Comments Add Comment

वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्– बजेट निराशाजनक


१७ जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले सरकारले ल्याएको बजेट निराशाजनक रहेको बताएका छन् । बजेटमा पुराना आयोजनालाई निरन्तरता दिने काम राम्रो भएपनि उद्योगी व्यवसायीका लागि ठोस योजना नआएको उनीहरुको भनाइ छ ।

पूर्वगर्भनर समेत भइसकेका र आर्थिक क्षेत्रलाई बुझेका अर्थमन्त्री डा. युवराज खतिवडाबाट वीरगञ्जका उद्योगी व्यवसायीहरुले धेरै आशा राखेर सुझाव दिएको भएपनि उपलब्धीमुलक हुन नसकेको उनीहरुको गुनासो छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष अशोक वैद्यले बजेटमा खासै केहि नयाँ कुरा आउन नसकेको बताए । उद्योगी व्यवसायीका लागि त झन् सरकारले ध्यानै नदिएको उनको भनाइ छ । ‘शिक्षा, स्वास्थ्यमा लाग्दै आएको कर हटाउनु, तराई मधेसमा गरिबलाई जस्तापाता दिने, अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत मार्गको कामलाई निरन्तरता दिने कुरा सकारात्मक देखिन्छ,’ उनले भने, ‘तर उद्योगी व्यवसायीहरुको हितका लागि कुनै ठोस कुरा आउन सकेन ।’

उनले बारा पर्सा औद्योगिक करिडोरमा सञ्चालित १३ वटा सिमेन्ट उद्योगको समस्या समाधानमा सरकार गम्भिर नदेखिएको समेत बताए । ‘भारतको रक्सौलबाट क्लिङ्कर आयातमा समस्या देखिएको लामो समय भइसकेको छ । भारत सरकार नेपालमै रेल्वे ट्रयाक र यार्ड बनाउन तयार छ, जग्गा खोजेर एलओई दिनु भनेका छन् । सरकारले समस्या समाधानका लागि कुनै कुरा नगर्नु दुःखद छ,’ उद्योगी वैद्यले भने ।

विदेशी लगानी आकर्षण गर्नका लागि पनि सरकारले कुनै ठोस कार्यक्रम ल्याएको नदेखिएको उनको भनाइ छ । यस्तो अवस्थामा ८ अंकको जीडीपी हासिल गर्न कठीन हुने वैद्यले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सभासद ओम प्रकाश शर्माले बारा पर्सा औद्योगिक करिडोरका लागि खासै उपलब्धीमुलक बजेट नआएको बताए । ‘बजेट वीरगञ्जका लागि, यस क्षेत्रका हामी व्यापारीका लागि खासै उपलब्धीमुलक देखिएन । औद्योगिक करिडोरका लागि, सेज निर्माणका लागि कुनै ठोस कुरा आएन,’ अध्यक्ष शर्माले भने, ‘७ प्रदेशमा ७ वटा औद्योगिक करिडोर बनाउने भनिएको छ । भएकै करिडोरलाई व्यवस्थित र यहाँको समस्या समाधानमा सरकार गम्भिर देखिएको छैन ।’

द्रुत मार्ग र अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई निरन्तरता दिने बाहेक बजेटमा अरु कुनै विशेष कुरा नदेखिएको उनको भनाइ छ ।

उनले लगानी मैत्री वातावरण निर्माणका लागि बजेट चुकेको बताए । ‘जीडिपी बढाउनका लागि लगानी मैत्री वातावरण निर्माण गरिनुपर्छ । तर बजेटमा खासै त्यस्तो देखिएन । हामीले अर्थमन्त्री ज्यूसँग जति अपेक्षा गरेका थियौं, त्यसको थोरै पनि पाउन सकेनौं,’ उनले भने ‘नीजि क्षेत्रलाई बजेटले निराश बनाएको छ ।’

बजेट मध्यम वर्गलाई राम्रो

वीरगञ्जकै केही व्यापारीहरुले भने मध्यम वर्गका लागि बजेट राम्रो भएको बताएका छन् । आयात प्रतिस्थापन गर्ने, लघु उद्योगलाई प्रोत्साहनका कार्यक्रम ल्याउनुको साथै वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई ऋण दिएर स्वदेशमै काम गर्न प्रोत्साहन दिने कार्यक्रम सकारात्मक भएको उनीहरुको प्रतिक्रिया छ ।

त्यस्तैगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा लिइँदै आएको शुल्क नलिने निर्णयले मध्यम वर्गलाई फाइदा हुने तर्क उनीहरुको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले बजेट मध्यम वर्गको हितमा देखिएको बताए । ‘आयकरमा ल्याइएको परिवर्तन, लघु उद्योगलाई प्रोत्साहन त्यसमा पनि महिलालाई प्राथमिकता दिने, वैदेशिक रोजगारीबाट फर्केकालाई सहुलियत ऋण दिने कार्यक्रमहरुले सानो उद्योगलाई बढावा दिने देखिन्छ,’ उनले भने, ‘यसले मध्यम वर्गलाई फाइदा हुनुको साथै आयातलाई प्रतिस्थापन गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्छ ।’

उनले फाष्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा रकम खुलाएर नभनिदिँदा राष्ट्रिय गौरवका आयोजना कहिलेसम्म बनिसक्ला भन्ने अन्यौल रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment