन सक्छन् ।

मन्त्रीज्यूले अस्पताललाई अझ राम्रो बनाउँ भन्नुभयो । त्यसका लागि विज्ञ खोज्दा उहाँहरु पर्नुभयो । सफा सुग्घर गर्न सामान हामीले किनिदिएका छौं । उहाँहरुले विज्ञता प्रयोग गर्नुभएको छ । काम गर्ने मान्छे पनि हामीले दिएका छौं । उहाँहरुलाई हामीले सहयोग गरेका छौं । उहाँहरुले केही कुरा स्वयंसेवी रुपमा गर्नुभएको छ । रंगरोगन उहाँहरूले अाफ्नै व्यवस्थापनमा गर्नु भएको छ ।  विज्ञताका हिसाबले उहाँलाई ल्याइएको हो ।

खासमा वीर अस्पताल कामै नलाग्ने फोहोर पनि छैन । १२८ वर्ष पुरानो अस्पतालका १२ सय कर्मचारी दिनहुँ काम गरिरहेका छन् । ५ हजार मान्छेको दिनहुँ आवतजावत हुन्छ । मिडियामा आएजस्तो अस्पताल प्रशासनले केही नगरेर उहाँहरु सफा गर्न आउनुभएको होइन । उहाँहरुले सहयोग गर्नुभएको हो । देशको सबैभन्दा पुरानो र ठूलो अस्पताल भएकाले उहाँहरु सबैको सरोकार हुने त भयो ।

वीर अस्पताल देशको गौरव हो, तपाईंहरु देश–विदेशका अस्पताल पनि जानुहुन्छ, त्यस्तै स्तरको बनाउँ जस्तो लाग्दैन है ?

यो सबै कुरा छ । व्यवस्थापन गर्न नसक्ने भन्ने छैन । खाली के हो भने यो १२८ वर्ष पुरानो अस्पताल हो । यहाँ सबैभन्दा नयाँ भनेको ४० वर्ष पुरानो भवन हो । ७० वर्ष पुरानो भवनलाई आजको प्रविधिमा ढाल्न सकिन्न ।
२० वर्षको कन्या र ७० वर्षको महिलालाई एउटै र्याम्पमा कुदायो भने के हुन्छ ? हामीले ७० वर्ष पुरानो संरचनामा काम गरेर अत्याधुनिक संरचनाको जस्तो स्तर खोज्न सकिन्न । संरचनाले गर्दा केही कुरा गर्न नसकेको हो ।

तर अब हामी नयाँ संरचना बनाउँदैछौं । यो संरचना बनेपछि हेर्नुहोला, मैले मास्टरप्लान पनि प्रस्तुत गरेको छु, वीर अस्पताल सिंगापुरको सुपर अस्पताल जस्तै देखिन्छ ।

त्यो सिंगापुर जस्तो अस्पताल चाहिँ कहिले देख्न पाइन्छ, अर्को पुस्ताले कि यही पुस्ताले ?

त्यो संरचना ३ वर्षभित्रमा बन्छ । हामीले यही अस्पतालको उतापट्टि बनाउँदै गरेको भवन आज विश्वका जुन अस्पतालका मापदण्ड छन्, त्यही मापदण्डमा बन्दैछ । ३ वर्षपछि हेर्नुहोला वीर अस्पताल विश्वमा अत्याधुनिक अस्पताल जस्तै बन्नेछ । दुवाकोटमा पनि त्यस्तै संरचनाको खाका बन्दैछ ।

वीर अस्पतालमा सामान्य बिरामीले बेड पाउन नसक्ने कारण चाहिँ के हो ? संरचनानै नभएर कि पहुँच चाहिने भएर हो ?

यो भवनमा अहिले विरामीलाई बेड छैन । तर बाहिर हल्ला चलेजस्तो सोर्सफोर्स नै लगाउनुपर्ने पनि होइन । हामीले ठूलो दबावमा सेवा दिइरहेका छौं । नेपालको जनसंख्याको हिसाबमा अस्पताल सानो छ । काठमाडौंमा ५ लाख जनसंख्या हुँदा बनेको अस्पताल हो, अहिले ५० लाख जनसंख्या भयो ।

भौतिक संरचनाका जहाँको तहीँ छ । तर यो बेड नपाइने समस्या अब ३ वर्षपछि रहने छैन । वीर अस्पतालकै हाताभित्र ७५० बेडको दुई भवन बन्दैछन् । दुवाकोटमा १ हजार बेडको संरचनाको बिल्डिङ बन्छ । त्यसपछि कोही नेपालीले वीर अस्पतालमा बेड छैन भन्न पाउँदैनन् । काम हुँदैछ, हामी धैर्य गरौं ।

वीर अस्पतालको बारेमा के पनि आइरहेको छ भने स्वास्थ्यमन्त्री गगन थापा भएको बेला अस्पतालको विकासका लागि दिएको २ अर्ब सिध्याउन मनपरी खर्च भइरहेको छ, खासमा के हो ?

हामीले सरकारी अस्पताललाई ३ कुराको कमी देखेका छौं । भौतिक पूर्वाधार नेपालका सबै सरकारी अस्पतालको कमी छ । सबै भवन पुराना छन् । त्यसपछि नेपाल सरकारका अस्पतालमा उपकरण छैनन् । उपकरण संसारका लेटेस्ट टेक्नोलोजी अनुसारका छैनन । गगन थापा स्वास्थ्यमन्त्री हुँदा उपकरण र भौतिक पुर्वाधार बनाउने पैसा दिनुभएको हो । धेरै कुरा अपुग थियो ती धमाधम भइरहेका छन् । तर चाहिए जति उपकरण अझै पनि छैनन् ।

होइन एउटा सिटी स्क्यान किन्न टेण्डर गरेर दुइटा किनिएको, नचाहिने सामान किनेको जस्तो आरोप पनि लागेका छन् नि ?

अस्पताल जस्तो ठाउँमा तुरुन्त सामान चाहिन्छ । सेवा रोक्न सकिन्न । कोही बिरामीलाई वीर अस्पतालमा आएर यो सामान छैन भनेर फर्काउन मिल्दैन । कुन बेला कुन उपकरण बिग्रिन्छ भन्न सक्दैनौं । आवश्यकता अनुसार किन्नुपर्ने हुन्छ । .भन्नेले त भन्छन् । तर सबै प्रक्रिया पुरा गरेर किनेको छ । टेण्डर गरेर किनेको हो । बेच्न नपाउँनेले त भन्छन् । यो सामान ल्यायो भने जनतालाई यो प्रविधिको सुविधा पूरा हुन्छ भनेर हामी काम गर्ने कोसिसमा छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment