Comments Add Comment

जेलबाट छुटेपछि बालकृष्णको आक्रोशः ‘डलरवादी’हरुको अभियानप्रति घृणा व्यक्त गर्छु

'फेरि पनि जेल जानुपर्ने हुनसक्छ'

१५ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका बालकृष्ण ढुंगेलले मानवअधिकारवादी र वकिलप्रति आक्रोस पोखेका छन् ।

पूर्वसांसद समेत रहेका ढुंगेल मंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूलाई जेलमा सडाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले भने, ‘डलरवादीहरुको अभियानप्रति घृणा व्यक्त गर्छु ।’

उनले आफूलाई रिहा गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा हाल्ने वकिलहरुको पनि चर्को विरोध गरे । आफूले सर्वोच्च अदालतको सम्मान गर्ने तर, आफूविरुद्ध परेको रिटमा लामो बहस गर्न जरुरी नभएको ढुंगेलको तर्क थियो ।

हेर्नुहोस् भिडियो

डिल्लीबजार कारागारबाट रिहा भएपछि बालकृष्ण ढुंगेललाई कार्यकर्ताहरुले जुलुससहित पार्टी कार्यालय पेरिसडाँडामा पुर्‍याएका थिए । जनयुद्धको सहिद तथा वेपत्ता परिवारहरुको सम्झनामा निर्मित स्तम्भ अगाडि तत्कालीन पार्टी कार्यालयका सचिव एवम् नेकपाका नेता प्रह्लाद बुढाथोकीले ढुंगेललाई स्वागत गरेका थिए ।

कार्यक्रममा ढुंगेलले कविताको श्लोक सुनाएर आफ्ना भनाइ राख्न सुरु गरेका थिए-

‘दाम्लोसँगै भैंसी मरे मान्छे जंगलभरि

तर पनि आकाशमा उडे राता चरी… ।’

उनले आफ्नो रिहाइको पहल गरिदिने सबैलाई धन्यवाद दिँदै भने, ‘सहिदहरुको रगत बेचेर खानु नपरोस् । सहिद परिवारहरुको मझेरीमा गएर उहाँहरुको भावनामा लात हान्दै ठगेर खानु नपरोस् ।’

उनले सम्बोधनको क्रममा आफू तेस्रोपटक जेलबाट छुटे पनि अन्तिम भने नहुनसक्ने बताए । ‘बालकृष्ण ढुंगेल यो तेस्रो पटक रिहा भएको हो । सायद यो अन्तिमपटक पनि नहुन सक्छ,’ उनले भने, ‘सत्ताले शासक जन्मायो भने जनताले विद्रोह गर्नुपर्ने हुन्छ । त्यस्तो भयो भने फेरि पनि जेल जानुपर्ने हुनसक्छ ।’

गणतन्त्रको पक्षमा लाग्दा जेल जानुपर्ला भनेर आफूले कल्पनासमेत नगरेको बताउँदै उनले भने, ‘मैले गणतन्त्र माग्दै गर्दा, गणतन्त्र जिन्दावाद भन्दै गर्दा, हिटरमा पिसाब फेराएर किड्नी ड्यामेज गर्दिने शेरबहादुर देउवा जीहरु गणतन्त्र आइसकेपछि प्रधानमन्त्री बन्नुहुन्छ होला र उहाँ गणतन्त्रको मालिक बनेपछि फेरि मलाई अपराधि करार गर्दै जेल पठाउनु हुन्छ होला भनेर मैले त्यो हिरासतमा, त्यो मुर्छनामा कहिल्यै कल्पना गरिनँ ।’

उनले अघि भने, ‘गणतन्त्र माग्दा संकटकाल लगाउने, टाउकाको मोल तोक्ने, हिटरमा पिसाब फेराउनेहरु, नागार्जुनका जंगलमा लगेर वेपत्ता पार्नेहरु गणतन्त्रको मालिक बन्न पाएपछि बालकृष्ण ढुंगेल जानु थियो कारागार, म गएँ र आज फेरि रिहा भएको छु ।’

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment