+
+

सिघ्र स्खलन हुन्छ, यसरी रोकौं ?

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १९ गते ९:२१

करुणा मेम,

म ३३ वर्षको पुरुष हुँ । विवाह भएको ५ वर्ष भयो । कलेज सकिने वित्तिकै म प्रेममा परेको थिएँ ।  उनीसँग यौन सम्बन्ध निकै सन्तोषजनक थियो । उनी आधुनिक विचारकी युवती भएकोले हाम्रो सबै किसिमका कुरा मिल्दथ्यो । यौन कृयाकलापमा निकै सकि्रय हुन्थिन् । कारणवस हाम्रो विवाह हुन सकेन । फलस्वरुप जीवन चलाउन अर्को विवाह गरेको हुँ ।

विवाह भएको केही महिनामै शीघ्रस्खलन हुने समस्या देखिन थाल्यो । गर्लफ्रेन्डसँग सम्बन्ध राख्दा स्खलन मेरै नियन्त्रणमा हुन्थ्यो । तर विवाहपछि कहिल्यै पनि यो मेरो वशमा छैन । मैले कुनै पनि किसिमको औषधि उपचार गरेको छैन । तर श्रीमतीलाई सन्तुष्टि दिन नसकेकोमा सधै ग्लानी भईरहेको छ । यसले मलाई साह्रै तनाव दिएको छ । के यो मेरो विगतको घटनाको कारण भएको हो या अन्य कुनै समस्याको कारण ? गर्लफ्रेन्डसँग अहिले सम्पर्क छैन र त्यो कुरा विगत भैसकेको कारण उनलाई सम्झेर रुने मान्छे पनि म होइन । म यो जीवनलाई सुखी बनाउन चाहन्छु र उनीसँग नै खुसी पनि छु । समस्या मात्र यौनको हो । मेरो बैवाहिक जीवन बचाउन मैले के गर्नुपर्छ  ? देबडी

बर्तमान जीवनलाई नै सुन्दर बनाउनु पर्छ भन्ने तपाईंको सोचको म सम्मान गर्दछु । जो मानिस बिगतका कुरा छाडेर अघि बढ्न सक्छ उही नै सुखी हुनसक्छ । यसका लागि तपाईंलाई बधाइ दिन चाहन्छु । यस्तो सोच राख्नेको जीवन दुःखी हुनै सक्तैन ।

शीघ्रस्खलन कसरी हुन्छ भन्ने बारेमा भिन्न भिन्न व्यक्तिहरुका भिन्न भिन्न दृष्टिकोणहरु रहेको पाइन्छ । केही अध्येताहरुले छिटो स्खलन हुनुलाई अर्को सेक्सका लागि तयार हुन शरीरले गर्ने सहयोगका रुपमा ब्याख्या गर्दछन् । अर्थात एकपल्ट छिटो स्खलन भएपछि अर्को स्खलनका लागि समय लाग्ने भएकाले यसले यौनजीवन राम्रो हुने धारणा राख्छन् । तर अर्को पक्षले भने  शीघ्रस्खलन छिटो हुनु वा आफ्नो वशमा नहुनुको मुख्य कारण मनका अशान्तिलाई लिएका छन् ।  शीघ्र स्खलन धेरै अवस्थामा बैवाहिक जीवनका लागि राम्रो नभएको धारणा उनीहरुको छ ।

अर्थात कसैको हकमा त्यही शीघ्र स्खलन राम्रो र कसैको हकमा त्यही शीघ्र स्खलन नराम्रो हुन्छ । तपाईंका हकमा यो नराम्रो हुन पुगेको महसुस तपाईंले पठाउनु भएको प्रश्नमा देखिन्छ ।

शीघ्रस्खलन कसरी हुन्छ त ? ऐतिहासिक रुपमा हेर्ने हो भने शीघ्रस्खलनको कारण मनोवैज्ञानिक मात्र हुने भनिएको छ ।  सन् १९८० यता अनुसन्धानकर्ताहरुले यसको कारण जैविक पनि हुनसक्ने बताएका छन् । विकासको द्र्ष्टिकोणमा उल्लेख भए अनुसार ‘सेक्स छिटो हुनुपर्छ’ र जति छिटो हुन्छ त्यतिनै छिटो पुनः सेक्सका लागि तयार हुनसक्ने मान्यता बोकेका व्यक्तिहरुमा शीघ्र स्खलन हुनसक्ने हुन्छ । व्यवहारिक सिद्धान्तका अनुसार सेक्सका क्रममा कसैले देख्ने या पत्ता लागाउने डरका कारण छिटो स्खलन हुन्छ । मनोवैज्ञानिक कारण अनुसार यदि पुरुषमा कुनै चिन्ता छ भने त्यसले पनि शीघ्रस्खलन गराउंछ । जस्तै सेक्सलाई कसरी स्तरीय बनाउने भन्ने चिन्ता वा शीघ्रस्खलनको समयको बारेमा सोचिरहदा पनि शीघ्रस्खलन हुन सक्दछ । अर्थात तपाईं जति शीघ्रस्खलनबारे चिन्ता गर्नुहुन्छ, उति नै त्यो बढेर जान्छ । यो मनोबैज्ञानिक कारण भयो ।

तर शीघ्रस्खलनका थुप्रै जैविक कारणहरु छन । ती सिद्धान्तहरुका अनुसार जसको लिङ्क वढी सम्वेदनशील छ उसको शीघ्रस्खलन हनसक्छ । एउटा सर्वेक्षणमा ४३ जना पुरुषमा गरिएको एक अध्ययनका अनुसार हाईपरथाईराईडिजम हुने पुरुषहरुलाई शीघ्रस्खलन हुन्छ । अनुसन्धान गरिएकामध्ये ७२ प्रतिशत पुरुषहरुमा हाईपरथाईराईडिजम भएको र उनीहरुको सीघ्रस्खलन हुने गरेको पाइएको छ । राम्ररी अध्ययन नभएका कारणले तपाईमा हाईपरथाईराईडिजमका कारणले सीघ्रस्खलन भएको हो कि होइन भन्ने थाहा हुन सकेन । यसका लागि तपाईले डाक्टरसंग सम्पर्क गर्नुपर्ने हुन्छ । डायवेटिजको समस्याका कारण पनि सीघ्रस्खलन हुने गर्दछ । डायवेटिजको समस्या भएका पुरुषहरुमा गरिएको एक अध्ययनले ३५ देखि ९० प्रतिशत पुरुषहरुमा यौन उत्तेजना सम्बन्धी समस्या भएको पत्ता लागेको छ ।

शीघ्रस्खलनको समस्या धेरैजसो पुरुषहरुलाई हुने समस्या हो । पुरुषहरुले १८ देखि ५९ को उमेरभित्र एक तिहाईले यस्तो समस्या भोग्ने गरेको अध्ययनहरुले देखाएका छन । उनीहरुका अनुसार आफ्नो यौनसाथीसँग यौन सम्पर्कलाई लम्ब्याउन चाहदा चाहदै पनि शीघ्रस्खलन  हुने गरेको छ । यो कुनै वंशानुगत विरामी होइन । तर जसले यसको सामना गरेको हुन्छ उसलाई निकै तनाव हुन्छ र पार्टनरको छट्पटि हेर्न निकै गाह्रो हुन्छ । यसका लागि सजिला उपायहरु छन् । तिनको अभ्यास गर्नासाथ समस्या हल भैहाल्छ ।

समाधानका लागि मैले पहिला पनि उल्लेख केही तरिकाहरुका बारेमा उल्लेख गरेकी थिएँ । यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्रस्खलन रोक्नका लागि प्रस्तावित केही बिधिहरु पनि  छन् ।

उदाहरणका लागि शीघ्रस्खलन केही समय रोक्ने एउटा महत्वपूर्ण बिधि हो, स्टप स्टार्ट टेक्निक वा थेरापी । यो विधिलाई युरोलोजिस्ट डाक्टर सिमेनले सिफारिस गरेका हुन । यस टेक्निकमा दुवै पार्टनरको सहभागिता हुनुपर्दछ । यस बिधि अन्तर्गत लिंग उत्तेजना हुन लागेको समयमा केही क्षण रोक्ने अनि फेरि यौन सम्पर्क गर्ने र यसलाई केही समय दोहोर्‍याउने गर्नुपर्छ । बढी संबेदनशील भागतर्फ भन्दा कम संबेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयका लागि शीघ्रस्खलनलाई रोक्न सकिन्छ । यसले लिंगको स्खलित हुने संबेदनशीलतालाई न्यून गर्छ । यसरी अभ्यास गर्दा कतिपय पुरुषहरुको शीघ्रस्खलन रोक्नसक्ने क्षमतामा विकास हुन्छ ।

अर्को विधिलाई ‘स्कुईज टेक्निक’ भनिन्छ । यस अन्तर्गत अर्गाज्म अर्थात चरम अवस्थामा पुग्न लाग्दा पार्टनरमध्ये एक जनाले लिङ्गको टुप्पोमा समाउनुपर्छ र शीघ्रस्खलनलाई रोक्नुपर्छ । यस विधिलाई पनि केही समय दोहोर्‍याउने अनि मात्र स्खलन गराउनुपर्छ । यी दुबैलाई सबैभन्दा प्रभावकारी बिधि मानिन्छ । कतिपय पुरुषले यसलाई प्रभावकारी भएको मानेता पनि कतिपयलाई यो प्रभाबकारी नहुन पनि सक्छ त्यसैले उनिहरुले थप उपचारको लागि सोच्नुपर्छ ।

यौन सम्पर्कको क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ । दुबैजनालाई सन्तुष्टिको समान उचाई प्राप्त हुंदा नै स्खलनको अवस्था आउँछ । सामान्यरुपमा भन्दा दुबैलाई यौन सन्तुष्टिको चरम अवस्थामा पुग्दा खास समस्या पनि आउदैन । तर धेरैजसो केटा मानिसहरुको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउछ । त्यसबेला भने महिलालाई केही असन्तुष्टि महसूस हुनु स्वाभाविक पनि हो ।

तपाईले भन्नु भएजस्तो विगतका कारण शिघ्र स्खलन भएको पनि हुनसक्छ जसको जांच गराउन मनोविद्कहाँ सम्र्पक गर्नुपर्छ । यदि यी तरीका अपनाउदा पनि समस्या हल भएन भने चिकित्सकलाई भेटेर थप उपचार खोज्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?