११ जेठ, विराटनगर । प्रदेश १ को वर्षे अधिवेशन आहृवान भएको छ ।
हिउँदे अधिबेशन अन्त्य भएको दुई सातापछि यही जेठ १७ गतेबाट वर्षे अधिबेशन सुरु हुने भएको हो ।
प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङले जेठ १७ गते बिहीबार अपराहृन ३ बजे प्रदेशसभाको वर्षे अधिवेशन आव्हान गरेका हुन् ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तुम्वाहाङले वर्षे अधिवेशनको आव्हान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईंले जानकारी दिए ।
उनले प्रदेश प्रमुख तुम्वाहाङले सविधानको धारा ८३ को उपधारा १ बमोजिम १७ जेठ ३ बजेका लागि वर्षे अधिवेशन आव्हान गरेको बताए ।
वर्षे अधिवेशनमा प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम पेस हुने कार्यक्रम रहेको छ ।
सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
बजेटका अलावा प्रदेश सरकारलाई आवश्यक पर्ने विधेयकहरु पनि ल्याउने तयारी गरिएको छ ।
प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नाम तोक्न कार्यसमेत अहिलेसम्म सम्पन्न गर्न सकेको छैन् ।
जसका कारण चाडो भन्दा चाडो प्रदेशको स्थायी राजधानी र नाम टुग्याउन सांसदहरुले माग राख्दै आएका छन ।
प्रदेश सरकारले पनि वर्षे अधिवेशनबाट स्थायी राजधानी र नामको विषय टुङ्गो लगाउने अनुमान छ ।
प्रदेश सभाको पहिलो अधिवेशनले प्रदेशसभा नियमावलीसहित १२ वटा विधेयक पारित गरेको थियो । पहिलो अधिवेशन ९३ दिनसम्म चलेको थियो ।
माघ २२ गते सुरु भएको पहिलो अधिवेशनमा ३९ वटा बैठक बसेका थिए।प्रदेश सभाको पहिलो अधिवेशन गएको २६ वैशाखमा सकिएको थियो ।
प्रतिक्रिया 4