Comments Add Comment

दाताको मनपरी : ३३ प्रतिशत विकास सहायता गैरबजेटरी च्यानलबाट


१३ जेठ, काठमाडौं । विकास साझेदारहरूले गैरबजेटरी च्यानलबाटै मनपरी ढंगले खर्च गर्ने प्रवृत्ति कम हुन सकेकाे छैन ।

आइतबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार विगत पाँच वर्षको अवधिमा गैरबजेटरी संयन्त्रबाट परिचालन हुने विकास सहायताको हिस्सा वाषिर्क औसत ३३ प्रतिशत छ ।

सर्वेक्षणका अनुसार गत आर्थिक वर्ष (आव) २०७३/७४ मा परिचालित कुल अन्तर्राष्ट्रिय विकास सहायतामध्ये गैरबजेटरी संयन्त्रमार्फत परिचालित सहायताको अंश २७ प्रतिशत थियो । आव २०७२/७३ मा यस्तो बजेटको हिस्स्ता ३७ प्रतिशत थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा गैरबजेटरी संयन्त्रमार्फत् खर्च गर्ने प्रणालीमा केही सुधार देखिए पनि यो वर्ष फेरि बढेको छ ।

सहायता उपयोगमा कमजोर

चालू आवको पहिलो आठ महिनामा वैदेशिक अनुदान ३६ प्रतिशत र ऋण ६४ प्रतिशतमात्र उपयोग भएको सर्वेक्षणमा उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आवको आठ महिनामा ६२ अर्ब ५५ करोड रुपैयाँ अनुदान र ८८ अर्ब ३३ करोड रुपैयाँ ऋण गरी एक खर्ब ५० अर्ब ८८ करोड रुपैयाँको वैदेशिक सहायता प्राप्त भएको थियो ।

गत आवमा ऋण तथा अनुदान गरी २ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको थियो । गत वर्ष कुल वैदेशिक सहायता प्रतिवद्धतामा वैदेशिक अनुदान र ऋणको अनुपात ३९ र ६१ प्रतिशत थियो ।

आर्थिक सर्वेक्षणका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०६९/७० मा गैरबजेटरी संयन्त्रमार्फत् खर्च भएको वैदेशिक सहायताको हिस्सा ३६ प्रतिशत, आव २०७०/७१ मा २९ प्रतिशत र आव २०७१/७२ मा ३५ प्रतिशत थियो ।

पछिल्लो १० वर्षमा गत आवबाहेक प्रत्येक वर्ष कुल वैदेशिक सहायता परिचालनमा वैदेशिक ऋणको तुलनामा वैदेशिक अनुदानको अनुपात उच्च रहँदै आएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment