Comments Add Comment

फिल्म अवार्डको घट्दो आकर्षण: जित्ने पनि आउन छोडे

पछिल्लो समय नेपालमा फिल्म अवार्ड यति महत्वहिन भइरहेका छन् कि अवार्ड विजेतालाई नै कार्यक्रममा ल्याउन आयोजकलाई मुश्किल पर्न थालेको छ । आयोजकले अवार्ड पाउनेलाई फोन गरी-गरी बोलाउँदा पनि कलाकार उपस्थित हुन छाडेका छन् ।

बिहिबार बेलुकी आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा पनि यस्तै अवस्था देखियो । कुल २९ विधा र विभिन्न नाम दिएर आधा दर्जनभन्दा बढी थप अवार्ड वितरण गरिएको थियो । तर, अवार्ड पाउने नै उपस्थित नहुँदा एउटै व्यक्ति बारम्बार स्टेज चढ्नुपर्‍यो ।

मुख्य विधामा अवार्ड पाउनेहरु कार्यक्रममा पुगे पनि अन्य धेरै अनुपस्थित रहे । उत्कृष्ट गायकको अवार्ड जितेका सुगम पोखरेल र उत्कृष्ट संगीतकारको अवार्ड जितेका राजनराज सिवाकोटी उपस्थित भएनन् । उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड जितेका हिमाल केसी पनि देखिएनन् । उत्कृष्ट पाश्र्व संगीतको अवार्ड पाएका एलिस कार्की पनि थिएनन् ।

यस्तै, उत्कृष्ट हाँस्य कलाकारको अवार्ड जितेका केदार घिमिरेको अत्तोपत्तो थिएन । उत्कृष्ट नव-नायिका जसिता गुरुङ, उत्कृष्ट नव-नायक सलिनमान बनियाँ, उत्कृष्ट चरित्र अभिनेत्री मिथिला शर्मा, उत्कृष्ट सह-अभिनेत्री बर्षा राउत, उत्कृष्ट सह-अभिनेता सलोन बस्नेत, उत्कृष्ट छायांकार पुरुषोत्तम प्रधान सबै अनुपस्थित रहे ।

अवार्ड समारोहमा नाम चलेका कलाकारको उपस्थित निकै पातलो थियो । अनमोल केसी, नीता ढुंगाना, शिल्पा पोखरेल, पुष्पल खड्का, झरना थापा बाहेक कोही पनि चर्चित कलाकार अवार्ड समारोहमा देखिएनन् । यी ४ मध्ये शिल्पा बाहेक सबैले अवार्ड जितेका थिए । उनीहरु अवार्ड पाउने थाहा पाएरै आएका हुन् ।

कलाकारको उपस्थिती ‘डी सिने अवार्ड’मा मात्र होइन, अन्य थुप्रै अवार्डमा पनि कमजोर देखिन थालेको छ । चलचित्र कलाकार संघले नै आयोजना गर्ने अवार्डमा समेत कलाकार कम देखिन्छन् । यसैले, अहिले अवार्ड किन र केका लागि गर्ने भन्ने प्रश्नलाई आयोजकले घोत्लिएर सोच्नुपर्ने बेला भएको छ ।

पक्कै पनि अवार्डले कलाकारलाई प्रोत्साहन दिन्छ । तर, अनावश्यक विभिन्न विधा थपेर बाँड्न थालियो भने त्यसले प्रोत्साहन कम, दिकदारी बढी दिन्छ । अवार्डको नाममा राम्रालाई भन्दा हाम्रालाई दिइयो भने त्यसले चलचित्र क्षेत्र र कलाकार दुबैलाई फाइदा गर्दैन । आयोजकले यो बिषयमा पनि सोच्न जरुरी छ । अवार्डको गरिमा, पाए पनि वा नपाएपनि जानुपर्छ भन्ने खालको हुनुपर्छ । टालीटुली बटुली शैलीमा अवार्ड गरेर, त्यसको अर्थ के होला र खै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment