१५ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार बिहान गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बेटिङमा संलग्न भएको आरोपमा अञ्जनसहित ६ पक्राउ परेको पुष्टि गरे । उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
यसअघि म्याच फिक्सिङको आरोपमा केसीसहित ५ जना २०७२ कात्तिकमा पक्राउ परेका थिए । सबै जना धरौटीमा छुटेपनि मुद्दा टुंगिएको छैन । केसीविरुद्ध विशेष अदालतमा नेपाली फुटबलको म्याच फिक्सिङ मुद्दा विचाराधीन छ ।
पक्राउ परेकाहरूको साथबाट जुवा खेलाउन प्रयोग भएको मोबाइल, ल्यापटप र नगद बरामद भएकाे छ । उनीहरूमाथि जुवा एेन र ठगी अन्तरगत मुद्दा चल्ने प्रहरीले जनाएको छ ।
उनीहरुले अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी लगाएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4