+
+

प्रतिवद्धता पूरा गर्दै रुपा गाउँपालिका

पाँच स्वास्थ्य चौकीमा प्रयोगशाला

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १७ गते ११:४९

१७ जेठ, पोखरा । रुपा गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको बुधबार ठ्याक्कै वर्षदिन पुग्यो । गाउँपालिकामा सपथ लिँदै गर्दा अध्यक्ष नवराज ओझाले वर्ष दिनभित्र गर्ने कामको प्रतिवद्धता सार्वजनिक गरेका थिए ।

आझाले सबै वडा कार्यालयका कर्मचारी पुर्‍याउने, सुशासन, सबै वडालाई सडक सञ्जालले जोड्ने, घरघरै सामाजिक सुरक्षा पुर्‍याउने, सबै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्ने लगायतका प्रतिवद्धता जनतासामु गरेका थिए । लगभग ती सबै प्रतिवद्धता ओझाले पूरा गरेका छन् ।

सपथ लिएको वर्षदिन पुगेकै दिन गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्ने प्रतिवद्धता जनतासामु साकार पारेका छन् ।
अब रुपा गाउँपालिकाका सबै स्वास्थ्य चौकीबाट सेवाग्राहीले प्रयोगशाला (ल्याब)को सुविधा पाउने भएका छन् ।

स्वास्थ्य चौकीमा खुलेको प्रयोगशालाको प्रतिनिधि सभा सदस्य खगराज अधिकारी र प्रदेश सभा सदस्य दीपक कोइरालाले सुरुआत गरेका छन् ।
सोही क्षेत्रबाट चुनिएका प्रतिनिधि सभा सदस्य अधिकारी, प्रदेश सभा सदस्य कोइराला र गाउँपालिका अध्यक्ष ओझाले रगत जाँच गराएर ल्याबको सुरुआत गरेका हुन् ।

रुपाका जनतालाई गाउँघरमै ल्याब टेस्ट गराएर स्वस्थ्य रहन र असुविधालाई समेत गरी बसाइँसराइ पनि रोक्न सहयोग पुर्‍याउने अध्यक्ष ओझाले बताए । ‘बजारसम्म जाने गाडी भाडा, खान, बस्न र शुल्कसमेत गरी बढी खर्चिलो र झन्झटिलो थियो । ल्याब सेवा गाउँमै दिनसके जनताले स्थानीय सरकारको महसुस गर्न पाउने थिए भनेर सबै स्वास्थ्य चौकीमा ल्याब राख्न सफल भयौं,’ अध्यक्ष ओझाले भने, ‘अब न्यून दरमा गाउँपालिकामै स्थानीयले ल्याब टेस्ट गराउन पाउने छन् ।’

इम्पावर नेपाल फाउन्डेसन अमेरिका र रुपा गाउपालिकाको गरी २२ लाख रुपैयाँको संयुक्त लगानीमा पाँच स्वास्थ्य चौकीमा ल्याब चलाइएको हो ।

ल्याबका लागि प्राविधिकको व्यवस्था गाउँपालिकाले नै गरेको छ । ल्याबमा दिसा, पिसाब, खकार, रगत लगायत बीस प्रकारका जाँच गराउन पाउने भएपछि स्थानीय खुसी भएका छन् । ‘सामान्य जाँच गर्न पनि हजारौं खर्च हुन्थ्यो, गाउँमै सस्तो र सरकारी दरमा सेवा पाउने भएपछि खुसी छौं,’ स्थानीय तिलबहादुर थापाले भने ।

बुधार नै रुपा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । पदस्थापनको वर्ष दिनको अवसर नै सारेर वडा नम्बर ६ स्थित नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।

गाउँपालिकाले एक वर्ष पुगेकै अवसरमा ज्येष्ठ नागरिक सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?