Comments Add Comment

आठ महिनामा भारतबाट पौने ८ अर्बको तरकारी

१४ जेठ, काठमाडौं । गत साउनदेखि फागुन मशान्तसम्मको आठ महिनामा भारतबाट पौने आठ अर्बको तरकारी आयात भएको छ ।

आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालले यस अवधिमा भारतबाट सात अर्ब ६९ करोड ३ लाख रुपैयाँ मूल्य बराबरको तरकारी आयात गरेको छ ।

चालू आवमा तरकारी आयात गत आवको तुलनामा केही घटेको भने देखिएको छ । सर्वेक्षणका अनुसार गत आवको आठ महिनाकै अवधिमा नेपालले भारतबाट सात अर्ब ८८ करोड रुपैयाँको तरकारी आयात गरेको थियो ।

आन्तरिक उत्पादन कमजोर हुँदै जाँदा पछिल्ला वर्षहरूमा नेपालले मासिक करिब १ अर्ब रुपैयाँको तरकारी आयात गर्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाँच वर्षअघि नेपालको आयात हालको भन्दा करिब आधा कम थियो ।

आव ०६९/७० मा नेपालले करिब साढे चार अर्ब रुपैयाँ मूल्य बराबरको तरकारी भारतबाट आयात हुन्थ्यो । त्यसयता आर्थिक वर्ष ०७०/७१ मा ६ अर्ब ९७ करोड रुपैयाँको तरकारी आयात भएको थियो ।

आव ०७१/७२ मा नेपालको भारतबाटमात्रै हुने तरकारीको आयात करिब सात अर्ब ९९ करोड रुपैयाँ बराबर थियो । आव ०७२/७३ मा भने त्यस्तो आयात घटेर सात अर्ब ७२ करोड रुपैयाँ बराबर पुगेको थियो ।

आव ०७३/७४ मा भने तरकारी आयात १० अर्ब ६४ करोड रुपैयाँको भएको थियो । पछिल्ला वर्षहरूमा नेपालको तरकारी आयात व्यापार घाटाको प्रमुख पक्ष बन्दै आएको छ । तरकारीका आयात गर्ने प्रमुख अन्तर्राष्ट्रिय बजार भारत नै हो ।

भारतबाट भएको तरकारी आयातको स्थिति

आव आयात मूल्य (रु)
२०७४/७५ (फागुनसम्म) सात अर्ब ६९ करोड
२०७३/७४ १० अर्ब ६४ करोड
२०७२/७३ सात अर्ब ७२ करोड
२०७१/७२ सात अर्ब ९९ करोड
२०७०/७१ ६ अर्ब ९७ करोड
२०६९/७० चार अर्ब ५५ करोड

साढे चार अर्बको दूध र हर्लिक्स

नेपालले चालू आवको आठ महिनामै करिब साढे चार अर्ब रुपैयाँ मूल्य बराबरको दूध र हर्लिक्समात्र आयात गरेको देखिन्छ । राष्ट्र बैंकका अनुसार चालू आवको गत फागुनसम्ममा नेपालले भारतबाटमात्रै करिब चार अर्ब ५९ करोड रुपैयाँको दूध र हर्लिक्स आयात गरेको छ ।

गत आवको सोही अवधिमा यस्तो आयात तीन अर्ब ७१ अर्ब रुपैयाँ बराबर थियो । जबकी आजभन्दा ६ वर्षअघि यही वस्तुको आयात करिब ९८ अर्ब रुपैयाँ बराबरमात्रै थियो ।

भारतबाट भएको दूध तथा हर्लिक्सको आयात स्थिति

आव आयात मूल्य (रु)
२०७४/७५ (फागुनसम्म) चार अर्ब ५९ करोड
२०७३/७४ पाँच अर्ब ९० करोड
२०७२/७३ चार अर्ब ६८ करोड
२०७१/७२ चार अर्ब ६६ करोड
२०७०/७१ चार अर्ब ८३ करोड
२०६९/७० तीन अर्ब ६० करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment