Comments Add Comment

नेपालमा कम्युनिस्ट पार्टीको ‘अभूतपूर्व सफलताले’ विश्वका कम्युनिस्ट उत्साहित !

६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन सम्पन्न

१८ जेठ, काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीको अभूतपूर्व सफलताले विश्वभरका कम्युनिस्टलाई उत्साहित बनाएको निष्कर्ष सहित ६ बुँदे काठमाडौं घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन सम्पन्न भएको छ ।

बुधबार र बिहीबार काठमाडौंको याक एण्ड यती होटलमा आयोजित १८ देशका २२ वटा कम्युनिस्ट पार्टीहरुको सम्मेलनले पछिल्लो समय विश्वका कम्युनिस्ट तथा समाजवादीहरुलाई नेपाल कम्युनिस्ट पार्टीको सफलताले उत्साहित बनाएको ठहर गरेको छ ।

विश्वका कम्युनिस्ट र गैर कम्युनिस्टले समेत सर्वाधिक सम्मान गर्ने दार्शनिक कार्ल माक्र्सको द्विशतवाषिर्कीका अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपाल सरकारले समेत सहयोग गरेको आयोजकले जनाएका छन् ।

सम्मेलनले जारी गरेको ६ बुँदे घोषणपत्रमा दुईवटा बुँदा नेपाल कम्युनिस्ट पार्टीको सफलतासँग केन्द्रित छन् । सम्मेलनले नेपाल कम्युनिस्ट पार्टीले माक्र्सवादको सिर्जनात्मक प्रयोग गरेर प्राप्त गरेको सफलताप्रति ऐक्यवद्धता जनाएको छ ।

दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादीको एकीकरणबाट गठन भएको नेपाल कम्युनिस्ट पार्टीले नेपालमा थप सफलता पाउने अपेक्षा सम्मेलनले गरेको घोषणापत्रमा उल्लेख छ । त्यस्तै नेपालका तीनै तहका निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले प्राप्त गरेको अभूतपूर्व सफलताप्रति खुसी व्यक्त गरिएको छ ।

सम्मेलनले हरेक मुुलुकको आवश्यकता र सन्दर्भका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै विश्वभरका कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने निश्कर्ष समेत निकालेको छ । सम्मेलनले विश्वका कम्युनिस्ट पार्टीहरुबीच आपसी समझदारी,ऐक्यबद्धता र अनुभव आदान प्रदान गर्दै अघि बढ्नुपर्ने ठहर गरेको घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले सामाजिक न्याय, जनवाद,समाजवाद र शान्तिका लागि संघर्ष गरिरहेका विश्वभरका जनताप्रति ऐक्यबद्धता जनाएको छ । सम्मेलनले माक्र्सवादलेनै उन्नत संसार निर्माण गर्ने ठहर गर्दै कम्युनिस्ट आन्दोलनलाई विश्वमा अझ बलियो बनाउनुपर्ने निष्कर्ष समेत निकालेको आयोजक नेकपाका केन्द्रीय सदस्य तथा सम्मेलन आयोजक कमिटीका सदस्य विष्णु रिजालले बताए ।

नेपालमा सत्तारुढ कम्युनिस्ट पार्टीले सरकारको समेत सहयोगमा आयोजना गरेको यो पहिलो अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन हो । नेपालमा सबै तहमा कम्युनिस्ट सरकार बने लगत्तै आयोजित सम्मेलनले विश्वका कम्युनिस्टलाई उत्साह थपेको सहभागीले बताएका थिए ।

सम्मेलनमा नेपाल सहित पाँच देशका सत्तारुढ कम्युनिस्ट पार्टीनै सहभागी थिए । नेपाल,चीन, भियतनाम,उत्तर कोरिया, लाओस र भेनेजुयलाका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहेको सम्मेलनमा ५ महादेशको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सम्मेलनमा अष्ट्रेलिया, बंगलादेश, जर्मनी, भारत, मोरक्को, रुस, श्रीलंका, दक्षिण अफि्रका,जाम्बिया लगायतका देशका कम्युनिस्ट पार्टीको सहभागिता थियो । सम्मेलनमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संयोजन गरेको सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले समापनका अवसरमा कम्युनिस्ट आन्दोलनको सफलताका उपायबारे लिखित धारणा प्रस्तुत गरेका थिए ।

सम्मेलनका सहभागीलाई प्रधानमन्त्री केपी शर्मा अेालीले रात्रिभोजसमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment