+
+

विदेश घुमघाममा टुर प्याकेज : कुन देश जान कति खर्च ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १६:२१

काठमाडौं । कार्यव्यस्तताबाट उम्केर घुमफिरमा निस्कने चलन बढ्दैछ नेपाली समाजमा पनि । देशकै मनोरम भूगोल मात्र होइन, देशको सीमा नाघेर टाढा–टाढासम्मको गन्तव्यमा निस्कनेहरु पनि कम छैनन् । यसरी घुमघाममा निस्कनेका लागि दशैं-तिहार एक उपयुक्त मौका पनि हो ।

एकातिर मौसमको साथ, अर्कोतिर फुर्सदिलो समय । परिवारसहित किन घुम्न नजाने ? कतिपयले योजना नै बनाएका हुन सक्छन् । व्यक्तिगत मेलोमेसो मिलाएर घुम्नेहरु त छँदैछन्, कतिपय टुर प्याकेजमा घुम्न निस्कने गर्छन् । उनीहरुलाई नै लक्षित गरेर विभिन्न ट्राभल एजेन्सीले ‘टुर प्याकेज’ पनि ल्याउने गरेका छन् । यसरी टुर प्याकेजमा कहाँ घुम्न कति खर्च लाग्छ त ?

दुबई, यूएई

लाग्ने खर्च : प्रतिव्यक्ति ९५ हजार

अवधि : सात दिन

दुबईका लागि लक्जरी होलिडेज नेपालले सात दिनको टुर प्याकेज ल्याएको छ । त्यसअन्तर्गत ६ रात सात दिन दुबईमा घुमफिर गर्न सकिन्छ । लक्जरी होलिडेजको यस प्याकेजमा चारतारे होटलमा बसोबासको व्यवस्था मिलाइएको छ । बुर्ज खलिफा, मिराकल गार्डेन, आबुधाबी सहर घुमाउनका साथी डेजर्ट सफारीको अनुभव लिन सकिन्छ ।

थाइल्याण्ड

लाग्ने खर्च : ९५ हजार

अवधि : पाँच दिन

काठमाडौंबाट तीन घण्टाको हवाई यात्रामा थाइल्याण्ड पुग्न सकिन्छ । एस ट्राभल्सले थाइल्याण्ड घुम्न चाहनेहरुका लागि चार रात पाँच दिनको टुर प्याकेज ल्याएको छ । यस अन्तर्गत बैंकक र पटाया घुमाइनेछ ।

यो प्याकेजमा आगन्तुकलाई तीनतारे होटलमा बसोबासको व्यवस्था मिलाइनेछ । बिहानको नास्ता, एक दिनको लन्च र डिनरको व्यवस्था छ ।

मलेसिया, सिंगापुर र थाइल्याण्ड

लाग्ने खर्च : १ लाख ५५ हजार

अवधि : १० दिन

एकै टुर प्याकेजमा तीनवटा मुलुक घुम्ने सुविधा कान्तिपुर होलिडेजले ल्याएको छ । यो नौ रात १० दिन अवधिको यात्रा हो । यसअन्तर्गत पाँच दिन थाइल्यान्ड, दुई दिन सिंगापुर र दुई दिन मलेसिया घुमाइन्छ । तीन तारे होटलमा बसोबासको व्यवस्था गरिएको छ ।

बाली, इण्डोनेसिया

लाग्ने खर्च : १ लाख ६२ हजार

अवधि : ७ दिन

बाली विश्वकै चर्चित पर्यटकीय गन्तव्य हो । आईएमई ट्राभल्सको ६ रात सात दिनको टुर प्याकेजमा बाली र सिंगापुर घुमाइन्छ । यसमा तीनतारे होटलमा बसोबासको सुविधा मिलाइएको छ । यस प्याकेजमा बिहानको नास्ता र रातिको खाना पनि समावेश छ ।

माल्दिभ्स र श्रीलंका

लाग्ने खर्च : १ लाख ५० हजारदेखि ५ लाखसम्म

अवधि : ७ दिन

आईएमई ट्राभल्सले दशैंलाई लक्षित गरेर माल्दिभ्स र श्रीलंकाको टुर प्याकेज ल्याएको छ । यसअन्तर्गत तीन रात मालदिभ्स र चार रात श्रीलंकामा घुमफिर गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?