+

जंकफुड धेरै खाने बालबालिकालाई कुपोषणको जोखिम (भिडियो)

२०८० असोज  १५ गते १३:४७ २०८० असोज १५ गते १३:४७
जंकफुड धेरै खाने बालबालिकालाई कुपोषणको जोखिम (भिडियो)

अहिलेका बालबालिका घरमै बनाएको खानाभन्दा जंकफुड बढी खोज्छन् । तर यसले शरीरमा आवश्यक पोषक तत्व भने परिपूर्ति गर्न सक्दैन ।

बजारमा पाइने जंकफुड बढी प्रशोधित गरेर तयार पारिएको हुन्छ । यसमा शरीरलाई चाहिने पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, प्रोटिन, आइरनजस्ता तत्वभन्दा पनि क्यालोरी, नुन, चिनी, तेल अर्थात ट्रान्स फ्याट, स्याच्युरेटेट फ्याट अत्यधिक मात्रामा प्रयोग गरिएको हुन्छ । त्यसैले यस्ता खानेकुरा धेरै खाए पनि पनि शरीरमा पोषण पुग्दैन ।

बालबालिकाले जंकफुड किन मन पराउँछन् ?

जंकफुडमा मैदा, तेल, चिनी र नुनको मिश्रण हुन्छ । जिब्रोलाई लोभ्याउने गरी स्वादिष्ट तरिकाले खानेकुरा तयार पारिएको हुन्छ । त्यसैले बालिबालिका घरको पोषणयुक्त खानेकुरा भन्दा पनि जंकफुड खान एकदम रुचाउँछन् ।

जंकफुडमा पोषणको कमी हुने भएकाले यसको अत्यधिक सेवनले धेरै समस्या नित्याउँछ । पहिला ४० देखि ५० वर्षको उमेरमा देखिने समस्या जस्तै उच्च रक्तचाप, मधुमेह, कोलोस्टेरोल, मुटुरोग, पाचन प्रक्रियाको समस्या र मोटोपनको समस्या जंकफुडकै कारण कलिलै उमेरमा देखिन थालेका छन् ।

विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार पाँच वर्षमुनिका दुई करोड २० लाख बालबालिका कुपोषणबाट ग्रस्त छन् । जुन खाना नपाएर वा खानाको अभावको कारण भएको देखिन्छ । तर खाना बढी खाएर ५३ प्रतिशत महिला र ४५ प्रतिशत पुरुष र आठ प्रतिशत बालबालिकामा मोटोपनको समस्या देखाएको छ । यसलाई डब्लुएचओले डबल बर्डन अफ मलन्युट्रिसियन भनेर भनेको छ । त्यो भनेको कुपोषणको प्रभाव पनि दुईतर्फी हुन्छ भन्ने हो । एउटा खाना नपुगेर र अर्को खाना बढी भएर कुपोषण हुन्छ ।

अहिले बालबालिका खासै हिंड्डुल नगर्ने, सुतेर मोबाइल हेर्ने, गेम खेल्ने गर्छन्, जसले गर्दा खाने धेरै तर चाहिने पोषण तत्व भने पाइएको हुँदैन । उहिले खानपानको बालबालिकामा घरबाहिर खेल्ने, कुद्ने हुन्छ यसले बच्चाको सेवन धेरै गर्ने तर त्यसअनुसार व्यायाम हुने गर्दैन वा हुँदैन । आजभोलिका बालबालिका उहिले घरबाहिर खेल्ने, कुद्ने गर्थ्यो भने अहिलेको बालबालिका मोबाइल हेर्ने, भिडियो गेम खेल्ने गर्छन् । उनीहरुको खासै हिंड्डुल वा शारीरिक व्यायाम एकदमै देखिंदैन ।

पहिले-पहिले कुपोषणग्रस्त भन्नासाथ हाड र छालाको मान्छे देखिन्थ्यो नि ? मोटोघाटो पनि कुपोषित हुन्छ ?

सामान्यतया पहिला कुपोषण भनेपछि दिमागमा हाड र छालाको मान्छेको भन्ने बुझिन्छ । अहिले यो सोचलाई परिवर्तन गर्नुपर्ने भएको छ । किनकि आजभोलि मोटो हुनेलाई पनि कुपोषण हुन्छ । मोटोघाटो मानिस पनि दुई किसिमको हुने गर्छ  । यदि पोषणयुक्त खानेकुरा खाएर मोटाएको छ भने स्वस्थ मानिन्छ । अत्यधिक जंकफुडको सेवनले मोटाएको खण्डमा अस्वस्थ र कुपोषण भएको हुन सक्छ । किनकि पोषणयुक्त खानेकुरा खाने मानिसको शरीरमा भन्दा जंकफुड अत्यधिक सेवन गर्ने मानिसको शरीरमा बोसो अर्थात् फ्याट बढी हुन्छ । मोटो भए पनि शारिरीक रुपमा अस्वस्थ हुन्छ । जुन पोषणको कमीले अर्थात् कुपोषणको कारण हुन्छ ।

कसरी थाहा पाउने ?

मोटो बालबालिकामा कुपोषण भएको वा नभएको यी दुई-तीनवटा लक्षणबाट थाहा पाउन सकिन्छ । जस्तै मोटोघाटो छ तर शरीरमा जोश जाँगर वा स्फूर्ति पटक्कै छैन, आलस्य र अल्छी गर्ने, खेल्न नखोज्ने, एकै ठाउँमा बसिराख्ने, हिंड्डुल, रमाइलो गर्न नरुचाउने, ध्यानकेन्द्रित गर्न नसक्ने, पढाइ र काम गर्न मन नलाग्ने, पाचन पक्रिया समस्या हुने, कपाल झर्ने, छाला सुख्खा हुनेलगायत देखिन्छ । त्यस्तै केटीहरुमा महिनावारी गडबडी हुने, पेट दुख्ने वा महिनावारी नै नहुने जस्ता समस्या हुने गर्छ ।

थोरै खाँदा पनि जंकफुडले हानि गर्छ ?

जंकफुड कति मात्रामा खाने र कति खाने भन्नेमा पहिला जंकफुड खानलाई आफूलाई लायक बनाउनुपर्छ भन्ने हो । किनभने यदि स्वास्थ्य राम्रो छ, नियमित शारिरीक व्यायाम, पर्याप्त पानी, राम्रो निद्रा लाग्छ र कुनै पनि रोगको समस्या छैन भने कहिलेकाहीं हप्तामा एकपटक वा महिनामा दुईपटकसम्म खान सकिन्छ ।

तर यदि व्यायाम नगर्ने, उच्च रक्तचाप, मुधमेह, मुटुरोग र मोटोपनको समस्या भने जंकफुडकै कारण समस्या बढेर अन्य रोगको समेत जोखिम हुन्छ ।

कुनै पनि जंकफुडको हरेक प्याकेटको पछाडि एउटा न्युट्रिसियन प्रोफाइल भन्ने हुन्छ । जसमा ५-२० को नीति हुन्छ । यसको अर्थ पाँच प्रतिशत भन्दा कम छ भने त्यसमा त्यसको मात्र कम छ । यदि २० प्रतिशतमाथि छ भने त्यसको मात्र अधिक छ भनेर बुझ्नुपर्छ । सामान्यतया जंकफुडमा न्युट्रिसियन प्रोफाइलमा धेरैजसो भिटामिन, मिनरल्स, पोटासियम, आइरनलगायतको शरीरलाई चाहिने पोषण तत्वको मात्रा पाँच प्रतिशतभन्दा कम हुन्छ ।

त्यस्तै जंकफुडमा फ्याट, चिनी र सोडियमको मात्रा अधिक हुन्छ । जस्तै, फ्याट ३९.८ प्रतिशत, सोडियम ४१.७ प्रतिशत । जसले शरीरलाई हानि गर्छ । त्यसैले जंकफुड धेरै खाएर पेट त भरिन्छ तर शरीरलाई चाहिने पोषण तत्व भने पूर्ति हुँदैन ।

(पोषणविद् सिंह काठमाडौंस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

जंकफुड बालबालिका
लेखक
प्रणिती सिंह, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय